नेपाली माटोको बास्ना भएका फिल्मको लोकप्रियता हाम्रो मौलिक कथाको शक्ति र सामर्थ्य देखाउने सानो दृष्टान्त मात्र हो।

पछिल्लो समय हलमा लगालग दुई नेपाली फिल्म हेरियो, सानो संसार र पूर्णबहादुरको सारंगी। दुवैले ‘वर्ड अफ माउथ’बाट मनग्गे दर्शक पाइरहेका छन्। त्यसमा पनि दोस्रो फिल्मले त मल्टिप्लेक्समा सुपरहिटकै दर्जा पाइसकेको छ।

पहिले कुरा गरौं सानो संसारको। यो फिल्मको क्यानभासमा एउटा निम्न मध्यमवर्गीय परिवार छ। एक मात्र छोरा विदेश छन्। तर उनको अवस्था र संघर्ष पर्दामा देखिन्न। अन्य पात्र मार्फत उनी सकसमा छन् भन्ने आंशिक अभिव्यक्त हुन्छ। परिवारको भार बोक्न रुचि र क्षमता भए पनि/नभए पनि छोरो जाकिनुपर्छ भन्ने परम्पराको अंश बनेका छन् उनी। साथमा हुँदा पनि, विदेश रहँदा पनि बाउको गनगन र आक्रोश कम छैन छोरामाथि। बाउआमाका आआफ्नै संघर्ष, पीडा र अपमानका खात छन्। चरम अभावमा हुने त गलफत्ती र कचकच नै हो। दुई छोरी साथमा छन्। उनीहरूका आफ्नै आकांक्षा छन्, संघर्ष पनि। गाउँघर छोडेर उन्नत जीवनको सपना पछ्याउँदै शहर पस्ने हामी जस्ताकै कथा हो सानो संसार। 

यो फिल्म निम्न मध्यम संघर्षशील शहरवासी परिवारको एउटा पाटो हो। वर्तमान असहज भए पनि यो परिवार सपना सजाउन छोड्दैन। कान्छी छोरीको अमेरिकाको भिसा लागेको छ, तर जाने खर्च जुटाउने आधार छैन। दिदीको आफ्नै अप्ठ्यारो छ। स्वाभिमान निम्न मध्यम वर्गले नै धेरै बोक्छ सायद। दिदी पनि त्यसैको शिकार बनेकी छन्। पात्रका दैनिकीमा झन्झट, कुण्ठा, हेपाइ, ईष्र्या, आक्रोश छ। साथमा माया, सद्भाव र समभाव पनि छ। फिल्मले दर्शकलाई बाँधिराख्छ।

फिल्मको नाम जस्तै यसको क्यानभास सानो छ। यही सानो क्यानभासमा बृहत्तर सामाजिक आयाम अटाएका छन्। परिवारको आर्थिक अभावले कोक्याउँछ। खासमा फिल्मलाई खस आर्य निम्न मध्यम शहरी परिवारको कथा भन्दा सही होला, जहाँ अहम्, हरहिसाब, आत्मकेन्द्रित सोच ज्यादा हुन्छ। यो परिवारसँग जोडिएका अधिकतर बाहिरी पात्र पनि खस आर्य नै छन्। यो सजातीयताले अन्तर्घुलित समाजका संभावित आयाम छोपिदिएको छ। 

केही नमिल्दा कुरा छन् फिल्ममा। ‘ह्याप्पी इन्डिङ’को चक्करमा संघर्ष र बेमेलको अवतरण हतारमा भए जस्तो लाग्छ। अति सामाजिक यथास्थितिमा परिवर्तनको आगामी पाटोतिरको संकेत पाइँदैन। यथास्थितिवादमै सीमित रहँदा फिल्म मार्फत परिवर्तनको अपेक्षा गर्नेहरू निराश हुन सक्छन्। परिवारकी जेठी छोरी विद्रोही छिन्, तर सामाजिक स्वीकार्य हुने दौडमा पनि लाग्छिन्। तनावग्रस्त परिस्थितिमा बाध्यात्मक अवस्थाले योजना बेगरै आफ्ना प्रेमीसँग बिहे गर्न राजी हुन्छिन्, तर तामझाम र परम्परालाई पछ्याउँदै। यहीँनेर उनको आदर्श रसातल पुग्छ। सामाजिक अनुकूलन हुनकै लागि हामी पनि सकिनसकी सरिसृप झैं घिस्रिरहेका छौं, सम्झौता गर्दै अनि अभिमान पनि देखाउँदै। त्यसैले हामीमध्येकै कथा हो, सानो संसार।

नेपालमा अहिले प्रयोगधर्मी र ओजपूर्ण कथावस्तु दुवै खालका फिल्म उल्लेख्य संख्यामा बनिरहेका छन्। मनोरञ्जन मात्र यी फिल्मको मूल ध्येय रहेन अब। सानो संसार लगत्तै प्रदर्शनमा आयो, पूर्णबहादुरको सारंगी। फिल्मको नामले नै संकेत गर्छ, गुजाराका लागि सारंगी रेट्ने गन्धर्वको वरिपरि घुमेको फिल्म हो यो। फिल्मले गन्धर्वको जीवनसँगै सामाजिक समस्या पनि खोतलेको छ। 

गण्डकी प्रदेशसँग सामीप्य राख्नेहरूका लागि यहाँका गन्धर्व जातिले सारंगी बजाउने र गाउने पुख्र्यौली पेशाबाट पेट पाल्न गरेको संघर्ष नौलो होइन। शतकौंदेखि सारंगी बजाउँदै एक भेगबाट अर्को भेग पुग्ने क्रममा सूचना र समाचार पनि पुर्‍याउने यस जातिको ऐतिहासिक योगदानबारे आधुनिक नेपाली समाज बेखबर बन्दै गयो। परम्परागत पेशाले जीवन धान्न गाह्रो हुँदै गयो। जातीय विभेदले नयाँ स्वरूपमा सताउन थाल्यो। 

यस्तो विषम परिस्थितिमा कोही गन्धर्वले आफ्नो सन्तानका लागि कुनै सपना देख्छ भने त्यो चानचुने कुरा होइन। यस फिल्मले चरम गरीबी र अभावबीच हुर्किएको त्यही सपनाको कथा भन्छ। गरीबीको चक्रब्यूहमा निसासिएको परिवारका लागि शिक्षा आर्जनको सपना कति महँगो पर्छ, राम्रो दृष्टान्त हो यो फिल्म। गरीबीसँगै जातीय दलनमा पिल्सिएको छ यो परिवार। यति प्रतिकूलतामाझ एउटा बुवाले छोरालाई पढाउन, सफल बनाउन कुन तहसम्म त्याग गरेको छ, कतिसम्म संघर्ष गरेको छ, यसको गाथा हो पूर्णबहादुरको सारंगी। गाउँले जीवनका बुवा-छोराबीचको सम्बन्धको कथा छ यहाँ। त्यसमा पनि बुवाले एकल अभिभावकत्व निर्वाह गरेको कथानक मन छुने खालको छ। 

सारंगी संघर्ष र परम्परागत पेशाको विम्ब हो। अहिले आधुनिकतासँगै स्थानीय समुदाय र जातिका रैथाने पेशा र परम्परा लोपोन्मुख छन्। यो पक्ष फिल्मले सतहमा ल्याउँछ। पश्चिमाञ्चलका लोकजीवन मज्जाले आएका छन् गीतसंगीतमा। ‘रैया चाँदीको’ र ‘मायाको मैझारो’ गीत त फिल्म प्रदर्शन हुनुअगावै हिट भइसकेका थिए। 

पर्दामा पीडाको गहिराइ भेटिन्छ। आफ्नै जीवन पोखिएको पाउँछन् दर्शकले, त्यसैले त भक्कानिन्छन्। दर्शकलाई आँसु थाम्न गाह्रो भएको प्रतिक्रिया आउनुले फिल्मको कारुणिक पक्ष बुझाउँछ। हामीमध्ये कतिलाई फिल्मका दृश्यले तीखो सुइरोले झैं घोच्छन्, किनकि विगतमा बाउआमाले गरेका दुःखबारे बेखबर र यान्त्रिक बनिरहने जमात बढिरहेकै छ। 

फिल्मको मुख्य भूमिकामा विजय बराल छन्। यसअघिका फिल्ममा सहायक भूमिकामा पनि उत्तिकै न्याय गर्दै आएका बरालले यसमा खुलेर अभिनय गर्ने मौका पाएका छन्। उनले आजसम्म थिग्रिएर बसेको, देखाउन नपाएको अभिनय पूरै पूर्णबहादुरको चरित्रमा खन्याए झैं लाग्छ। रोदीघर धाउने युवा गिताङ्गेका हर्कतबाट रागात्मक रस घोल्छन्। उसैगरी गीत गाएर केही रकम जोहो गर्ने क्रममा भोगेका अपमानका आयाम पोख्छन्। उनको मस्काइ, जिस्काइ, रुवाइ, दुःख लुकाइ सबै गजब छ। उनको अभिनयले कतै बिझाउँदैन।

पूर्णबहादुरका साथी/सहयोगीको भूमिकामा रहेका मुकुन भुषालले फिल्ममा रङ थपेका छन्। बुलबुलमा जस्तै केन्द्रीय पात्रको सहायक बनेरै पनि उनी दर्शकको नजरमा जचेका छन्। थोरै समय देखिने माओत्से गुरुङ र बुद्धि तामाङको उपस्थिति दमदार छ। महिला कलाकारमा, थोरै भूमिका भए पनि आमाको रूपमा अन्जना रसाइली खास लाग्छ। नाटकमा सक्रिय रहँदै आएकी सरिता साहको फिल्मको उपस्थिति पनि प्रष्ट देखिन्छ। पूर्णबहादुरको छोराको भूमिकामा बाल कलाकार स्वयम् केसीको निर्दोषपनले मन कटक्क पार्छ। गायनमा ख्याति बटुलेका प्रकाश सपुत भने अभिनयमा सामान्य छन्। 

‘पूर्णबहादुरको सारंगी’ को एक दृश्यमा मुकुन भुषाल र विजय बराल।
‘बा, तिम्लाई किन सबले हेप्छन्?’ भन्ने छोराको प्रश्नले पूर्णबहादुरको सहनुको सीमा भत्काइदिन्छ। तर छोराको सामुन्ने रुन नसकेर पिसाब फेर्ने निहुँमा गएर भक्कानिन्छन्। यथार्थमा धेरै अभिभावकको भावदशा त्यस्तै हो। हेपाइको अर्को पक्ष दलित हुनुमा छ। माग्ने, अछुत भनेर पूर्णबहादुर बारम्बार र सबैतिर तिरस्कृत छन्- विद्यालयका गुरुबाट, कर्मकाण्ड गर्ने पण्डितबाट अनि गाउँघरका अगुवाबाट। गाउँघरका पठित, अगुवा, सुधारक भनी कहलिएकाबाटै यस्तो व्यवहार गरिन्छ भने हामी कहाँ उभिएका छौं? विभेदविहिन समाज कसरी बन्छ? प्रश्न तेर्सिन्छ।

यो फिल्मका घटना तीन-चार दशकअघिका छन्, तर अहिले पनि समाज कति नै बदलिएको छ र? आजको नयाँ पुस्ता विदेश जाँदा समेत जात लिएरै जान्छ, र सानो/ठूलो जातको रेखा कोरेर विभेद गर्छ। जात र थरकै कारण संघीय राजधानीमा समेत डेरा नपाएर आफ्नै परिचय लुकाउनुपर्ने स्थिति छ। चाडबाडमा गाउँघर पुगेका दलित साथीहरुले गाउँ छिर्नु अघिदेखि त्यहाँ रहँदाबस्दा भोगेका विभेद र अपमानको भोगाइ कति दर्दनाक होलान्? लेखिन बाँकी नै छ। मान्छेलाई मान्छे नै नमान्ने विभेदको कहालीलाग्दो परिवेशमा समाज विस्तारै परिवर्तन हुन्छ भनी रट लगाउनेको डरलाग्दो भाष्यलाई के भन्ने? 

पूर्णबहादुरको सारंगीमा पनि केही असहज सन्दर्भ छन्। जातीय विभेद गर्ने माड्साब गन्धर्वका छोरालाई स्कूल भर्ना गर्न सजिलै राजी भएको दृश्य उति स्वाभाविक लाग्दैन। फिल्ममा आमाको भूमिका थोरै छ। छोराको भविष्यकै लागि पोइला जान बाध्य भएकी आमाको पुनरागमनको अपेक्षा पूर्णबहादुरको छोरालाई मात्रै हैन, दर्शकलाई पनि उत्तिकै रहन्छ। महिला लेखक र निर्देशकको हातमा परेको भए यो फिल्ममा आमाको भूमिका अलग ढंगले आउँथ्यो कि? फिल्मको दोस्रो भाग बन्न सक्ने संभावना देख्दा त्यो पक्षमा न्याय मिल्ला। 

माथि चर्चा गरिएका दुवै फिल्ममा एक वर्षयताका द रेड सुटकेस, शाम्भाला जस्ता प्रयोगधर्मी सिनेमामा जस्तो घोत्लिनुपर्ने विम्ब छैनन्। हाम्रै माटोका मौलिक कथा पर्दामा अटाएका छन्। यथार्थवादी धार बोकेका यी फिल्मले उठाएका विमर्श अझ व्यापक हुन जरुरी छ।himalkhabarbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *