झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा पाँच महिनाको अवधिमै निमार्ण सम्पन्न भएको झोलुङ्गे पुलको यही पुस २५ गते उदघाटन हुने भएको छ ।
झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको यो झोलुङ्गे पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो ।
यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिनुभयो ।
बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न निर्माण गरिएको चार सय ७७ मिटर लामो डी आकारको यो पुल कोशी प्रदेशकै लामो झोलुङ्गे पुल हो ।
स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले सङ्घीय सरकारको पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गरेकाले पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताउनुभयो । अहिले पुलको वडा नं ७ तर्फको किनारामाचार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ ।
काठमाडौँको थानी÷जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा उल्लेख गरिएको छ setooatrabata