ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल

न्युयोर्कमा प्रधानमन्त्री ओली–मोदी भेट : ऊर्जा, प्रविधि र व्यापारबारे छलफल
मोदीलाई नेपाल भ्रमणको निम्तो
संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ सत्रमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्वाड सम्मेलनमा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ । नेपाली समयअनुसार सोमबार बिहान सवा ३ बजे (अमेरिकी समयअनुसार आइतबार अपराह्न ५:३० बजे) भएको भेटमा सम्बन्धको सबै पक्षमा छलफल भएको दुवै प्रधानमन्त्रीले जनाएका छन् । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षीसँग उनको यो पहिलो भेटवार्ता हो ।

भेटबारे प्रधानमन्त्री ओली र मोदी दुवैले ट्विट गरेका छन् । ओलीले प्रधानमन्त्री ‘श्री मोदीजी’ भनेका छन् भने मोदीले प्रधानमन्त्री ‘ओली’ उल्लेख गरेका छन् । ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग फलदायी भेटवार्ता रह्यो । भेटवार्तामा द्विपक्षीय सम्बन्धका अनेकौँ विषयमा छलफल भए,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबिचको समबन्धलाई गति दिन चाहेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युयोर्कमा भएको भेटघाट निकै राम्रो रह्यो । भारत–नेपाल मित्रता अत्यन्तै बलियो छ र हामी हाम्रो सम्बन्धलाई गति दिन चाहन्छौँ । हाम्रो छलफल ऊर्जा, प्रविधि र व्यापारजस्ता विषयहरूमा केन्द्रित रह्यो,’ मोदीले ट्विटमा भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी बसेको होटेल लोटे न्युयोर्क प्यालेसमा भेट आधा घण्टाका लागि तय भए पनि करिब ४५ मिनेटसम्म चलेको थियो । ‘दुवै प्रधानमन्त्री सहज रूपमा प्रस्तुत हुनुहुन्थ्यो र हार्दिकतापूर्वक कुराकानी भयो,’ भेटमा सहभागी एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भेटमा धेरै विषय प्रवेशभन्दा पनि औपचारिकतामा बढी केन्द्रित रह्यो ।’

विशेष गरी ऊर्जा, प्रविधि र व्यापारका विषयमा दुई प्रधानमन्त्रीबिच छलफल भएको सम्बद्ध अधिकारीले जनाएका छन् । भेटपछि न्युयोर्कस्थित नेपाली नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई प्रधानमन्त्रीले दुई देशबिच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुई प्रधानमन्त्रीले नेपाल र भारतबिचको विशिष्ट र गहिरो द्विपक्षीय सम्बन्धको समीक्षा गरेको उल्लेख छ । ‘विकास साझेदारी, जलविद्युत्मा सहकार्य, जनताबिचको सम्बन्ध तथा भौतिक, डिजिटल र ऊर्जा कनेक्टिभिटी विस्तारलगायत विविध क्षेत्रमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभयो ।’

भारतीय प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) मा नेपाल १०१औँ सदस्य राष्ट्र भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए । मोदीले जलवायु परिवर्तनले निम्त्याएको चुनौती सामना गर्न क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दोहोर्‍याएका छन् । मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने कूटनीतिक जवाफ दिएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा सहभागी थिए । मोदीसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकर, विदेशसचिव विक्रम मिश्रीलगायत सहभागी थिए । nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array