काठमाडौं, २४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पत्रकार महासंघको आगामी चुनाव हुने सम्भावना न्यून भएपछि पोखरेलले राजीनामा दिनुभएको हो ।
आइतबार सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्नुपर्ने अडान पोखरेलले राख्नुभएको थियो । तर, अन्य सदस्यहरूले विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए ।
मतदाता नामावली सार्वजनिक गर्न नसकिएको कारण असोज ५ गतेका लागि निर्धारित गरिएको चुनाव हुने सम्भावना न्यून देखिन्छ । सोही कारणले गर्दा अध्यक्ष पोखरेलले राजीनामा दिएको बुझिएको छ ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको कार्यकाल गत चैत महिनामै समाप्त भइसकेको थियो । महासंघ केन्द्रले नयाँ निर्वाचनको मिति असोज ५ गते तोकेको थियो । योसहित हालसम्म तीन पटक निर्वाचनको मिति तय गरिएको छ, तर चुनाव हुन सकेको छैन ।
Discussion about this post