कोशी प्रदेशमा एमाले र कांग्रेसको संयन्त्र गठन

सरकार सञ्चालनको लागि सहयोग गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय संयन्त्र बनेको छ ।

संयन्त्रको पहिलो बैठक मंगलबार सम्पन्न भई विभिन्न निर्णय समेत भएका नेकपा (एमाले) का कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिए । एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालै पालो गर्ने निर्णय गरेको हो ।

बैठकले संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । संयन्त्रमा नेकपा एमालेको तर्फबाट राई सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री केदारबहादुर कार्की तथा नेपाली कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा संयन्त्रमा रहेका छन् ।

बैठकले प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय गरेको छ । साथै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरूसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्सिर १४ गते शुक्रवार विराटनगरमा छलफलको आयोजना गरिने भएको छ ।

कोशी प्रदेशको दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरूपता साथ प्रभावकारी ढङ्गले अगाडी बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरूको संयुक्त बैठक तथा छलफलको मङ्सिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array