उपचार पछि घर फर्किए मुख्यमन्त्री थापा-

बिर्तामोड झापा।
आक्रमणबाट घाइते भएका पूर्व मुख्यमन्त्री उद्धव थापा उपचारपछि निजि निवास फर्किनुभएको छ।
गत शनिबार झापाको सुरुङ्गामा आक्रमणकारीको आक्रमणबाट सक्त घाइते भएका मुख्यमन्त्री थापा को आँखामा गम्भीर चोट लागेको र अवस्था सामान्य भएपछि निजी निवास फर्किनुभएको हो।
झापाको कनकाई १ स्थित जुकेकल्भर्ट आसपासको सडक खण्डमा रहेको डाइभर्सनमा केही व्यक्तिबाट आक्रमणको घटनामा परेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा उपचारपछि हाल आफ्नै निवासमा फर्किनुभएको थापाका सहयोगी एवं नेपाली कांग्रेसका झापाका सचिव कृष्ण हुमागाईंले पूर्व खबरलाई जानकारी दिनुभयो।

पूर्वमुख्यमन्त्री थापाको आँखा र निधारमा चोट लागेको थियो । रगत लतपतिएको अवस्थामा थापालाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याइएको थियो । हाल उपचारपछि थापा आफ्नै निवास फर्किएका हुन् । नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका थापामाथि शनिवार साँझ भएको आक्रमणको घटना चालकको उत्तेजक व्यवहारका कारण भएको अनुमान गरिएको छ ।

नेपाल प्रेस युनियन झापाले पर्यटकीय क्षेत्र दोमुखामा सम्पन्न गरेको साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई घर फर्किने क्रममा थापा आक्रमणमा परेका थिए । आक्रमणमा नेपाल विद्युत प्राधिकरण सुरुङ्गाको गाडीका चालक समेत संलग्न थिए । चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरी कानूनी कार्वाही सुरु गरेको बताइएको छ ।

समय साँझको साढे छ बजेको थियो । सडकमा अँध्यारो छाउन थालिसकेका कारण गाडीहरुले लाइट बाल्न थालिसकेका थिए । पूर्वमुख्यमन्त्री थापा बा १ झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदैथिए । थापालाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा. १ झ. १८७० नम्बरको गाडीमा चढेका थिए ।
जुकेकल्भर्ट नजिकको डाइभर्सनमा पुग्दा पूर्वमुख्यमन्त्री सवार गाडीको पछाडि थियो प्राधिकरणको गाडी । दुबै गाडीको अगाडि थियो एउटा ट्रक ।

भीइआइपी सवार गाडीले ट्रकलाई उछिनेर जान खोज्दा प्राधिकरणको गाडीले समेत ओभरटेक गरेर जान खोजेको थियो । त्यही क्रममा प्राधिकरणको गाडीसँग थापा सवार गाडी आपसमा ठोक्किएला झै गरी आमनेसामने भएका थिए ।

दुबै गाडी रोकिएपछि चालकबीच विवाद सुरु भएको थियो । सुरुमा प्राधिकरणका चालकले मुख छाडेका थिए । थापा सवार गाडीको चालकले भीआइपी गाडी भएको कारण अगाडि जान चाहेको प्रष्टिकरण दिएका थिए । थापासँगै गाडीमा रहेका पीएसओ (सुरक्षाकर्मी)ले पनि प्राधिकरणका गाडी चालकको व्यवहारप्रति आपत्ति जनाएका थिए ।

घटना त्यत्तिमै सीमित भएन । प्राधिकरणको गाडी चालकले दलबलसहित मुख छाडेपछि पूर्वमुख्यमन्त्री थापा विवाद मिलाउन आफ्नो गाडीबाट उत्रिएका थिए । चिनेपछि विवाद मिल्ला भनेर थापा प्राधिकरणको चालक भएठाउँमा गए । थापाले ‘किन यसो गरेको भाइ’ भन्न मात्रै भ्याएका थिए –प्राधिकरणका चालकले उत्तेजनामा आएर थापामाथि मुक्का हाने । थापा घाइते भए । प्राधिकरणको गाडीमा चढेका अरु व्यक्ति पनि थापामाथि जाइलागे ।

थापाको पीएसओको भूमिका कमजोर

सरकारले भीआइपी सुविधा प्राप्त पूर्वमुख्यमन्त्री थापाको बडीगार्डको रुपमा सरकारी सुरक्षाकर्मी (पीएसओ) खटाएको हुन्छ । घटनाका बेला पीएसओ गाडीमै थिए ।
घटना सामान्य कारणले भएको छ भने घटना सुनियोजित पनि होइन । तर आकस्मिक कुनै पनि घटनाका लागि तयारी हालतमा रहनु पर्ने थापाका पीएसओको भूमिका यसपाली कमजोर देखियो ।

पीएसओले हरपल भीआइपीको सुरक्षामा ध्यान दिनु पर्ने जिम्मेवारी हुन्छ । तालिम प्राप्त सुरक्षाकर्मी भएको हुँदा उनले जस्तोसुकै घटना भइहालेमा त्यसको प्रभावबाट भीआइपीलाई जोगाउनु वा सुरक्षित राख्नु पहिलो दायित्व हो ।

पहिलो कुरा, थापाका पीएसओले पूर्वमुख्यमन्त्री थापालाई गाडीबाट ओर्लनु पर्ने अवस्था नै आउन दिनु हुँदैनथ्यो । विवाद भएमा पीएसओले समस्याको आँकलन गरी आफैले समाधान गर्ने वा जटिल परिस्थिति उत्पन्न भएको आफुलाई लागेमा थप सुरक्षाकर्मी मगाउनु पर्ने हो ।

थापाका पीएसओले प्राधिकरणका चालक उत्तेजक अवस्थामा छन् भन्ने जान्दाजान्दै थापालाई नजिक जानबाट रोक्नु पथ्र्यो । कुनै पनि भीआइपी गाडीमा चालकको छेउको अगाडिको सिटमा पीएसओ बस्ने प्रचलन यस्तै आइपर्ने सुरक्षा चुनौतिको सामना गर्नका लागि हो ।

दोसो कुरा, भीइआपीको सवारी प्राय अरु गाडीलाई उछिनेर अगाडि बढाउने गरिन्छ । तर सुरक्षाको दृष्टिले पछाडि नै बस्दा उचित हुन्छ भन्ने लाग्यो भने पीएसओले गाडीलाई ओभरटेक नगर्न निर्देशन दिन सक्छन् ।

थापाका पीएसओ यस घटनामा सुरक्षा कोणबाट निर्णायक देखिएनन् । प्रधानमन्त्री र राष्ट्रपति जस्ता भीभीआइपीहरुको सवारीका बेला पनि बडिगार्डले सुरक्षा कोणबाट दिएको इशारालाई पछ्याएको पाइन्छ ।

पूर्वमुख्यमन्त्री थापाको गाडी डाइभर्सन रहेको स्थानमा केहीबेर पछाडि नै रहँदा पनि खासै केही बिग्रने थिएन । यदि प्राधिकरणको गाडीलाई ओभरटेक गर्न दिएकै भए तापनि घटना हुने थिएन । यो विषयमा निर्णय लिन थापाका पीएसओ चुकेका छन् ।online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array