मेचीनगर: अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचयपत्र वितरण प्रभावकारी बन्दै गएको पाइएको छ।
आज मेचीनगरको वडा नम्बर ८ वडा कार्यालयमा सुरु भएको कार्यक्रममा समेत भएका व्यक्तिहरूको र सेवा सुस्त र उत्कृष्ट देखिएको नगर प्रमुख गोपाल बुढाथोकीले पूर्व खबरलाई जानकारी दिनुभएको छ।
मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आइतबार सम्म ७ वटा वडामा सम्पन्न भएको छ ।
पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक – एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६ र ७ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ८ वटा वडामा कार्यक्रम बाँकी छ ।
हालसम्म करिव एक हजार जनाले सो सेवा लिइसकेका छन् । वडा नम्बर ७ मा अपाङ्गता भएका २०३ जना व्यक्तिहरु मध्ये १४८ जनाले स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र लिएको वडाध्यक्ष प्रल्हादमणी ओलीले जानकारी दिए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको अभियानको आठौं दिन सोमबार मेचीनगर ८ नम्बर वडा कार्यालयमा उक्त अभियान रहेको छ ।