। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व.डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८१ बाट झापाका पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ ।
अग्रज पत्रकार स्व.डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यस पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बाले जानकारी दिइन् ।
दमकलाई कर्मथलो बनाई विगत अढाई दशकदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) दमक सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारिसमा निर्णय गरिएको उनले बताइन् ।
पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । उक्त पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार–२०८१ बाट बिर्तामोड स्थित सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले बताए ।
उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही ५÷५ हजार रूपैयाँ रहेको छ ।
फोनिज झापाको माघ १४ गतेको निर्णयले स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि समितिले छनोट गरेको नाम अनुमोदन र उदीयमान पत्रकारिता पुरस्कारका लागि २ जना प्रतिभा छनोट गरेको उनले बताए ।
तीन वटै पुरस्कार यही माघ १९ गते बिर्तामोडमा फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।