_________________________
नेपाल ट्रेड युनियन कांग्रेस झापा जिल्ला समितिको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ। शनिबार बिर्तामोडमा सम्पन्न परिषदमा ट्रेड युनियनलाई आन्दोलनको रूपमा स्थापित गर्ने बक्ताहरुले धारणा राखेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको प्रमुख आतिथ्य र नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र जङ्ग कार्कीको विशेष आतिथ्य रहेको कार्यक्रममा ट्रेड युनियन कांग्रेस आवद्ध जिल्लाका मजदुरहरूको उपस्थिति रहेकोथियो ।
परिषदलाई सम्बोधन गर्दै प्रमुख अतिथि थेवेले शुभेच्छुक संस्थाहरु सबल र सक्षम भए मात्र कांग्रेस बलियो हुने भएकोले कांग्रेसले ट्रेड युनियनलाई बलियो बनाउने धारणा राखेका थिए।
मजदुरहरुले आफ्ना काम, कर्तव्य र अधिकारका बारेमा सचेत हुँदै सँगठनभित्रका झिना मसिना विवादलाई आपसी समझदारीबाट टुंग्याउनु पर्ने विचार व्यक्त गरे।
अर्का वक्ता विशेष अतिथि कार्कीले समाजमा राजनीतिप्रति वितृष्णा बढ्दै गाएको बर्तमान अवस्थामा युवापुस्तालाई अघि सार्नुपर्ने धारणा राखेका थिए । राजनीति कमजोर हुँदा ट्रेड युनियन आन्दोलन पनि कमजोर हुने भएकोले राजनीतिलाई बलियो बनाउन युवाहरुको खाँचो औंल्याएका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ने.का. जिल्ला सचिव कृष्ण हुमागाईं, नेपाल चिया बगान मजदुर संघका अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय महासचिव अजय राई, नेका बिर्तामोड नगर उपाध्यक्ष सूर्य कन्दङवा, ट्रेड युनियन कांग्रेसकी अर्चना बस्नेत, उर्मिला पोखरेल, गङ्गा ओडारी, शिक्षक संघका तोयानाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कृष्णमाया पनेरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन खड्काको रहेको नेका जिल्ला सदस्य रश्मिशेखर सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *