गाउँमा आयोजना गरिएको पूजामा प्रसाद खाएका झापाको अर्जुनधारा ९ खरबन्दीका ७० जना भन्दाबढी स्थानीय बिरामी परेका छन् ।
प्रसाद खाए लगत्तै गाउँलेहरुमा झाडा पखाला र ज्वरो आउने समस्या देखिएको छ । एकपछि अर्को गाउँले बिरामी पर्न थालेपछि उनीहरू सबैलाई एकैपटक अस्पताल भर्ना गरिएको छ ।
प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण देखिएको शनिश्चरे अस्पताल अर्जुनधाराका डाक्टर योगेश चेम्जोङले बताए ।
स्थानीय रीता निरौलाको घरमा बुधबार आयोजित पूजामा प्रसाद खाए लगत्तै गाउँलेको स्वास्थ्यमा समस्या देखिएको थियो । एकैपटक सबै गाउँले बिरामी परेपछि झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पताल भरिएको छ ।
बिरामीको अवस्था बुझ्न अस्पताल पुगेका अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले फुड पोइजनको समस्याबाट सिङ्गो गाउँ प्रभावित भएको बताए ।
पूजामा सहभागी भएका गाउँलेहरूले प्रसाद स्वरुप रोटी, अचार, तरकारी खाएका थिए । खाद्यान्नमा कुनै विषाक्त चीज मिसिएको हुनसक्ने स्थानीयको अनुमान छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र प्रहरी प्रमुख मिलन केसी लगायत चिकित्सकको टोलीले बिरामीको अवस्थाबारे स्थलगत जानकारी लिएको छ ।
बिरामीमध्ये चारजनालाई झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल रेफर गरिएको छ ।