साहित्य चौतारीद्वारा मेलोडी किङ कर्म योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित

0
SHARES
19
VIEWS

बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको हो ।
सयौँ कर्णप्रिय गीतका संगीतकार योञ्जन सिपालु संगीत शिल्पी हुन् । उनलाई होटल हिकोला हेरिटेजमा आयोजित विशेष समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने लगायतले सम्मान गरेका छन् ।
लामो समयदेखि साहित्य, संगीत र कलाको क्षेत्रमा अनरवत सक्रिय प्रतिभा जीवन अधिकारी र विष्णु अधिकारीलाई दीर्घ साधना सेवा सम्मान प्रदान गरिएको साहित्य चौतारीका संरक्षक श्रेष्ठले बताए ।
‘नेपालको सांगीतिक आकाशमा उहाँहरुले गर्नु भएको योगदान हाम्रा लागि सधैँ उर्जा बनिरहने छ’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने, ‘हामीले जसरी सम्मान गरेका छौँ, यसले साहित्य चौतारी आफैँमा सम्मानित भएको महसुस भएको छ ।’
मेलोडी किङका रुपमा चिनिएका कर्म योञ्जन धर्मपत्नीसहित साहित्य चौतारीको आतिथ्य स्वीकार गर्दै सम्मान ग्रहणका लागि झापा आएका हुन् । उनले नेपाली भाषा, साहित्य र कलाको विकासमा साहित्य चौतारीले चालेको कदमलाई सकारात्मक अभियानका रुपमा विश्लेषण गरेका छन् ।
‘विद्यालय तहदेखि नयाँ प्रतिभा जन्माउने, उनीहरुलाई मासिक नियमित कार्यक्रम गरेर आफ्नो प्रतिभा देखाउन ठाउँ दिने काममा साहित्य चौतारीको अग्रसरता पाएँ, खुशी लागेको छ’, योञ्जनले भने ।
कार्यक्रममा उनलाई अभिनन्दनपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको साहित्य चौतारीका अध्यक्ष हस्त परियारले बताए । कार्यक्रममा गायक विष्णु अधिकारीले नारायण गोपालले गाएका १५ भन्दाबढी गीत प्रस्तुत गरेका छन् ।
कुनै विश्राम नलिई लगातार २० वटा गीत गाएर अधिकारीले नारायण गोपाल स्मृति साँझलाई भव्य र विशिष्ट बनाएका छन् । अदभूत गायन कलाका धनी अधिकारीले साहित्य चौतारीको महाअभियानमा जोडिएर आफ्नो प्रस्तुति राख्न पाउँदा ज्यादै हर्ष लागेको बताए ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले नारायण गोपाललाई सम्झिने र उनको गायन प्रतिभालाई अनुकरण गरेर लैजाने विष्णु अधिकारी जस्ता प्रतिभाशाली व्यक्तित्वको सधैँ खाँचो रहेको औँल्याए ।
कार्यक्रममा कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल, सम्मानित व्यक्तित्व जीवन अधिकारी लगायतले बोलेका थिए । साहित्य चौतारी झापाकी सचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा संगीत उपाध्यक्ष दीपक रायमाझीले नारायण गोपालको व्यक्तित्व र सांगीतिक यात्राबारे प्रकाश पारेका थिए ।
नारायण गोपाल साँझ अघि आयोजित मासिक सांगीतिक काव्यसभामा संगीत साधक कर्म योञ्जन प्रमुख अतिथि थिए । कार्यक्रममा साहित्य चौतारीका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङले कार्यक्रमस्थलमा चित्र बनाएर उपहारस्वरुप साहित्य चौतारीलाई हस्तान्तरण गरेका थिए ।
मासिक साङ्गीतिक काव्य सभामा नृत्यतर्फ सुरज बराइली प्रथम भएका छन् । साहित्यतर्फ प्रीति बस्नेत प्रथम भएकी छन् । गायनतर्फ अनुकुल निरौला उत्कृष्ट भएको मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले बताइन् ।

………………………………………………………………………………………………………………………………………………………………………….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार