सैनिकमोडका होटलमा भेटिए अखाद्य वस्तु

बिर्तामोड–३ स्थित सैनिक मोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ ।

खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराउने उद्देश्यले आज पसल तथा होटलको अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको अगुवाईमा बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ झापा, अस्थायी प्रहरी चौकी बिर्ता बजारसहित सरोकारवाला निकायको समन्वयमा आइतबार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा केही होटल, रेष्टुरेन्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टा लगायत म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र वस्तीले जानकारी दिए ।

होटलहरुमा प्रयोग गरिरहेको खाने तेल परीक्षण गर्दा अखाद्य भेटिएको बताए । सैनिक मोड आसपास क्षेत्रका होटलहरुमा तेलमा तारेर बनाइने खानेकुराहरु प्रयोग गर्ने तेलमा गुणस्तरको मात्रा नै नभएको अर्थात् अखाद्य भेटिएको उनको भनाई छ ।

त्यस्तै होटल, रेष्टुरेन्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको ¥याकमा बिक्री गर्न राखेको, मूल्यसूची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको र त्यस्ता कमजोरीलाई सुधार गर्न निर्देशन दिइएको बिर्तामोड नगरपालिकाका अधिकृत पदमराज घिमिरेले बताए ।

होटलहरू सफाइका हिसाबमा अझै सुधार हुन नसकेको अनुगमनका क्रममा देखिएको थियो । अनुगमनमा अधिकांश होटलहरूका भान्सा फोहोर भेटिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

त्यस्ता होटललाई सुधारका लागि आग्रह गरिएको छ । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भिर बन्न होटल सञ्चालकलाई अनुगमन समितिले आग्रह गरेको थियो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका बस्तु टोलीले नष्ट गरेको छ । बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौला अनुगमन समितिको संयोजक रहने गरी सरोकारवाला सहितको बिर्तामोडमा यसअघि नै अनुगमन समिति गठन गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array