सारङ्गी एउटा गरिब गाउँले को कथा हो
तर तर सारङ्गी’ सारङ्गीको कथाबाट सुरु हुन्छ । जब एक गाइने अर्थात् गन्धर्वको संघर्ष–कथा सुरु हुन्छ, पर्दामा तैरिरहन्छ– समाजको यथार्थ वास्तविकता । अति निम्नवर्गीय जीवन निर्वाह गर्न कति कठिन छ ? त्यो कथा फिल्मले भन्छ । तीतो दलन, दलितले भोगेका पीडा, भोक, अभाव, गरिबी, छुवाछूतजस्ता विषय तिनलाई सामान्य लाग्लान्, जसले त्यो भोगेकै हुँदैनन् । तर, सूक्ष्म आँखाले यी घटनालाई हेर्ने हो र त्यो दलन–कथा एकदमै नजिकबाट नियाल्ने हो भने त्यहाँ देखिन्छ, नेपाली समाजले शदीऔंदेखि हुर्काएको एक फरक चित्र अनि हाम्रो समाजका भुइँमान्छेका वास्तविक जीवन परिवेश । यो फिल्म तिनको कथा हो, जसलाई समाज, राज्यले कहिले जातका नाममा, कहिले वर्गीय हिसाबमा, कहिले धर्मका नाममा र कहिले कर्मका नाममा सदैव छुट्याउँदै आयो– इतिहासदेखि आजसम्मै ।
पूर्णबहादुरको भूमिकामा छन्– नायक विजय बराल, जसले आफ्नो भूमिकालाई असाध्यै न्याय गरेका छन् । खासमा उनैको काँधले यो फिल्मको भार उचालेको छ । उनको अभिनयले दर्शक अवाक् बन्छन् । छोरादेखि बाबुको भूमिकासम्मै उनी सशक्त देखिन्छन् । जीवनैभरि कसरी एक गाइने (गन्धर्व) सारङ्गी रेट्दै–गाउँदै निरन्तर हिँडिरहन्छ र प्रिय सन्तानका लागि ज्यान अर्पण गर्छ ? समाज व्यवस्था, उत्पीडन, दमनविरुद्ध कसरी एक अशिक्षित बाबु सधैं लड्न तयार हुन्छ ? सारङ्गीसँगै भोको पेट र अभावमा ऊ आफैं पलपल रेटिएर सन्तानको भविष्य निर्माणमा तल्लीन हुन्छ ? गाइनेको जीवन धान्ने मुख्य कर्म आफ्नै आवाज नै गुमाउँदा पनि सन्तानको उन्नतिका लागि संवेदना, भावनालाई मनभित्रै दबाएर कसरी संघर्ष–पथमा यात्रा गरिरहन्छ ? र, सन्तानकै भविष्यका लागि आफ्नो बाबुले दिएको चिनो, जीवनभर रेटेको त्यो प्रिय सारङ्गी बेच्न बाध्य हुन्छ ? त्यो लामो कथा कहन्छ– ‘पूर्णबहादुरको सारङ्गी’ ले ।
विजय बरालको संवादहीन, आवाजविहीन भव्य र सशक्त अभिनयले दर्शकलाई रुवाइरहन्छ । विशेषत: बुढेसकालको चरित्रमा उनी झन् अब्बल लाग्छन् । पूर्णबहादुर (विजय बराल), बाटुली (अन्जना बराइली), विजयका प्रिय साथीहरू बिरे (मुकुन भुसाल) र माइला (बुद्धि तामाङ), मास्टर (भोलाराज सापकोटा), कमल (प्रकाश सपुत), स्वयम् केसी (बाल कलाकार), देशभक्त खनाल, शंकर आचार्य, सुभास गजुरेल, माओत्से गुरुङ, सरिता साहहरूको अब्बल अभिनयले फिल्म तारिफयोग्य बनेको छ ।
पूर्णबहादुरको छोराको भूमिकामा बाल कलाकार स्वयम् केसी अन्य ग्रामीण बालकहरू झैं निर्दोष देखिएका छन् । उनले बोल्ने संवादले दर्शकलाई भित्रैसम्म छुन्छ । जस्तो उनी बुबा पूर्णबहादुरलाई सोध्छन्– ‘बा, तिम्लाई किन सबले हेप्छन् ?’ छोरालाई उत्तर दिन नसकेका पूर्णबहादुरको भक्कानो फुट्छ रुखको छहारीमुनि, छोराबाट लुकेर । उनका यस्ता अन्य संवाद पनि छन्, जसले दर्शकलाई हुरुक्कै बनाउँछन् । छोरालाई सानोमै छाडेर गएकी आमाको प्रसंग निकाल्दा होस् वा स्कुल जाने विषयमा वा उसले नयाँ ड्रेस लगाउने रहर गर्दा होस् स्वयम्को भूमिकाले दर्शकका आँखा बेलाबेला भिज्छन् ।
बागलुङको गाउँको परिवेश, त्यहाँको समाज व्यवस्था, रहनसहन, अझ गहिरो गरी दलितहरूको जीवनस्तर तथा विभेदको कथा प्रस्ट रूपमा बोल्न सफल भएको छ फिल्म । जुहारी गाउने प्रचलन, केटी भगाउने चलन, रुढिबादी परम्परा, अशिक्षा, गरिबी, अज्ञानता, सोझोपनमा रुमल्लिएर बाँचेका दलितहरू लगायतका अति यथार्थ र संवेदनशील मुद्दाहरू फिल्मले उठान गरेको छ । फिल्ममा प्रयोग भएका गीतका शब्दहरू समयानुकूल र वेदनाका कथा अर्थात् गन्धर्वहरूले गाउँदै आइरहेका मर्मस्पर्शी गाथाहरूको शैलीमै प्रयोग भएको छ । तर, सारङ्गीको कथामा आधारित फिल्ममा सारङ्गीको मात्रै धुन बजाइएको र तिनकै शैलीको गीत गाइएको भए अझै फिल्मको शीर्षक सार्थक हुन सक्थ्यो । कान्तिपुरबसाभार
Discussion about this post