मालपोत कार्यालय झापाले नियत राखेर किर्ते गरेको पाइएको छ।
भूमि सुधार तथा मालपोत कार्यालय झापाले बिर्तामोडको निकै महँगो जमिनलाई जाल साँझ गरी अन्तै पास गरिदिएको बुझिएको हो।
मालपोतले एउटा परिवारको जमिन अर्को व्यक्तिको नाममा नामसारी गरिदिएको छ ।

अदालतको अंश मुद्दाको फैसलाविपरीत मालपोतले नामसारी गरेको हो । झापा जिल्ला अदालतले जग्गा जमिनको अंश छुट्याई मालपोत कार्यालयलाई समेत दाखिल खारेज दर्ता गरिदिने भनी गरेको लिखित निर्देशनविपरीत मालपोतका कर्मचारीले सो जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिदिएका हुन् ।

घटना विवरणअनुसार साविक महेशपुर–१ हाल भद्रपुर–४ बस्ने श्यामबहादुर केसीले दुईवटा विवाह गरेका थिए । केसीका जेठी श्रीमती राधादेवी केसीका दुई छोराहरू मनोज र सरोज, छोरीहरू सरिता र पवित्रा रहेका छन् । कान्छी श्रीमती रेणुका केसीतर्फ एक मात्र छोरा सुरज रहेका छन् ।

श्रीमानसँग छुट्टिएर कान्छी श्रीमती रेणुका छोरासहित आफ्नै माइती घर गौरादहमा बस्दै आइरहेकी थिइन् । श्रीमान् श्यामबहादुरको मृत्युपछि रेणुकाले २०६७ सालमा जेठीपट्टिका सन्तानहरूलाई प्रतिवादी बनाएर अदालतमा अंश दाबीको मुद्दा दायर गरेकी थिइन् ।

२०७१ साल बैशाख २९ गते तत्कालीन जिल्ला न्यायाधीश रमेशकुमार खत्रीले उल्लेखित केसी परिवारको सम्पत्ति ६ भाग लगाई विवाह नभएका अंशियारको विवाह खर्च पर सारी यसबाट दुई भाग सम्पत्ति वादी रेणुकाले अंश पाउने फैसला सुनाएको थियो ।

अदालतले सोहीबमोजिम साविक गाविसहरू चारपाने, महेशपुर, चन्द्रगढी, हल्दिबारीका जमिनहरू २०७४ साल बैशाख २५ गते मालपोत कार्यालयलाई दाखिला खारेज गरिदिने सम्बन्धमा पत्राचार गरेको थियो ।

त्यसमध्ये साबिक चारपाने–३ रामचोकस्थित राजमार्गदेखि उत्तरतर्फको कित्ता नम्बर ६८१ को ३ कट्ठा १३ धुर जमिन बेचिएको मनोजकुमार केसीले बताए ।

सो जमिन कान्छी आमा रेणुका र भाइ सुरजको नाममा दर्ता भए पनि त्यसमा ६ भाग लाग्ने अदालतको फैसलामा उल्लेख भएको उनले बताए ।

नापी कार्यालयले २०७४ साल जेठ ३ गते सबै जमिनको कित्ताकाट गरी मालपोतमा पत्र पठाइसकेको थियो । नापीको कित्ता काटमा ६८१ लाई फोड गरी ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर (रेणुका र सुरज) र ६०१४ कित्तामा दुई कट्ठा पौने ८ धुर (सुरज केसी समेत) भनी उल्लेख छ ।

मालपोतले २०७९ फागुन २१ गते दाखिला खारेज सम्बन्धी टिप्पणी तथा आदेशमा कित्ता नम्बर ६०१३ र ६०१४ विवरण जग्गाधनी दर्ता स्रेस्ता उठाइसकेको थियो ।

जग्गाधनी दर्ता स्रेस्तासमेत कित्ता नम्बर ६०१४ को दुई कट्ठा पौने ८ धुर जमिन जेठीपट्टिका सन्तानको हुँदाहुँदै मालपोतले सो जमिन अनारमनी–३ की प्रियङ्का गोयलको नाममा २०८० मंसिर २४ गते नामसारी गरिदिएको प्रमाण भेटिएको छ ।

सो जमिन प्रियङ्कालाई रेणुका र उनका छोरा सुरजले पास गरिदिएका थिए । उनीहरूले प्रियङ्कालाई आफ्नो नाममा रहेका ६०१३ कित्तामा एक कट्ठा सवा ४ धुर जमिन पनि सोही बेला पास गरेका थिए ।

जमिनको राजीनामा पासमा तत्कालीन मालपोत अधिकृत दिपेन्द्र खत्रीको हस्ताक्षर रहेको छ । २ करोड २ लाख थैली राखिएको उक्त जग्गा राजीनामा पास गर्दा ६ लाख ६ हजार रुपैयाँ राजश्व बुझाएको देखिन्छ ।

मालपोतका कर्मचारीले जमिन फिर्ता हुने आश्वासन दिएको मनोजको भनाइ छ । भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख शेरबहादुर भण्डारीले जमिन नामसारी भएको घटनाको बारेमा अधिकृत मोहन दर्जीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको बताए ।jhapatodaybata

Leave a Reply

Your email address will not be published. Required fields are marked *