बसाइँसराइसँगै गयो दसैँको रौनक
दुई दशकअघि दसैँताका गाउँलेहरू जम्मा भएर लुंगेलीडाँडामा पिङ हाल्ने, नाचगान गर्ने र खेलकुद आयोजना गर्ने गर्थे। पढाइ र जागिरका लागि सहर तथा विदेश गएकाहरू गाउँ फर्किएपछि घरआँगनमा चाडपर्वको रौनक भित्रिन्थ्यो। तर, अचेल यहाँ न कोही गाउँ फर्किन्छन्, न पिङ नै हालिन्छ।

ताप्लेजुङको माैवाखोला गाउँपालिकाको लुंगेलीडाँडाबाट आसपासका बस्ती नियाल्दा सबैजसो घर रित्ता र जीर्ण देखिन्छन्। कतिपय बस्ती मानवविहीन अवस्थामा छन्। बसाइँसराइले रित्तिँदै गएका गाउँमा छिटपुट बचेका घरआँगनमा पनि नजिकिएका चाडपर्वको रौनक छैन। बसोबास रहेका घरहरूमा छरछिमेकको रिक्तताले चाडपर्वलाई निरस बनाएको छ।
माैवाखोला गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका गाउँबस्ती मानव शून्य अवस्थामा छन्। ती गाउँमा बसाइँ सरेर खाली रहेका धेरै घरमध्ये छिटपुट रूपमा बसोबास गर्दै आएका स्थानीयले चाडपर्वको उल्लास नहुने बताए। माैवाखोला–१ र २ ढुंगेसाँघु क्षेत्रमा दुई दशकअघि बाक्लो बस्ती रहे पनि अहिले करिब रित्ता देखिन्छन्।

तेल्लाबुङ, चित्रेगाउँ, माजगाउँ, लेगुवाजस्ता धेरै गाउँ बसाइँसराइले पातलिएका छन्। तेल्लाबुङ क्षेत्रमा रहेका ५० मध्ये २५ घरमा मात्र मानिस बस्दै आएका छन्। चित्रेगाउँका करिब ४० घरमध्ये १० घर मात्र बाँकी रहेकाे स्थानीयवासीले बताए। चित्रेका ९४ वर्षका देवीप्रसाद अधिकारी वरीपरिका छिमेकीहरू सबै बसाइँसराइ गरीसकेकाले विरक्तिएका छन्। सबैभन्दा नजिकैका छिमेकी लेखनाथ गौतम पाँच दिनअघि मात्र बसाइँ सरेपछि अझै विरक्त लागेको अधिकारीले बताए। ‘अझै पनि जोस छ, जाँगर छ। तर, बल छैन के गर्ने ? ज्यान बुढो भयो पहिलाका ती दिनहरू सम्झना आउँछन्। सम्झनुबाहेक केही छैन,’ वृद्ध अधिकारीले भने।

उता, सिरिजंघा गाउँपालिका- २ आम्बेगुनीको पनि उस्तै आवस्था छ। सो क्षेत्रमा १५० घर थिए, तर अहिले ५० घर जति मात्र बाँकी छन्। स्थानीय आम्बेगुदिन माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका तेजबहादुर भट्टराईले बसाइँसराइको लहडले गाउँ सुनसान बनेको बताए। भट्टराईले बसाइँसराइले गर्दा पहिलाको तुलनामा विद्यालयमा विद्यार्थीको संख्या पनि न्यून भएको सुनाए। उनले भने, ‘पहिले दसैँको वेला रौनकता छाउँथ्यो, तर अहिले दसैँ आयो कि आएन जस्तो लाग्छ।’

पाथीभरा याङवरक गाउँपालिका– १, नांखेल्याङका गाउँ पनि उस्तै छन्। अधिकांश घर रित्तै छन्। यी गाउँहरूमा एक दशकअघिसम्म टोलैपिच्छे लिंगे पिङ, रोटे पिङ हाल्दाको रौनक अचेल शून्य भएको स्थानीय शिक्षक लेखमान गुरुङले सुनाए। गाउँमा छरछिमेक नभएपछि दसैंको रौनक नै नआएको उनले सुनाए। उनले भने, ‘विगतमा वल्लोपल्लो टोलछिमेक भेला हुने, पिङ हाल्ने, मिठा खानेकुरा र रमाइला खेल खेलेर दसैँको रमझम भित्रिन्थ्यो, तर अब विगत सम्झनामा मात्र सीमित छ।’ बसाइँ सरेका फर्केर गाउँमा आउने वातावरण भए फेरि दसैँ खुसी फिर्ता आउन सक्ने उनी बताउँछन्।

बसाइँसराइले बस्ती रित्तिएपछि बल्ल खानेपानी, बिजुली र सडकको पहुँच पुगेको छ। तर, गाउँ छोडेकाहरू फर्कने अवस्थामा छैनन्। बसाइँसराइले अछुतो रहेको बस्ती सायदै होला। बागथला क्षेत्र पनि खाली बन्दै गएको छ। आम्बेगुदिन, थुम्बेदिन, आगेदिम, सिम्लेलगाय जिल्लाका ६० प्रतिशत घर रित्ता छन्।

धेरैले पालिकामा बसाइँसराइबारे जानकारी गराउँदैनन्। मैवाखोला गाउँपालिकाबाट बसाइँ जाने करिब २५० परिवारले मात्र पालिकामा जानकारी गराएका छन्। तर, पालिकालाई जानकारी नगराई जानेको संख्या झन्डै दोब्बरको नजिक पुगेको स्थानीय बताउँछन्।nayapatrikabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *