प्रभु बैंकका डेपुटी सीईओ मणिराम पोखरेलले कमिसनको चक्करमा उदाउँदै गरेका एक उद्यमीलाई टाट पल्टाएर पावरको आडमा प्रहरी हिरासतसम्म पुर्याएका छन्।
उद्यमशिलता विकासका लागि बैंक तथा वित्तीय सँस्थाले विभिन्न किसिमका सहुलियत पूर्ण कर्जा योजना ल्याएका हुन्छन्। तर प्रभु बैंकका सम्बन्धमा भने चर्को ब्याजदर र कर्जा मिलाई दिएवापत उल्टै कमिसन बुझाउनुपर्ने हुँदा ऋणीहरु थप मर्कामा पर्ने गरेका गुनासो छ्य्यापछ्याप्ती भेटिन्छन्।
यस्तो छ घटनाको नालीबेली
बैंक तथा वित्तीय सँस्थाका उच्च ओहोदामा बस्ने बरिष्ट कर्मचारीको खराव नियतका कारण उद्यमी कसरी सडकमा पुग्छन् भन्ने बुझ्न माधवकुमार गौतम र उनकी श्रीमती अनुले भोगेका पीडालाई नजिकबाट नियाले पुग्छ।
चितवनका एक युवा उद्यमी माधव कुमार गौतम नेपालमै केहि गर्ने सपना बोकेर काठजन्य वस्तुको उत्पादन व्यवसाय सुरु गर्छन्। सुरुसुरुमा यो व्यवसाय राम्रै चल्यो तर कोरोना महामारी, विश्वव्यापी रुपमा अर्थतन्त्रमा देखिएको संकट आदिको असर यस क्षेत्रमा पनि पर्यो। आफुँसँगको सीमित लगानीले व्यवसाय फस्टाउन नसक्ने देखेपछि माधव थप लगानी गर्ने र व्यवासाय बढाउने निर्णयमा पुग्छन्। आर्थिक मन्दीका समयमा उनीसँग बैंक तथा वित्तीय सँस्थाबाट ऋण लिनुको विकल्प थिएन।
यसै, क्रममा चितवनकै एकनारायण देवकोटा मार्फत् प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसँग भेट भएको उनी बताउँछन्। देवकोटा पोखरेलसँग तत्कालिन हिमचुली विकास बैंकका काम गर्थे। उनका अनुसार पोखरेलले कर्जा रकमको ८ प्रतिशत कमिसन दिने/ लिने सर्तमा प्रभु बैंकबाट कर्जा लिन सुझाउँछन्। कुराकानीकै सिलसिलामा पोखरेलले महिलाका नाममा कर्जा लिए सहुलियत मिल्ने र ब्याजदर पनि कम पर्ने हुँदा महिलाका नाममा अलि ठूलो कर्जा लिन भन्छन्।
बैंकका हाकिमले नै भनेपछि माधवले टिम्बर ग्रुप अफ इन्डस्ट्री प्रा.लि की महिला कर्मचारी रुवी खतिवडाका नाममा २०७६ असोज २ गते फर्निचर उत्पादन तथा बिक्री वितरणको उदेश्य राखी बसुन्धरा -३ मा टिम्बर ट्रेड लिंक दर्ता गर्छन् र आँफैले बसुन्धरामा शोरुम खोल्छन्। त्यसपछि उनी प्रभु बैंकबाट कर्जा लिने प्रक्रियामा लाग्छन्।
सुरुमा माधवले २ करोडको कर्जा लिने निर्णय गर्छन्। जसका लागि सो भन्दा बढी रकम बराबरको धितो चाहिने हुँदा उनले अफ्ठ्यारोमा परेका एक साथीसँग सल्लाह गरी केहि रकम उसलाई चलाउन दिने गरी कर्मचारी रुबी खतिवडाका नाममा जग्गा नामसारी गर्छन् र बैंकबाट कर्जा लिन्छन्।
२०७७ साल मङ्सिर १० गते माधवले कर्जा कर्मचारी खतिवडाका नाम पास गर्छन्। जसमा टर्म लोन २ करोड १९ लाख, ओभर ड्राफ्ट लोन १ करोड, एलसी १ करोड, सर्ट टर्म लोन ८० लाख र ३ लाख बैंक ग्यारेन्टीसमेत पास हुन्छ। पोखरेलले बैंककै कर्मचारीहरुलाई समेत झुक्याएर अर्कै कम्पनी भिजिट गराएर सोहि कम्पनीको डकुमेन्ट देखाएर कर्जा दिएको बैंक स्रोत बताउँछ।
अचम्मको कुरा त के छ भने झन्डै ५ करोड बराबरको कर्जाको लागि चाहिने धितो (जग्गा) को भ्यालुयसन भने जम्मा १ करोड ८७ लाख ५३ हजार मात्रै गरिएको छ। जसमा मुकुन्द प्रसाद लामिछानेले कर्जाका सम्पूर्ण शर्तबन्देजमा मेरो स्वतन्त्र मन्जुरी छ भनी हस्ताक्षर गरेका छन्।
त्यस्तै, कर्जा रकम व्यवस्थापन गर्न भर्खर मात्रै खुलेको अर्थात् एक बर्ष पनि नपुगेको कम्पनीको सेल्स ६ करोड देखाईएको छ। कर्जालाई खाम्न ८ करोड बराबरको स्टक राख्नुपर्ने हुँदा कर्जा फाईलमा सो समेत अन्य कम्पनीको राखिएको बैंक स्रोतले जनाएको छ।
त्यसैगरी, कम्पनीका नामामा पास भएको कर्जा कम्पनीमा नगई व्यक्तिका नाममा प्रवाह गरिएको छ। जसमध्य मिन बहादुर हेजुका नाममा १ करोड १४ लाख रुपैयाँ र बाँकी रुबी खतिवडा, प्रसाद क्षेत्री र बिचौलिया एकनारायणकी श्रीमती गीता देवकोटाको नाममा निकालेर कर्जाको दुरुपयोग भएको छ। यस्तो कार्य बैंकका कर्मचारीको मिलेमतो बिना सम्भव नहुने बैंकरहरु बताउँछन्। तर एकनारायणले भने आफ्नो श्रीमतीको नाममा निकालिएको रकम टिम्बर ग्रुप अफ इन्डस्ट्री प्रा.लिबाट लिनुपर्ने रकम भएको र अझै चेक साट्न बाँकी रहेको बताएका छन्।
त्यस्तै, प्रभु बैंकबाट माधवकी श्रीमती अनु भट्टराई का नाममा ४६६०४४….३०५७ नम्बरको केडिट कार्ड जारी गरी २०२१-६-०५ गते ओलीज स्टोर प्रालिका नाममा २ लाख रुपैयाँ, २०२१-०६-०६ गते शान्ती गेस्ट हाउसका नाममा ३० हजार रुपैयाँ, २०२१-०८-०६ मा बीबीएसएम कलंकीका नाममा ७५८५, मेटा स्टोर प्रालिका नाममा २०२१-०९-०६ गते ७९७० रुपैयाँ र विभिन्न समयमा गरी २९७ हजार ३४०.०१ रुपैयाँ तिरेको देखिन्छ। यधपी ब्लाक लिष्ट राखिएकी अनुको नाममा क्रेडिट कार्ड कसरी जारी भयो यो भने आम चासोको बिषय बनेको छ। यता अनु भने क्रेडिट कार्ड जारी गरी पोखरेलले नै चलाएको र यसबाट अईफोन समेत किनेको बताउँछिन्।
कर्मचारीका नाममा कम्पनी खडा गरी मागेको जग्गा समेत उनकै नाममा नामसारी गरेर प्रभु बैंकबाट कर्जा लिएका माधवको दशा त्यसपछि सुरु भएको उनको गुनासो छ। माधवकी श्रीमती गृहिणी हुन्। कम्पनी उनका नामका रहेपनि व्यवसाय माधवले हेर्ने गर्छन्। माधवले कार्यालयमा विश्वास गरी कर्मचारी खतिवडालाई अकाउन्ट नै हेर्ने जिम्मा दिएका थिए। सोहि अनुसार माधवकी श्रीमती अनु भट्टराईले कारोबारको सम्पूर्ण जिम्मा खतिवडालाई सुम्पेकी थिइन्। आवश्यक पर्दा आँफू उपस्थित हुन नसक्ने भएकाले उनले बैंकको खाली चेकबुक नै हस्ताक्षर गरेर खतिवडाको विश्वासमा छोड्ने गर्थिन्।
विश्वास पात्रबाटै यति ठूलो विश्वासघात हुन्छ भन्ने कल्पनासम्म गरेकी थिइन, उनी भन्छिन्। बैंकबाट कर्जा लिएको केहि समयपछि विश्वास गरेर भेन्डरलाई तिर्न भनी हस्ताक्षर गरेको खाली चेकबुक दुरुपयोग भएको तथ्य बाहिरिन्छ। उनले नक्कली भेन्डर खडा गरेर आफ्ना आफन्त (देवर) का नाममा दिएका प्रभु बैंकका चेक बाउन्स हुन थाल्छन् र माधव सहित उनकी श्रीमतीसमेत ब्लाक लिष्टमा पर्छन्। जसको सम्पूर्ण जानकारी हुँदाहुँदै पनि पोखरेलले बिना निवेदन चेक बाउन्स गरी ब्लाक लिष्ट सिफारिस गरेको अनुको गुनासो छ। साथै, लेनदेन बिनानै खतिवडाले चेक दिएका एकले सामजिक एवं पारिवारिक बद्नामी हुने देखेपछि मुद्दा फिर्ता लिएर चेक बाउन्स हटाउन निवेदन दिंदा समेत सुनुवाई नभएको अनु बताउँछिन्।
अब माधव र उनकी श्रीमतीसँग मर्नु सिवाय अरु विकल्प थिएन। चलिरहेको अर्बौंको व्यवसाय तहसनहस भएको छ। बैंक खाता सबै रोक्का गरिएको छ। सोहि कारण अहिले पनि उनीहरु ब्ल्याक लिष्टमै छन्। माधव भन्छन्- ‘मर्नुभन्दा बहुलाउनु निको भन्दै हिम्मत बटुलेर विश्वास गर्ने केहि व्यक्तिको नामबाट कारोबार गरिरहेका छौँ।’
पोखरेलको खेल यतिमै सकिंदैन्। माधव दम्पतीको अप्ठ्यारो अवस्थाको फाईदा उठाउँदै डेपुटी सीईओ पोखरेलले पुन: बिचौलिया एकानारायणलाई टिम्बर ग्रुप अफ इन्डस्ट्री प्रा.लिको सीईओ बनाउन प्रस्ताव गर्छन्। उनकै सल्लाहमा यहाँसम्म पुगेका गौतम दम्पतीले केहि राहत हुने अपेक्षासहित उनको प्रस्ताव स्वीकार गर्छन् र एकानारायणलाई सीईओ नियुक्त गर्छन्। तर उनले माधवलाई नै पाखा लगाएर सम्पूर्ण कारोबार आफ्नै मनोमानी ढंगबाट गर्न थालेपछि पोखरेल टिम्बर ग्रुपको ब्रान्ड हत्याउने योजनामा अघि बढिरहेको भन्ने थाह पाएको माधवको दावी छ।
डेपुटी सीईओ पोखरेलको मनोमानीका कारण आँफूहरुलाई बाँच्न गाह्रो भएपछि गुहार माग्दै सांकेतिक भाषामा सामाजिक संजाल फेसबुकमा लेखेकै भरमा साइबर अपराधको मुद्दा लगाएर हिरासत पुर्याएको गौतम बताउँछन्। उनी भन्छन्- ‘बैंकका कर्मचारी निकै पावरफुल हुने रैछन्, कानूनी राज्यमै ममाथि अन्यया भयो, अब मलाई कसले न्याय दिन्छ।’ उनी अहिले पनि साइबर अपराधको मुद्दा खेपिरहेका छन्। उनलाई यस बिषयमा अब कतै गुनासो नगर्ने र गरेमा कारबाही हुने भनी प्रहरी परिसरमै कागज गराएका छन्।
यता, नयाँ कम्पनी खडा गरी प्रभु बैंकबाट प्रवाह भएको कर्जा बढेको बढ्यै छ भने कर्जाको ब्याज तिर्नकै लागि रुवीका नजिकका व्यक्तिका विभिन्न प्राईभेट कम्पनीमा कर्जा प्रवाह गरिएको बैंक स्रोतको भनाई छ। जसमा टिम्बर ट्रेड लिंकले कम्पनी समस्यामा परेको कारण देखाउँदै पटक-पटक कर्जा नविकरण गरिपाऊँ भन्दै निवेदन दिएको देखिन्छ। त्यस्तै कर्जा लिँदा पेश गरिएका कागजात र हाल बैंकमा भएका कागजात नमिल्ने बैंक स्रोतले जनाएको छ।
यो बिषयसँग बैंकका सिइिओ अशोक शेरचन जानकार छन् तर उनी समेत मौनरहनुले उनको भूमिकामाथि समेत प्रश्न चिन्ह खडा भएको छ। यस विषयमा हामीले डेपुटी सीईओ पोखरेललाई प्रश्न गरेका छौँ, उनी भन्छन् – ‘यो सबै मैले नै गरेको भन्ने के प्रमाण छ ? उनीहरुले मलाई दुख: दिएका हुन्, मैले हैन। यसमा मेरो कुनै संलग्नता छैन।’
यता, टिम्बर ग्रुप अफ इन्डस्ट्री प्रा.लि की कर्मचारी खतिवडाले आँफू कर्मचारी नभई माधव आफ्नो कर्मचारी भएको दावी गरेकी छन्। उनले डेपुटी सीईओ पोखरेलका गलत क्रियाकलापका बारेमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि पत्रकार सम्मेलन गर्दै भनेकी छन्, – ‘माधवकुमार गौतम मेरो कम्पनीमा फाईनान्स हेर्ने कर्मचारी थिए। उनले मेरो विश्वासमाथि कुठाराघात गरिरहेका छन्।’ उनले गौतमले संचालन गरिरहेको सिनामंगलको शोरुम समेत आफ्नो भएको बताएकी छन्। यस बिषयमा थप बुझ्न हामीले खतिवडालाई पटक- पटक सम्पर्क गर्यौं तर उनी सम्पर्कमा आउन चाहिनन्।
तर, टिम्बर ग्रुप अफ इन्डस्ट्री प्रा.लि २०७६ साल साउन ५ गते नै अनु भट्टराईका नाममा दर्ता भई संचालन भएको छ भने टिम्बर ट्रेड लिंक रुवी खतिवडाका नाममा २०७६ असोज २ गते मात्रै अर्थात् त्यसको २ महिनापछि दर्ता गरिएको छ। त्यसमा पनि टिम्बर ग्रुप अफ इन्डस्ट्रीकै लोगो राखी दर्ता भएको छ भने केहि समय अघिमात्रै परिवर्तन गरिएको छ। यसबाट पनि यो कम्पनी माधवलेनै दर्ता गरेको र माधव नभई रुवी टिम्बर ग्रुपकी कर्मचारी थिइन् भन्ने प्रष्ट देखिन्छ। अनलाइनपानाबाट
Discussion about this post