कर्मचारीका लागि छुट्याइएको सेयरको अधिकांश हिस्सा सिइओ अर्याल आफैँले किने
सन नेपाल लाइफ इन्स्योरेन्समा आइपिओ प्रकरण
सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार आर्यालले मातहतका कर्मचारीका लागि निष्कासन गरिएको आइपिओ (इनिसियल पब्लिक अफरिङ)मा अनियमितता गरेको खुलेको छ ।
इन्स्योरेन्सले २५ जेठ ०८० मा मातहतका कर्मचारीका लागि भन्दै चार लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर, कम्पनीका सिइओ अर्यालले कर्मचारीका लागि खुलाइएको सेयरको अधिकांश हिस्सा आफैँले खरिद गरेको पाइएको हो । आइपिओ भर्न किर्ते हस्ताक्षरको प्रयोग भएको पाइएपछि नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले घटनाको अनुसन्धान सुरु गरेको हो ।
सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले कर्मचारीका लागि छुट्याएको सेयर उच्च तहका कर्मचारीले दुरुपयोग गरेको जाहेरी सिआइबीमा गत साता दर्ता भएको र घटना सम्बन्धमा अध्ययन भइरहेको बताए । उनले भने, ‘सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओले कर्मचारीका लागि निष्कासन गरिएको सेयरमा तलमाथि गरेको भन्दै हामीकहाँ जाहेरी दर्ता भएको छ । घटना सम्बन्धमा अध्ययन गरिरहेका छौँ । अनुसन्धान प्रक्रिया अघि बढाउने–नबढाउने विषय केही दिनमै टुंगो लाग्नेछ ।’
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, ०७४ अनुसार संगठित संस्थाले सर्वसाधारणका लागि विनियोजन गरेमध्ये ५ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याउनुपर्ने व्यवस्था छ । निर्देशिकाको दफा ५ मा भनिएको छ, ‘प्रचलित कानुनले विशेष व्यवस्था गरेकोमा बाहेक संगठित संस्थाले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये बढीमा ५ प्रतिशतसम्म संस्थामा कार्यरत करार र ज्यालादारी कर्मचारीबाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछ ।’
कानुनको सोही प्रावधानअनुसार इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि विनियोजन गरिएमध्ये ५ प्रतिशत सेयर आफ्ना कर्मचारीका लागि छुट्यायो । इन्स्योरेन्सले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर छुट्याएको थियो । त्यसको ५ प्रतिशतले हुन आउने चार लाख ८० हजार कित्ता सेयर कर्मचारीलाई वितरण गरिनुपर्ने थियो । तर, सिइओ अर्यालले उक्त सेयरको अधिकांश हिस्सा आफैँले कर्मचारीको किर्ते हस्ताक्षर गरेर खरिद गरे । किर्ते हस्ताक्षर प्रयोग गरेर आफूले पाउनुपर्ने हक सिइओ अर्यालले खोसेको थाहा पाएपछि इन्स्योरेन्स कम्पनीका असन्तुष्ट कर्मचारीहरू जाहेरी लिएर नेपाल धितोपत्र बोर्ड (सेबन) पुगे । बोर्डले घटनाको अनुसन्धान गर्यो । अनुसन्धानमा सिइओ अर्यालले गरेका अनियमितताहरू एकपछि अर्को खुल्दै गयो । सेयर आफ्नो नाममा खरिद गर्न जाली हस्ताक्षर गरिएको भेटिएपछि घटनाको थप अनुसन्धान सिआइबीमार्फत गरिनुपर्ने निष्कर्षमा बोर्ड पुग्यो । बोर्डले थप अनुसन्धान गर्न भन्दै प्रतिवेदन सिआइबीमा पेस गर्यो ।
बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले कर्मचारीका लागि निष्कासन गरिएको सेयरमा कैफियत देखिएको बताए । उनले भने, ‘कानुनअनुसार ५ प्रतिशत सेयर कर्मचारीलाई वितरण गरिनुपर्छ । कानुनको सोही व्यवस्थाअनुसार इन्स्योरेन्सले ५ प्रतिशत सेयर कर्मचारीलाई दिने भनेर निर्णय गर्यो । तर, उक्त सेयरको अधिकांश हिस्सा कर्मचारीलाई वितरण नगरी उच्च तहका कर्मचारी आफैँले राखे । यसका लागि किर्ते हस्ताक्षर भएको समेत भेटियो । त्यसो हुँदा घटनामा थप अनुसन्धान गर्न फाइल सिआइबीमा पेस भएको छ ।’
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०७४ को दफा ४ अनुसार संगठित संस्थाले सर्वसाधारणका लागि निष्कासन गर्नेमध्ये १० प्रतिशत सेयर वैदेशिक रोजगारमा गएकाहरूका लागि निष्कासन गर्नुपर्छ । इन्स्योरेन्सले उनीहरूका लागि १० प्रतिशत (नौ लाख ६० हजार कित्ता) सेयर निष्कासन गर्ने निर्णय गर्यो । अंकित मूल्य एक सय र प्रिमियम एक सय ३९ रुपैयाँ निर्धारण भयो । यसरी वैदेशिक रोजगारमा गएकाहरूले सन नेपाल इन्स्योरेन्सको सेयर प्रतिकित्ता दुई सय ३९ रुपैयाँमा खरिद गर्नुपर्ने भयो । तर, इन्स्योरेन्समातहतका कर्मचारीका लागि भने अंकित मूल्य सय रुपैयाँ मात्रै निर्धारण गरियो । प्रिमियम तिर्नुनपर्ने भएपछि कर्मचारीले सर्वसाधारणभन्दा प्रतिकित्ता सेयरमा नै एक सय ३९ रुपैयाँ सस्तोमा पाउने भए । तर, सम्पूर्ण कर्मचारीको फाइदा सिइओ अर्याल एक्लैले उठाए ।
बोर्डका स्रोत भन्छ, ‘वैदेशिक रोजगारमा गएकाहरूले प्रतिकित्ता सेयर दुई सय ३९ रुपैयाँमा खरिद गर्नुपर्ने भयो । तर, कर्मचारीले एक सय रुपैयाँमा नै सेयर खरिद गर्न सक्ने नियम बनाइयो । उच्च तहका कर्मचारी आफैँले खरिद गर्ने योजना भएपछि यस्तो नियम लागू भयो । यो खेलमा इन्स्योरेन्सका सिइओदेखि सञ्चालक समितिमा रहेकासमेत संलग्न रहेको देखिन्छ ।’
कम्पनीले ९६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । त्यसको ५ प्रतिशत ४ लाख ८० हजार कित्ता सेयर अंकित मूल्य प्रतिकित्ता एक सय रुपैयाँमा बिक्री गरिएको थियो । बाँकी मध्ये १० प्रतिशत ९ लाख ६० हजार वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोषलाई ४ लाख ८० हजार र सर्वसाधारण लगानीकर्तालाई ७६ लाख ८० हजार कित्ता सेयर प्रिमियमसहित प्रतिकित्ता दुई सय ३९ रुपैयाँका दरले वितरण गरिएको थियो । nayapatrikabata
