राजकुमार ओली
बिर्तामोड झापा
१२ वर्षीय बालिकालाई स्काइभेटरमा लगेर अनैतिक कार्य गर्न खोज्ने ठेकेदार कम्पनीका कर्मचारी पक्राउ परेका छन्।
झापाको मेचीनगर ९ कि एक बालिकालाई राति ११ बजे बोकेर स्काईभेटरमा लगी अनैतिक कार्य गर्न खोज्ने ठेकेदारका कर्मचारी पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालयका काकरभिट्टाले धुलाबारी प्रहरी कार्यालय का प्रहरीको सहयोगमा ठेकेदार कम्पनीको मजदुर बस्ने क्वाटरबाट पक्राउ गरेको हो ।
मेचीनगर वडा नं. ९ मा वालिकालाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका इस्काभेटर चालक एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको सडकमा कार्यरत रहेको थाहा भएको छ ।
स्रोतका अनुसार विहीवार राति ११ बजे खुट्टिडाँगी सडक किनारमा पार्किङ गरेर राखिएको इस्काभेटरबाट अभिभावकहरुले १२ वर्षीया वालिकालाई उद्धार गरेका थिए ।
राति पिसाब फेर्न कोठाबाट बाहिर निस्किएकी वालिका अचानक हराएपछि अभिभावकहरु खोज्दै सडकतिर जाँदा इस्काभेटरको चालक सिटमा डरले काम्दै बसेको अवस्थामा वालिकालाई भेटेका थिए ।
स्रोतका अनुसार अभिभावकहरु खोज्दै आएपछि इस्काभेटरका चालक वालिकालाई गाडीमै छाडेर भागेका थिए । वालिकाले आफुलाई बोकेर इस्काभेटरमा पुर्याइएको प्रारम्भिक बयान दिएको स्रोतले जनाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा मेचीनगर वडा नं. ९ मा हाल सडक निर्माण भइरहेको छ । उक्त सडकको निर्माण ठेक्का भारतीय (पटना) कम्पनीले पाएको छ । तर मूल ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले कामको खुद्रा ठेक्का लिएका छन् ।
हाल इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका इस्काभेटर चालक झापा वाहिरको भएको बुझिएको छ ।
घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली अभियुक्तलाई नियन्त्रणमा लिन खुट्टिडाँगीस्थित निर्माण मजदूरहरु भाडामा बस्दै आएको घरमै पुगेको थियो ।
प्रहरीले वालिका र आरोपित इस्काभेटर चालक दुबैको स्वास्थ्य परीक्षण समेत गरिसकेको बुझिएको छ ।
स्थानीयबासीले घटना भित्रभित्रै मिलाउन प्रयास हुनसक्ने जनाउँदै घटनाको भरपर्दो अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कडा सजाय दिलाउनु पर्ने माग गरेका छन् ।
सडक निर्माणमा अपरिचित एवम् बाहिरिया कामदारहरुको संख्या ठूलो रहने गरेका कारण उनीहरुबाट स्थानीय वालिकाहरु असुरक्षित हुने अवस्था आउनुलाई स्थानीय पालिका र प्रशासनले समेत गम्भीर रुपमा लिनु पर्ने स्थानीयबासी बताउँछन् ।
प्रहरीको आधिकारिक निकायबाट भने ‘घटना थाहा नभएको’ स्थानीय पत्रकारहरुलाई बताउने गरिएको छ ।