सोमबार, २६ कात्तिक, २०
काभ्रेको रोशी खोला किनारमा अवैध रूपमा र मापदण्ड मिचेर २५ वटा ढुंगा खानी र क्रसर उद्योग सञ्चालन हुँदै आएका थिए। सरकारी प्रतिवेदनले तिनलाई कारबाही या बन्द गर्न सुझाव दिए पनि नेता, जनप्रतिनिधि जस्ता प्रभावशालीहरूले निर्बाध चलाएको उद्योगका कारण गत असोजको बाढीले त्यस क्षेत्रमा अकल्पनीय क्षति पुर्यायो।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२, गोठखोला दोभानका राजेश हुमागाईंको घर नजीकै गोठखोला दोभानमा भालेश्वर रोडा ढुंगा उद्योग छ। २०६६ सालदेखि सञ्चालनमा रहेको उद्योगका कारण उनले समस्या भोग्दै आएका थिए। एकातिर खानीले ढुंगा फुटाउँदा चोइटाचोइटी उनको घरको छानामा बजारिन्थे, अर्कातिर रातभर टिप्पर र मसिनको चर्को आवाजले दिक्क पार्थ्यो।
तर गत असोज १२ मा उनको सास्ती त्यतिमा सीमित रहेन। अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले उनको घर नै बगायो। खेत बगर बन्यो। हुमागाईं भन्छन्, “पानीले ढुंगा खानीबाट निस्केको गेग्रान बगाएर रोशी खोलाको बाटो पुरिदियो, त्यसपछि खोला उर्लेर घर बगायो।”
बाढीले घरबारविहीन भएपछि उनी पनौती बजारमा कोठा भाडामा लिएर बसेका छन्। भन्छन्, “खानी र क्रसर नभएको भए यस्तो क्षति हुने नै थिएन।”
हुमागाईंको घर नजिकै रहेको रमेश खत्रीको घर र पसल पनि बाढीले बगायो। उनी पनि पनौती बजारमा डेरा लिएर बस्न थालेका छन्। असोज १२ को बाढीले भालेश्वर ढुंगा खानी आसपास रहेका १२ वटा घरमध्ये दश वटामा क्षति भएको वडा नम्बर १२ का वडाअध्यक्ष जयराम केसी बताउँछन्।
उक्त दिनको बाढीपहिरोबाट पनौती नगरपालिका र रोशी गाउँपालिकामा गरी ३२ जनाको ज्यान गयो। यसमध्ये पनौतीमा मात्रै २० जनाको मृत्यु भयो। यस क्षेत्रमा ५०० वटा घर र २० वटा विद्यालय बगायो भने दुई हजारभन्दा धेरै पशुचौपाया मरे। बाढीबाट पनौतीका वडा नम्बर १, २, ३, ११ र १२ मा जनधनको क्षति भएको थियो। यस्तै, १२ जनाको मृत्यु भएको रोशी गाउँपालिकामा ३४४ परिवार घरबारविहिन भए। उक्त पालिकामा सबै १२ वटै वटामा बाढीले भौतिक क्षति पुर्याएको छ।
हिमालखबरले स्थलगत रिपोर्टिङ गर्दा रोशी खोलाको बाढीपहिरोको घटनामा यी दुई पालिकाको साझा विशेषता के देखियो भने, सबैभन्दा धेरै क्षति क्रसर र ढुंगा खानी रहेको स्थानमा भएको छ। बाढीपहिरोबाट ठूलो क्षति हुनुको कारण के होला भनेर प्रश्न गर्दा त्यहाँका स्थानीयवासीको पनि एउटै जवाफ थियो- क्रसर र ढुंगा खानीले गरेको अत्यधिक दोहन।
रोशी र पनौतीमा सञ्चालित क्रसर र खानी।
रोशी खोलाले उजाड बनाएको पनौती र रोशीमा २५ वटा ढुंगा खानी र क्रसर उद्योग छन्। खानीहरूले ढुंगा निकाल्न डाँडापाखा जताततै खोतलेका छन्। जसले गर्दा पनौती र रोशीका पाखा चर्किएर छियाछिया भएका छन्। यस्तै, क्रसर उद्योगहरूले ढुंगा, गिट्टी, बालुवा निकाल्ने क्रममा रोशी खोला लथालिङ्ग बनाएका छन्।
ढुंगा खानी र क्रसर उद्योगले खोला तथा डाँडापाखा खोतल्दा विपद् आउँछ भनेर खोला छेउछाउका बासिन्दा पहिल्यैदेखि सशंकित थिए। उनीहरूले खानी र क्रसरको विरोध पनि गरेका थिए, तर दोहन रोकिएन।
अचम्म त के भने, सरकारी प्रतिवेदनले यस क्षेत्रमा सञ्चालनमा रहेका खानी र क्रसरमध्ये कतिपय दर्ता विना र कतिपय मापदण्ड विपरीत चलेका देखाउँदै यिनलाई बन्द गर्न सुझाव दिएको थियो, तर यसको कार्यान्वयनमा चासो नै दिइएन। यसको कारण थियो, यी खानी र क्रसरको सञ्चालक शक्तिशाली र पहुँचवाला व्यक्तिहरू हुनु।
नेता र मन्त्रीकै क्रसर
पनौती नगरपालिकामा रोशी खोला आसपास ढुंगा खानी र क्रसरका १५ वटा उद्योग छन्। यस्तै, रोशी गाउँपालिकामा १० उद्योग छन्। यी दुवै पालिकामा कतिपय उद्योगले क्रसर र ढुंगा खानी दुवै चलाएका छन्। यसरी हेर्दा पनौती क्षेत्रमा १४ वटा क्रसर र १३ वटा ढुंगा खानी तथा रोशीमा नौ वटा क्रसर र १० वटा खानी छन्।
यी सबै क्रसर र खानी सरकारी मापदण्ड विपरीत चलिरहेका छन्। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले क्रसर तथा खानी घना बस्तीबाट दुई किलोमिटर टाढा हुनुपर्ने तोकेको छ। तर पनौती र रोशीमा अधिकांश ढुंगा खानी र क्रसर बस्ती नजीकै छन्। गत असोजको भीषण बाढीले खानी र क्रसरसहित खोला किनारका बस्ती बढारिदिएको छ।
रोशी खोलामा आएको बाढीले क्षतविक्षत बस्ती।
गोठखोला दोभानमा बस्ती छेउमै रहेको भालेश्वर रोडा ढुंगा उद्योगले जथाभावी उत्खनन गरेकै कारण गोठखोला दोभानका राजेश हुमागाईं, रमेश खत्री लगायतको घरबास बाढीले उजाड्यो। जिल्ला समन्वय समिति काभ्रेको अनुगमनमा उक्त ढुंगा खानीले पाँच वटा मसिनको प्रयोग गरेर स्वीकृत मापदण्डभन्दा धेरै उत्खनन गरेको पाइएको थियो। यस्तै, खोला किनारमा अवस्थित उद्योगबाट निस्किने धूलो र गेग्रान रोशी खोलामा पुग्थ्यो। २०६६ सालदेखि सञ्चालन भएर २०७८ सालमा मात्रै खानी दर्ता गरेको उक्त उद्योगले क्रसर दर्ता गरेको कागजात थिएन।
ढुंगा खानीका कारण वायु तथा ध्वनि प्रदूषण भएर बस्नै नसक्ने भएपछि खारखोलाका अधिकांश बासिन्दा एकपछि अर्को गरी जग्गा बेच्दै अन्यत्र गए। बाँकी रहेका पाँच घर असोजमा आएको बाढीपहिरोले लग्यो। खत्री भन्छन्, “खानी र क्रसर सञ्चालक यहाँका बासिन्दा हैन, सबै बाहिरका मान्छे छन्। यहाँ बस्ने हामीलाई पो डरमर्दो भयो।”
खत्रीले भने झैं पनौती र रोशीमा सञ्चालित ढुंगा खानी र क्रसरका सञ्चालक स्थानीय छैनन्। तिनका सञ्चालकमा बाहिरका व्यवसायीदेखि पालिकाका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेता छन्। यी खानी र क्रसर नियम एवम् मापदण्ड विपरीत चले पनि यिनको सञ्चालनमा प्रभावशाली व्यक्तिहरू जोडिएका कारण कारबाही गरिएन।
कतिसम्म भने, जिल्ला समन्वय समितिको अनुगमन प्रतिवेदनले यी क्रसर र खानी अनधिकृत रूपमा चलेका र यिनले मापदण्ड मिचेर जथाभावी उत्खनन गर्दा जनधनको क्षति हुनसक्ने जोखिम निम्तिएको भन्दै कतिपयलाई कारबाही र केहीलाई बन्द गर्नुपर्ने सुझाव दिएको थियो। २०७९ सालमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नदी र खानीजन्य उद्योगको अनुगमन गरी तयार पारेको प्रतिवेदनमा खानी र क्रसरहरूले मनलाग्दी उत्खनन गर्दा तल्लो तटीय क्षेत्र, मानव बस्ती र खेतीयोग्य जमीनमा क्षति हुन सक्ने उल्लेख गरिएको थियो। तर शक्तिशाली व्यक्तिहरूको लगानी रहेका क्रसरलाई कारबाही गर्न स्थानीय तह र प्रशासनले कदम अघि नबढाउँदा मनपरी उत्खनन र दोहन चलिरह्यो। यसको प्रतिफल, बाढीले यस क्षेत्रमा यसपाली नसोचेको विनाश निम्त्यायो।
क्रसर उद्योगले तहसनहस बनाएका रोशी किनारका भीरपाखा।
रोशी गाउँपालिका-२ खार्पाचोकमा नाङसाल ढुंगा रोडा उद्योग छ। उद्योग अन्तर्गतको खानी २०६६ सालमा तत्कालीन जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकमा र क्रसर २०६९ सालमा घरेलु तथा साना उद्योग कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता भएर सञ्चालनमा आयो। घरेलु तथा साना उद्योग कार्यालयमा रहेको विवरण अनुसार यस उद्योगका सञ्चालक तीर्थबहादुर लामा, दीपक कुँवर र सुजन लामा हुन्।
सांसद पनि सञ्चालक
पूर्व सासद तीर्थबहादुर बागमती प्रदेशका पूर्व खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री हुन्। उनी २०७९ सालको चुनावमा नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। अर्का सञ्चालक कुँवर काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष हुन्।
प्रदेशका पूर्वमन्त्री लामाले ढुंगा रोडा उद्योगमा आफ्नो लगानी भएको स्विकारे। तर, उद्योगमा कति लगानी छ भन्ने प्रश्न गर्दा उनी ‘यो विषयमा पछि कुरा गरौंला’ भन्दै पन्छिए।
ग्राण्डीका अध्यक्ष कुँवरले पनि क्रसर र खानीमा आफ्नो सानो शेयर लगानी रहेको बताए। लगानीबारे सोध्दा उनले भने, “साथीहरूले चलाउनुहुन्छ, मेरो सानो शेयर मात्रै हो।”
उद्योगबारे थप कुराकानी गर्न खोज्दा भने, “मलाई केही जानकारी छैन। यसबारे अरु साथीहरूसँग कुरा गर्नुहोला।” तर असोज दोस्रो साताको बाढीपहिरोले आफ्नो उद्योगमा क्षति पुगेकोबारे भने उनी जानकार छन्। “हाम्रो उद्योगलाई बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ। अब सञ्चालन हुनै सक्दैन, माटोले पुरिएर केही पनि छैन,” उनले भने।
यी शक्तिमा रहेका व्यक्तिले चलाएको खानी र क्रसर मापदण्ड पूरा नगरेको भए पनि छूट पाउँदै आएको थियो। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ मा खानी र क्रसर राजमार्गदेखि पाँच सय मिटर टाढा हुनुपर्ने उल्लेख छ। तर २०७९ सालमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गर्दा नाङसाल ढुंगा रोडा उद्योगले बीपी राजमार्गमा क्षति पुर्याएको भेटिएको थियो।
क्रसर उद्योगले तहसनहस बनाएका रोशी किनारका भीरपाखा।
यसका साथै, खानी र क्रसरबाट निस्किने धूलो तथा गेग्रान थुपारेर राखिएको थियो। जबकि यस्तो धूलोको व्यवस्थापन गर्नुपर्ने सरकारी मापदण्डमा उल्लेख छ। मापदण्डको दफा ४ (१०) मा लेखिएको छ, ‘उत्खनन गरिसकेपछि छनोट गरी छाडिएको काम नलाग्ने वस्तु जुन स्थानबाट निकालिएको हो सोही स्थानमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिम तह मिलाई खाडल नहुने गरी सम्याई राख्नुपर्नेछ।’
थुपारेर राखिएको यस्तो धूलो र गेग्रान व्यवस्थापन नगरेका कारण खोला तथा खोल्साले बहाव परिवर्तन गर्न सक्ने, गेग्रान खोला-नदीमा थिग्रिएर तल्लो तटीय क्षेत्रमा असर पर्न सक्ने जिल्ला समन्वय समितिको अनुगमन प्रतिवेदनले उल्लेख गरेको थियो। यस्तै ग्रेगान असोज १२ को बाढीले बगाउँदा रोशी खोलाको बहाव उक्लिएर बस्ती पसेको स्थानीय बासिन्दा बताउँछन्।
ग्राण्डी अस्पतालका अध्यक्ष कुँवरको रोशी गाउँपालिकाकै अन्य खानी र क्रसरमा पनि लगानी छ। रोशी-८ नार्केमा रहेको एस.एम. बालुवा ढुंगा उद्योग प्रालिका उनी शेयर सदस्य रहेको देखिन्छ। २०७३ सालमा दर्ता भएको यस उद्योगमा कुँवर र आफू सञ्चालक रहेको काठमाडौं महानगरपालिका-७ का महेश्वर गौतमले बताए। दर्ता भए पनि यो उद्योग सञ्चालनमै नआएको गौतमको भनाइ छ।
असोज १२ को बाढी आउनुअघिसम्म रोशी क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाको क्रसर र खानी पनि चलिरहेको थियो। ‘गुन्डा नाइके’ भनेर चिनिने लामाले राजेन्द्रप्रसाद अर्यालसँग मिलेर रोशी-७ कटुन्जेमा २०६४ सालदेखि ओम सत्य साई स्टोन क्रसर उद्योग चलाउँदै आएका थिए।
घरेलु तथा साना उद्योग कार्यालयको कागजातमा क्रसर उद्योगको सञ्चालकमा अर्यालको नाम मात्र छ। तर गाउँपालिकाबाट प्राप्त र अन्य विवरण केलाउँदा लामा सञ्चालक भएको खुलेको छ। अर्यालले आफूसँगै अरुको पनि लगानी रहेको बताए पनि तिनको नाम बताउन चाहेनन्।
बरु उनले रोचक कुरा खोले। उनका अनुसार, अधिकांश खानी तथा क्रसर उद्योगीले कम्पनी दर्ता गर्दा आफ्नो वास्तविक नाम नराखी फरक नाम राख्ने गर्छन्। “नागरिकतामा एउटा र बोलाउने नाम अर्को हुन्छ। कम्पनी दर्ता गर्दा अर्कै नाम राखेको हुन्छ,” उनले भने।
ओम सत्य साई क्रसर सञ्चालकमा कांग्रेस नेता गणेश लामा पनि रहेकोबारे प्रश्न गर्दा उनले भने, “गणेश लामा छैन, उसको नामै छैन।” हामीलाई प्राप्त विवरणमा लामा पनि सञ्चालक देखिनुभएको छ नि भन्ने अर्को प्रश्नमा उनले ‘देखियो भने राखिदिनू न त’ भने र फोन काटिदिए।
क्रसरका लागि तहसनहस बनाएको रोशी किनारको पहाड।
अनुगमन समितिको प्रतिवेदनका अनुसार, लामा सञ्चालक रहेको उद्योगको क्रसर दर्ता गरिएको भए पनि खानी भने दर्ता नगरी सञ्चालन गरिँदै आएको थियो। प्रतिवेदनले खानी सम्बन्धी कुनै पनि विवरण नभेटिएको उल्लेख गरेको छ। यस्तै, यो क्रसर उद्योग मापदण्ड विपरीत खोला किनार र घना बस्तीमै तथा बीपी राजमार्गबाट पाँच सय मिटरभित्रैको दूरीमा सञ्चालनमा थियो। साथै, खानी र क्रसरबाट निस्किने धूलो सीधै रोशी खोलामा मिसाइने गरिएको पाइएको थियो।
यसबारे गणेश लामासँग कुराकानी गर्न खोज्दा धेरै पटकको प्रयासपछि मात्रै सम्पर्कमा आए। उनले सो उद्योगमा आफ्नो शेयर नरहेको बताए। “उद्योग मेरो नाममा छैन, मेरो छोरा र ज्वाइँको नाममा छ,” उनले भने। उनले सञ्चालकमध्येका एक सूर्य लामाको नाम मात्र बताए।
खानी दर्ता विना चलेको विषय पनि उनले अस्वीकार गरे। “यत्रो वर्ष चलाएको कम्पनी दर्ता नभई कसरी चल्यो होला?” प्रतिप्रश्न गर्दै उनले चिन्ता पनि जनाए, “अहिले विपद्ले ८/१० करोडभन्दा बढीको क्षति भयो। ”
तर २०७९ सालमा जिल्ला समन्वय समितिले गरेको अनुगमनमा खानी दर्ता नभएको देखिएको थियो नि भनेर जिज्ञासा राख्दा उनले दर्ता नभएको स्विकारे। “त्यति वेलाको अनुगमनले खानीको दर्ता नभएकालाई दर्ता गरेर ल्याउनू भनेर सुझाव दिएको थियो। दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको वेला जग्गाधनीसँग किचलो भएर उद्योग बन्द भइदियो,” उनले भने।
पूर्व मन्त्री र नेताका मात्र हैन, प्रदेशका बहालवाला मन्त्रीका पनि खानी र क्रसर छन्। रोशी-११ मा रहेको कालढुंगा एग्रिगेट प्रालिको सञ्चालकमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरको पनि नाम देखिएको छ। जिल्ला समन्वय समितिको प्रतिवेदनमा उक्त कम्पनी थापा, सुरकृष्ण वैद्य र गोवर्द्धन श्रेष्ठको नाममा रहेको उल्लेख छ।
मन्त्री थापाले भने आफूले दुई वर्षअघि नै क्रसर छोडिसकेको बताए। नामसारी गर्न बाँकी रहेकाले सञ्चालकमा आफ्नो नाम देखिएको बताए। “मैले आफ्नो शेयर दुई वर्षअघि रवि श्रेष्ठलाई बेचिसकें। उहाँ अमेरिकामा रहनुभएकाले नामसारी गर्न बाँकी छ,” उनले भने।
सञ्चालकमध्येका गोवर्द्धन श्रेष्ठले पनि आफ्नो शेयर रवि श्रेष्ठलाई नै पाँच वर्षअघि बेचेको बताए। मन्त्री थापाका अनुसार, अहिले क्रसरका सञ्चालक रवि श्रेष्ठ र सुरकृष्ण वैद्य छन्।
क्रसरका कारण जोखिममा रहेका बस्ती।
मन्त्री थापाले रोशीमा भएका खानी तथा क्रसर व्यवस्थित नभएका र खोलाको असीमित दोहनका कारण असोज दोस्रो साताको बाढीले धेरै क्षति गरेको बताए। “स्वास्थ्य मन्त्री भएपछि म निरीक्षणमा जाँदा रोशी खोला टिप्पर र स्काभेटरले भरिएको थियो,” उनले भने, “खोलाको अत्यधिक दोहनसँगै क्रसरबाट निस्केका धूलो र गेग्रान रोशी खोलामा फालिएका कारण पनि बढी क्षति भएको हो।”
क्रसरमा स्थानीय जनप्रतिनिधिको पनि लगानी देखिन्छ। रोशी-८ नार्के खोलामा रहेको गौरीशंकर रोडा ढुंगा उद्योगको क्रसर र खानी तेमाल गाउँपालिका वडा नम्बर ५ का पूर्व वडाअध्यक्ष प्रविन लामासहितका व्यक्तिले चलाएका छन्। प्राप्त विवरणमा लामासहित वीरेन्द्र थापा, रमादेवी घिमिरे, उद्धवप्रसाद काफ्ले सञ्चालक देखिन्छन्। तर लामाका अनुसार उनी र उनका भाइहरू प्रदीप लामा, संजय लामा, मिलन लामाले सञ्चालन गरिरहेका छन्।
यो खानी र क्रसर पनि नियम विपरीत नै चलाइएको छ। क्रसर २०६४ सालमा घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा दर्ता भयो। तर पालिकाबाट स्वीकृति नलिई खानी चलिरहेको छ। प्रचलित कानूनले क्रसर घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने र खानी चलाउन पालिकाबाट इजाजत लिनुपर्ने व्यवस्था गरेको छ।
जिससको अनुगमन प्रतिवेदनले उक्त उद्योगले मापदण्ड उल्लंघन गरेको पनि देखाएको छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को प्रावधान मिचेर रोशी खोलाको किनार र बीपी राजमार्गसँगै जोडेर उत्खनन र सञ्चालन हुँदै आएको छ।
रोशी-८ कै नार्केमा पूर्व वडाअध्यक्ष लामाको अर्को पनि खानी छ, जय नेपाल सप्लायर्स। यो खानी ७८ सालदेखि सञ्चालनमा रहेको देखिन्छ। तर सञ्चालक लामाले भने ५/६ महीनायता मात्रै सञ्चालनमा आएको र यो खानी आफ्नै एकल स्वामित्वको भएको बताए।
यो खानी पनि मापदण्ड मिचेर चलेको पाइएको छ। खानीले त्यहाँबाट निस्किएको धूलो र गेग्रानको उचित व्यवस्थापन नगरेको तथा हरहिसाब फेला नपरेको अनुगमनमा देखिएको थियो।
शक्तिमा आसीन र पहुँचवाला व्यक्तिहरूले चलाएको खानी र क्रसर भएकाले आफूहरूले खुलेर विरोध गर्न नसक्ने र विरोध गरे पनि सुनुवाइ नहुने रोशी गाउँपालिकाका एक बासिन्दाले बताए। बरु रोजीरोटीका लागि आफूसहित कैयौं स्थानीय यिनै खानी र क्रसरमा काम गरिरहेका उनको भनाइ छ। यसले पनि खोला दोहनबाट प्रकृति, पर्यावरण र मानिसमा क्षतिको जोखिम देख्नेहरूको मुख थुनिदिएको छ।
पाँच वर्षयता पनौतीको एक क्रसरमा काम गरिरहेका रोशीका ती बासिन्दा भन्छन्, “यहाँका खानीले कतिलाई उठिबास लगाएको छ। विरोध गरियो भने आफैंलाई डर हुन्छ, बरु यहीँ काम गरियो भने गुजारा त चल्छ भनेर काम गरिरहेको छु।”
स्थानीय तहले निश्चित कर तोकेर खानी र क्रसरहरूलाई प्राकृतिक स्रोत संकलनको ठेक्का लगाउँछन्। तर, खानीहरूले बढी आर्थिक लाभ लिन स्वीकृत मापदण्डभन्दा अत्यधिक दोहन र उत्खनन गर्दै आएका छन्। यसले गर्दा खोला र डाँडापाखा मात्र उजाडिँदै छैनन्, हालसालैको बाढीले जस्तो क्षतिको जोखिम बढाइरहेको छ।
बागमतीका स्वास्थ्य मन्त्री थापा स्थानीय तहले राजश्व असुल्न नदी उत्खनन ठेक्का लगाइरहेको तर अनुगमन, निरीक्षण गर्ने निकायले आफ्नो काम नगर्दा बढी क्षति भएको निष्कर्ष छ। “खोला उत्खननबाट स्थानीय तहको आन्तरिक स्रोत त बढेको छ, तर त्यसभन्दा धेरै क्षति भयो,” उनी भन्छन्।
अब क्रसरहरू चलाउँदा क्षतिको न्यूनीकरण हुने गरी राज्यले सोच्नुपर्ने थापाको सुझाव छ।
राजस्वको लोभमा न अनुगमन न कारबाही
२०७९ सालमा जिसस काभ्रेले अनुगमन गरेका सबै क्रसर र खानी मापदण्ड विपरीत चलेका देखिएको थियो। उद्योगको दर्ता नभएको, हरहिसाबको कागजात नभेटिएको, उद्योगबाट निस्किने फोहोरको व्यस्थापन नगरेको, उत्खनन गर्ने क्षेत्र नछुट्याइएको, अत्यधिक उत्खनन भइरहेको जस्ता पक्ष अनुगमन प्रतिवेदनमा औंल्याइएको थियो। उक्त अनुगमनका क्रममा समस्या भएका उद्योगलाई त्रुटि सुधार्न र नियमभित्र काम गर्न निर्देश गरिएको थियो।
कतिपय क्रसर र खानीले अनुमति दिइएको क्षेत्रभन्दा बाहिर पनि उत्खनन गरेको पाइएको थियो। त्यस्ता खानीहरूलाई तत्कालै बन्द गर्न अनुगमन समितिले स्थानीय तहलाई सुझाव दिएको थियो।
तर पालिकाले अनुगमन प्रतिवेदनको कार्यान्वयन गरेन। खानी र क्रसरको नियमित अनुगमनमा पनि स्थानीय तहको रुचि देखिँदैन। यसले गर्दा दर्ता वा नवीकरण नगरी तथा दर्ता भए पनि मापदण्ड मिचेर चलिरहेका खानी र क्रसरको रजाइँ चलिरहेको छ।
काभ्रेका एक क्रसर व्यवसायी जिल्लाका अधिकांश खानी तथा क्रसर नवीकरण नगरी चलिरहेको बताउँछन्। “धेरैजसो खानी र क्रसर नवीकरण विना नै चलिरहेका छन्। जताततै त्यस्तै छ,” उनी भन्छन्, “राजस्व आइहाल्छ भनेर प्रशासनले पनि केही गर्दैन।”
रोशी किनारमा रहेको क्रसर उद्योग।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार, गाउँपालिकामा क्रसर र खानी उद्योगबाट वार्षिक ६ करोड रुपैयाँ राजस्व उठ्छ। यसमध्ये प्रदेश सरकारलाई ४० प्रतिशत बुझाउनुपर्छ। त्यति प्रदेशमा जाँदा पनि पालिकामा ४ करोड रुपैयाँ रहन्छ।
स्थानीय तहले क्रसर र खानीबाट आउने राजस्वमा मात्र आँखा लगाइरहेको, अनुगमन र कारबाहीतर्फ बेवास्ता गरेको स्थानीयहरू गुनासो गर्छन्। गाउँपालिका अध्यक्ष लामा पनि अनुगमन गरिए पनि कारबाही नभएको स्विकार्छन्। तर आफूहरूको अभिलेखमा सबै क्रसर र खानी मापदण्डभित्रै रहेको उनको भनाइ छ।
“जिससको अनुगमन हामी स्थानीय सरकारमा आउनु अगावै भएकाले यसबारे धेरै जानकारी छैन, हामी आइसकेपछि पनि एक चोटि अनुगमन भएको छ,” उनी भन्छन्। अनुगमन गरे पनि कारबाही भने नभएको तर धूलो/गेग्रान व्यवस्थापन लगायतमा सुधारका सुझाव दिएको उनको भनाइ छ।
क्रसरले बदलेको रोशीको बाटो
असोज १२ को भीषण बाढीपछि रोशी खोलाले धार बदलेको छ। पनौती-१२, भालेश्वर निवासी कुमार तामाङको घरमा ठूलो भ्वाङ परेको छ। रोशीले बनाएको नयाँ बाटो हो त्यो। बाढीले बगाएर ल्याएको ढुंगा खानीको तेल राख्ने ट्याङ्कर उनको घर अगाडि तेर्सिएको छ। अहिले तामाङ र उनका दाइको घरको बीचबाट रोशी बगिरहेको छ। कतै खेतबाट बगिरहेको छ।
दुई तीन पुस्तादेखि बसोबास गर्दै आएका रोशी क्षेत्रका बासिन्दालाई रोशी खोलाले यसअघि कहिल्यै दु:ख दिएको थिएन। विगतमा यति ठूलो क्षति हुने गरी रोशीमा यस्तो बाढीपहिरोको घटना भएको स्थानीयलाई थाहा छैन। २०३८ सालमा ठूलो बाढी आए पनि रोशीले आफ्नो बाटो फेरेको थिएन। “२०३८ सालमा पनि बाढी त आएको थियो, तर यति ठूलो थिएन,” तामाङ भन्छन् “यस्तो विनाशकारी बाढीपहिरो पहिलो पल्ट देख्यौं र भोग्यौं।”
पछिल्लो २० वर्षदेखि क्रसर र खानीले गर्दा आफूहरू जोखिममा परेको स्थानीयहरू बताउँछन्। भालेश्वरका दिनेश गुरुङ भन्छन्, “खानी र क्रसर चल्न शुरू गर्दा नै हामीले विरोध गरेका थियौं, तर पावरवालाहरूले चलाएका कारण हाम्रो केही लागेन। हिमालखबरबाट साभार
Discussion about this post