पूर्वी नाकामा भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर भित्र्याउन खोज्ने एक भारतीयसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
आज साँझ ६ बजे मेचीनगर ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी १ धरमपुर घर भएका २३ वर्षीय विशाल खड्का र भारत दार्जिलिङको किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझी रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको गस्ती टोलीले डब्ल्यू बी ७४बी के२४३८ भारतीय नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्नेक्रममा खड्का र माझीको साथबाट सो लागूऔषध बरामद भएको थियो ।
दुवै जनालाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय बाहुनडाँगी बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।