अदुवा प्रशोधन केन्द्र लथालिङ्ग_दाताको करोडौँ लगानी जोखिममा

करोडौँ लगानी गरेर निर्माण गरिएको अदुवा प्रशोधन केन्द्र यतिखेर भताभुङ्ग अवस्थामा देखिएको छ।
सञ्चालक स्थानीय सरकार र व्यवसायीहरूको तालमेल नमिल्दा दाताको सहयोग लिएर निर्माण गरिएको करोडौं मूल्यको भवन समेत प्रयोगविहीन भएको पाइएको हो।
झापाको धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएर बन्द भएपछि करोडौँ लगानी जोखिममा परेको र सरकारवाला किसानहरू समेत बिचल्ली भएको पाइएको हो।

अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रवर्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र भारतीय सिन्डिकेटका कारण बन्द भएको व्यवसायीले बताएका छन् ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्र (परियोजना) का लागि विश्व व्यापार संगठनले ११ लाख ७३ हजार ६९४ डलर खर्च गरेको थियो ।

भारतीय व्यापारीको सिन्डिकेटको कारण प्रशोधन केन्द्र नचलेको उद्योगी नरेन्द्र खड्काले जानकारी दिए । कुनै बेला सो उद्योग खड्काले सञ्चालन गरेका थिए ।

भारतको क्वारेन्टाइनले माटो भएको अदुवा जान नदिनु, कलकत्तामा ल्याब टेस्ट गरेर मात्रै लैजान दिन थाल्नु नै प्रशोधन केन्द्र बन्द हुनुको मुख्य कारण रहेको खड्काले बताए ।

सरकारकै असहयोगको कारण प्रशोधन उद्योग नचलेको खड्का दाबी गर्छन् । अझै पनि उक्त उद्योग सञ्चालनका लागि सरकारी निकायहरूसँग सहयोगको माग गरिरहेको उनले बताए ।

झापाका कृषकलाई अदुवा उत्पादनमा सहभागी गराई स्वावलम्बी बनाउने अवधारणाअनुसार केन्द्र बनेको थियो । परियोजनाअन्तर्गत किसानले उन्नत जातको बीउबिजन प्रयोग गरी अत्याधुनिक प्रविधिबाट अदुवा उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।

झापाको साविक खुदुनाबारी, डाँगीबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, मेचीनगर र पृथ्वीनगरमा कपुरकोटे, वोसे, जिरे, मकवानपुरे र स्थानीय जातको अदुवाखेती हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array