निर्माण व्यवसायी संघ झापा जिल्ला समितिको अध्यक्षमा दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व रमेश अधिकारी निर्वाचित भएका छन् ।
संघको १६ औं अधिवेशन अन्तर्गत मंगलबार (आज) विर्तामोडमा सम्पन्न निर्वाचनबाट मैनाचुली निर्माण सेवाका सञ्चालक दमक ५ निवासी अधिकारी १६३ मत ल्याएर अध्यक्षम निर्वाचित भएका हुन् ।
अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य पनि हुन् । अधिकारीसँग अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
अधिकारीलाई दमक उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघको अध्यक्षका लागि साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै उम्मेदवार प्रमोशन कार्यक्रम समेत गरेको थियो ।
त्यसैगरी संघको सहकोषाध्यक्षमा शनिश्चरेका सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । उनले १०४ मत ल्याएर सो पदमा निर्वाचन जितेका हुन भने उनका निकटतम प्रतिस्पर्धी केर्खाका एंगल गुरुङले ९९ मत ल्याएका छन् ।
संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्धितीय उपाध्यक्षमा राजकुमार राई,तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा यज्ञनिधी भुर्तेल यसअघि निर्विरोध निर्वाचित भएका थिए ।