हलवालाले सधैं हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्दै आएका छन् । ‘दिमाग खराब’ देखि ‘बेहुली फ्रम मेघौली’ सम्म आइपुग्दा निश्चल बस्नेतहरू हलवालाको असमान व्यवहारविरुद्ध उभिइरहेका छन् । कहिले हट्ला यस्तो विभेदकारी कदम ?
नेपाली फिल्म क्षेत्रमा दुई विषय चर्किएको छ । पहिलो– एकसाथ प्रदर्शनमा आएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ बीचको प्रतिस्पर्धात्मक व्यापार ! दोस्रो– कम शो दिएको भन्दै निश्चल बस्नेतले फिल्म ‘बेहुली फ्रम मेघौली’ लाई हलबाट हटाएको प्रसंग !
‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ मा कुन फिल्मले कस्तो व्यापार गर्ला ? त्यस उपर टाउको दुखाउने काम ती फिल्मका सम्बन्धित निर्माताकै भइहाल्यो । तर, फिल्मकै व्यवसायको प्रसंग उठाइरहँदा यही व्यवसायका लागि करोडौं खर्चेर लाखौं रकममा चित्त बुझाइरहेका नेपाली निर्माताको मार बुझ्न केही उदाहरण हेरौं ।
उदाहरण १– बेहुली फ्रम मेघौली
तीन नेपाली फिल्म (छक्का पञ्जा–५, १२ गाउँ र ज्वाइँ साब) प्रदर्शनमा आइसकेपछि ‘बेहुली फ्रम मेघौली’ ले अपेक्षित शो पाउँदैन भन्ने पहिल्यैदेखि निर्माण टिमको अनुमान थियो । त्यसअघिसम्म ८० प्रतिशत अकुपेन्सी (दर्शक क्षमता) मा फिल्म चलिरहेको थियो । हलिउड फिल्म ‘जोकर’ ले पनि राम्रो व्यापार गर्न नसक्दा बक्स अफिसमा एक हिसाबले निश्चलकै फिल्मको कब्जा थियो । प्रदर्शनदेखि नै दर्शक संख्या दोब्बर हुँदै थियो । तीन नेपाली फिल्म आउनु, शो कम हुनु निश्चलका लागि समस्याको विषय थिएन । त्यसबीच २ नेपाली फिल्मले आक्रामक व्यापार गर्न थाल्यो । जितु नेपालको ‘ज्वाइँ साब’ ले ठीकठाक व्यापार गर्यो । तर, आलिया भट्ट अभिनीत हिन्दी फिल्म ‘जिगरा’ यी फिल्मको दाँजोमा खासै चलेन । यी फिल्म प्रदर्शनमा आएको तेस्रो दिनसम्म पनि ‘बेहुली फ्रम मेघौली’ को शो कटौती हुने क्रम रोकिएन । त्यसअघि ४१ लाख कमाइ गरिरहेको फिल्मको व्यापार घटेर ह्वात्तै १३ लाखमा झर्यो । शो संख्या घट्दै गयो । क्यूएफएक्सबाहेकका नेपालभरका हलमा जम्मा एकाध शो मात्रै थियो । त्यतिञ्जेल दिइएको हलमा फिल्मको शो हाउसफुल थियो । हाउसफुल दर्शक पाउँदा पनि फिल्मका लागि हलहरूले शो थपिदिएनन् । खासै दर्शक नपाइरहेको हिन्दी फिल्मलाई दिइएको शोमा भने थपघट भएन । दिइएको दुई शो हाउसफुल बन्दा पनि एक शो हटाइदिने प्रवृत्ति बढ्यो ।
दर्शकको साथ पाइरहँदा पनि हलहरूले यसरी शो कम गराइदिने क्रम नरोकिएपछि निरुत्साहित हुँदै निर्मातासमेत रहेका निश्चलले ‘बेहुली फ्रम मेघौली’ लाई वैकल्पिक प्लेटफर्मबाट प्रदर्शन गर्ने भन्दै हलबाट फिल्म निकाले ।
उदाहरण २ – दिमाग खराब
निश्चलकै अर्को फिल्म ‘दिमाग खराब’ ले पनि यसअघि हलवालाको यस किसिमको व्यवहारसँग लड्नुपरेको थियो । प्रदर्शनको पहिलो र दोस्रो दिन फिल्मले खासै व्यापार गरेन । बलिउड स्टार सलमान खानको ‘टाइगर थ्री’ चलेसँगै हलले नेपाली फिल्मको शो कटाइदियो । बिस्तारै फिल्मको दर्शक ‘अकुपेन्सी’ बढ्दै जाँदा हलबाट भने शोहरू एक–एक गर्दै घट्दै गए । त्यतिबेला पनि निश्चलले हलको त्यस किसिमको विभेदकारी व्यवहारविरुद्ध आफ्नो फिल्म हलबाट निकालेका थिए ।
उदाहरण ३ – प्रकाश
केही वर्षअघि प्रदीप खड्का अभिनीत ‘प्रकाश’ ले पनि हिन्दी फिल्मसँग शोका लागि प्रतिस्पर्धा गर्नुपरेको थियो । त्यतिबेला दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ सँगै दक्षिण भारतीय फिल्म ‘लाइगर’ एकसाथ प्रदर्शनमा आएको थियो । त्यतिबेला ‘दोख’, ‘चिसो मान्छे’ जस्ता फिल्म हलहरूमा लागिसकेको थियो । यस किसिमको फरक धार भनिएका फिल्महरू चल्दैनन् भन्ने पूर्वाग्रहसँग ‘प्रकाश’ ले संघर्ष गर्नुपर्यो । त्यतिबेला दक्षिण भारतीय फिल्मको दाँजोमा तीन गुणा कम शो ‘प्रकाश’ लाई दिइएको थियो । दर्शक
‘अकुपेन्सी’ बढ्दै जाँदा पनि ‘प्रकाश’ का लागि हलहरूले शो थप गरिदिएनन् । ‘लाइगर’ को दाँजोमा शो कम दिइसकेपछि हलको यस किसिमको प्रवृत्तिको विरोध गर्दै निर्माण टिमले रिपोर्ट्स क्लबमा पत्रकार सम्मेलन गर्यो । त्यसपछि बल्ल फिल्मले शो पायो । त्यसबीच ‘लाइगर’ ले बक्स अफिसमा खासै राम्रो प्रस्तुति देखाउन नसकेपछि मात्रै ‘प्रकाश’ ले शो पाउन थाल्यो ।
यी उदाहरणले देखाउँछ, हलवालाले सधैं हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्दै आएको छ । यसअघि झरना थापादेखि, प्रदीप खड्का हुँदै थुप्रै फिल्मकर्मीले यसबारे आवाज उठाउँदै आए । निर्माता संघ र हलहरूको छाता संगठन चलचित्र संघले यही विषयउपर केही बैठकहरू आयोजना गरे । तर, मुद्दा ज्युँको त्युँ रह्यो । ‘दिमाग खराब’ देखि ‘बेहुली फ्रम मेघौली’ सम्म आइपुग्दा निश्चल बस्नेतहरू हलवालाको यही असमान व्यवहारविरुद्ध उभिइरहेका छन् । बक्स अफिसमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको निश्चलजस्ता फिल्मकर्मीको अवस्था यस्तो छ, औसत फिल्महरूको हालत कस्तो होला ? ‘अहिले औसत फिल्महरू त बाँच्नै सकिरहेका छैनन् । उनीहरूका अगाडि पनि कुनै न कुनै विदेशी फिल्म आइहाल्छ, ती फिल्म काखा लागिहाल्छ । ती फिल्मका निर्माताहरू त निरुत्साहित हुने भइहाल्यो । यस किसिमको प्रवृत्ति रोकिनुपर्छ, यो समस्या मिलाउन खोजियो भने सकिन्छजस्तो लाग्छ,’ निश्चल भन्छन् ।
‘बेहुली फ्रम मेघौली’ को लगानी करिब साढे २ करोड हो । अहिलेसम्म यसले हलबाट चार करोड ‘ग्रस कलेक्सन’ गर्यो । ‘ग्रस कलेक्सन’बाट ५० प्रतिशत हललाई, १८ प्रतिशत कर अनि १० प्रतिशत वितरकलाई दिइसकेपछि बाँकी रकम मात्रै लगानीकर्ताको हातमा पर्ने हो । यस किसिमले अहिलेसम्मको कमाइले लगानीकर्ता नै असुरक्षित हुने देखिएपछि आफूहरूले हलबाट फिल्म निकालेको निश्चल गुनासो गर्छन् । ‘दर्शकले जुन हिसाबले फिल्म हेर्न खोजिरहेका छन्, त्यसको हिसाबले त शो थपिँदै जानुपर्ने हो । यसरी कम शोमै फिल्मलाई हलमा चलाउँदा लगानीकर्ताका हिसाबले हामी सुरक्षित हुन्नौं भन्ने भइसकेपछि हामीले फिल्म हटाएका हौं,’ निश्चलले भने, ‘दर्शक नै नभएको हिन्दी फिल्मलाई हाम्रोभन्दा धेरै शो दिइएको थियो । सधैं फिल्म प्रदर्शनको समयमा शोकै लागि बाझिरहनुपर्ने, शो थपिदिनु भन्दै नमस्कार गरिरहनुपर्ने कुराले दिक्क लागेर हामीले फिल्म हलबाट निकाल्यौं । अन्तिम दिनसम्म हामीलाई दिइएको शो पनि हाउसफुल नै थियो । हलवालाको प्राथमिकता कुन फिल्मलाई रहेछ त भन्ने देखिसकेपछि यस्तो निर्णय गरेका हौं । हिन्दी फिल्म चाहिँ किन च्यापेर राख्नुभयो भन्ने प्रश्न हाम्रो हो ।’
निश्चलले हलवालासँग खासै धेरै शो मागेका थिएनन् । ‘मल्टिप्लेक्स’मा कम्तीमा २ शो दिन अनुरोध गरिरहे । तर, हिन्दी फिल्मलाई शो दिइरहँदा उनीहरूले खासै शो पाएनन् । प्रदर्शनको दोस्रो सातामा पोखरा, नेपालगन्जका हलमा एक शो पनि नपाउँदा निरुत्साहित बन्ने अवस्था आयो । नैतिक रूपमा हलवालाले पनि नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्ने निश्चल बताउँछन् । ‘कति वितरकदेखि हलवालाले मिलेर हिन्दी फिल्म ल्याउनुहुन्छ । ती फिल्ममा लगाएको लगानी उठाउन उहाँहरूले हिन्दी फिल्मलाई काखी च्याप्नु हुन्छ । तर, नेपाली फिल्म चल्दाचल्दै पनि हामी मारमा पर्यौं,’ निश्चल भन्छन् ।
राज्यले नै यस किसिमको समस्या समाधानका लागि नीति निर्माण गरेर समस्या हल गर्नुपर्ने निश्चलको माग छ । ‘नेपालमा नेपाली फिल्म नै सुरक्षित छैनन् भने त त्योजस्तो दु:खको कुरा अरू के हुन सक्ला र ? त्यसैले राज्यले नै नेपाली फिल्मको सुरक्षा गर्नुपर्छ । कि त विदेशी फिल्म ल्याउने प्रक्रिया नै गाह्रो बनाइदिनुपर्यो,’ उनले भने, ‘कि त निश्चित विदेशी फिल्म मात्रै नेपालमा ल्याउने व्यवस्था गरिनुपर्छ । कम्तीमा नेपालमा उत्पादन भएका फिल्महरू जोगाउने हिसाबले नै नीति आउनुपर्ने हो ।’ उनी चलचित्र संघ र निर्माता संघले पनि यस समस्या समाधान गर्ने पक्षमा वकालत गर्न अगाडि बढ्नुपर्ने धारणा राख्छन् ।
‘प्रकाश’ निर्देशक दिनेश राउत भोलिका दिनमा अरू निर्माताले यस किसिमको समस्या झेल्नु नपरोस् भनेर सम्बन्धित निकायले नीति नै निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । ‘खासमा चलचित्र विकास बोर्डबाटै नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्ने कि नराख्ने भनेर नीति बन्नुपर्यो,’ निर्देशक राउतले भने, ‘नीतिगत तहबाटै यो समस्याको समाधान देख्छु । हल पनि निजी कम्पनी हो, उनीहरूले आफ्नो व्यापार हेर्न पाउने अधिकार हुन्छ । तर, यसरी व्यक्तिगत पहलमा यो समस्याको समाधान देख्दिनँ । निर्माता एकजुट भएर चलचित्र संघलाई दबाब दियो भने केही हल निस्कन्छ कि ? नत्र त सबै फिल्मले नै यो समस्या भोगिरहेको छ । पहिलो दिन विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई शोमा प्राथमिकता दिनुपर्ने नियम आयो भने त राहत मिल्ने थियो । त्यसपछि अकुपेन्सीका आधारमा शो दिँदा भइहाल्यो ।’
निजीस्तरबाट सञ्चालित हलहरू पनि विदेशी फिल्मकै कमाइबाट सञ्चालनमा आउने हुँदा यो समस्या निर्माताहरूले खेप्दै आएको राउतको भनाइ छ । राउतले भनेझैं केही वर्षयता मात्रै नेपाली फिल्महरूले बक्स अफिसमा चहलपहल बढाउन थालेका हुन् । ‘हलवालाको पक्षबाट हेर्ने हो भने हल सञ्चालन गर्न हिन्दी फिल्मकै भर पर्नुपर्छ । हलहरू टिकाउन पनि विदेशी फिल्म आइरहेको हुन्छ । त्यसैले हलवालाका लागि पनि नीतिगत तहबाटै उनीहरूलाई सुरक्षित गराउने नियम बन्यो भने यो समस्या कम हुने थियो । हिन्दी फिल्मकै कारण त्यतिबेला हामीले कम शो पाएका थियौं ।’
यसअघि ‘ऐंचोपैंचो’ को समयमा शो बाँडफाँटमा विभेद सहेकी निर्देशक कृषा चौलागाईं हिन्दी/विदेशी फिल्मलाई हलवालाले आँखा चिम्लेर विश्वास गरिदिने हुँदा पनि नेपाली फिल्महरूले अझै शोका लागि संघर्ष गर्नुपरिरहेको बताउँछिन् । नेपाली फिल्मले पनि त्यही स्तरको विश्वास जित्न सक्नुपर्ने उनको धारणा छ । ‘हिन्दी फिल्मबाट रातारात पैसा कमाइन्छ भनेजसरी उहाँहरू शो दिनुहुन्छ । नेपाली फिल्म त धिमा गतिमा अगाडि बढ्दै जान्छ । नेपाली फिल्म बिस्तारै माउथ पब्लिसिटीले चल्ने हो । हप्ता दिनमा फिल्म फालिदिँदा हामीले दर्शकमा त्यो विश्वास दिलाउनै सकिरहेका हुँदैनौं,’ कृषाले भनिन्, ‘त्यसैले हिन्दी फिल्मको छायामा हिजोदेखि नेपाली फिल्म पर्दै आइरहेको हो ।’
कृषाका शब्दमा भन्नुपर्दा, नेपाली वितरक/हलवालाले हिन्दी फिल्मलाई ठूलो लगानीमा खरिद गरेर नेपाल प्रदर्शनमा ल्याउँछन् । आफूले लगानी गरेको फिल्मबाट व्यवसाय गरिरहँदा नेपाली फिल्मका लगानीकर्तालाई उनीहरूले बेवास्ता गर्दै आइरहेका छन् । ‘नेपाली फिल्मलाई शो दिइहाले पनि अफ टाइममा दिइरहेको हुन्छ,’ कृषा राष्ट्रको उत्पादन ठानेर नेपाली फिल्मलाई सुरक्षित गराउने आत्मीयता हलवालासँग हुनुपर्ने तर्क गर्छिन् ।
हलवालाहरूले भने आफूहरूले शो बाँडफाँटमा पक्षपात नगरेको बताउँदै आएका छन् । ‘नेपाली फिल्म चल्दा हललाई धेरै फाइदा हुन्छ । हामी पसले हौं, जुन सामग्री बिक्छ त्यसैलाई बेच्छौं । तर हामीले चलिरहेको नेपाली फिल्मलाई शो नदिने गरेका छैनौं । त्यो हाम्रो धर्मले नै दिँदैन,’ हलको छाता संगठन चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले यसअघि ‘कान्तिपुर’ सँग भनेका थिए ।
निर्माता अर्जुन कुमार हलहरू नै यो समस्या समाधानमा अग्रसर हुनुपर्ने धारणा राख्छन् । ‘नेपाली फिल्म चलाउँदा हललाई फाइदा हुन्छ भने किन बराबर शो दिँदैनौं त ? सधैं नेपाली फिल्मलाई हेपाहा प्रवृत्तिले हेरिनुभएन,’ अर्जुनले भने ।ekantipurbata savar