कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सबैभन्दा बढी हरियो खुर्सानीको मूल्य बढेको छ । दुई सातामा खुर्सानी हरियोको भाउ १५६.४२ प्रतिशतले बढेर बिहीबार प्रतिकिलो १ सय ६६.६७ रुपैयाँ पुगेको छ । हरियो धनिया ८८.२३ प्रतिशतले बढेर प्रतिकिलो ४ सय २६.६७ रुपैयाँ पुगेको छ ।
दुई सातामा गोलभेंडा सानो (लोकल) को भाउ प्रतिकिलो ५६.७४ प्रतिशतले बढेर बिहीबार ३५ रुपैयाँ पुगेको छ । समितिका अनुसार गत साउन २४ मा सानो गोलभेंडाको मूल्य प्रतिकिलो २२.३३ रुपैयाँ थियो ।
‘वर्षाका कारण गोलभेंडाको मूल्य बढेको हो । उपत्यका र आसपासबाट बाहेक गोलभेंडा कालिमाटी बजारमा भित्रिएको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘भारतबाट पनि आयात भएको छैन, त्यही भएर मूल्य बढेको हो ।’ टनेलको गोलभेंडाको मूल्य पनि प्रतिकिलो ३१.७५ बाट बढेर ५१.५० रुपैयाँ पुगेको छ । अर्थात् दुई साताभित्र मूल्य ६२.२० प्रतिशतले बढेको छ । गोलभेंडा ठूलोको मूल्य १५.३८ प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ ।
यी सबै होलसेल मूल्य हुन् । खुद्रामा आइपुग्दा मूल्य झन्डै दोब्बर नै हुन्छ । खुद्रामा पसलैपिच्छे फरक मूल्य छ । ‘ठूला गोलभेंडा प्रायः होटलमा प्रयोग हुन्छ, त्यही भएर तुलनात्मक रूपमा महँगो नै हुन्छ । तर खुद्रा व्यापारीले त्यही भाउ देखाएर सर्वसाधारणबाट बढी मूल्य लिएका हुन्छन्,’ श्रेष्ठले भने, ‘यीबाहेक व्यापारीले क्रेटमा तरकारी खरिद गर्छन्, सस्तो पर्छ । तर महँगोमा बेच्छन् ।’
मूल्यबारे सर्वसाधारण पनि सचेत हुनुपर्ने उनले बताए । भाडा दरमा मनोमानी र अनुगमन नहुँदा पनि बजार अराजक बन्दै गएको हो । तर बजार भाउ नियन्त्रण गर्ने दायित्व पाएका निकायले ध्यान दिएका छैनन् । बजार अनुगमन तथा नियमन गर्ने पहिलो दायित्व स्थानीय निकाय, वडा, नगरपालिकाको हो । मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो । तरकारीको हकमा कृषि विभागले पनि अनुगमन गर्न सक्छ । तर, अनुगमन भएको छैन ।
अनुगमन नहुँदा बजार अराजक बन्दै गएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘तरकारीमा मनपरी मूल्य छ, एउटै तरकारीको मूल्य पसलैपिच्छे फरक–फरक छ,’ उनले भने, ‘बजार अराजक बन्दै गर्दा अनुगमन छैन । कृषकले पाउने मूल्य र उपभोक्ता मूल्यको अन्तर व्यापक भए पनि कसैले चासो दिएन । सरकारले तत्काल बजारमा हस्तक्षेप गर्नुपर्छ ।’ भारतमा मूल्य बढेको बहानामा प्याजको मूल्य पनि छोइनसक्नु छ । मूल्यवृद्धि कृत्रिम हो/होइन, सरकारले अध्ययनमा चासो नदिएको तिमिल्सिनाले बताए ।
समितिका अनुसार प्याजको मूल्य एक महिनादेखि बढेको छ । बिहीबार होलसेल मूल्य ९७.६७ रुपैयाँ पुगेको छ । खुद्रामा झन् मनोमानी मूल्यमा बिक्री भएको छ । प्याज कञ्चनपुरदेखि झापासम्म गरी करिब ३ लाख टन उत्पादन हुन्छ । स्वदेशी उत्पादनले तीन महिना पनि नधान्दा आयात गर्नुपर्ने अवस्था छ । तर आयातकर्ताको मनोमानी हुने गरेको जानकार बताउँछन् ।
नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेल भने भारतमै महँगी बढ्दा यहाँ पनि बढेको दाबी गर्छन् । ‘प्याज आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । भारतमा उत्पादन घटेपछि त्यहाँ पनि महँगो भएको छ,’ गजुरेलले भने, ‘व्यवसायीले खरिद गर्दा महँगो परेपछि यहाँ स्वाभाविक मूल्य बढ्छ ।’
यीबाहेक रातो आलु, मुडेको आलुको मूल्य पनि बढेको छ । मुडेको आलु दुई सातामा ५३.३३ रुपैयाँबाट बढेर ६२ रुपैयाँ पुगेको छ । लोकल गाजरको मूल्य १२ प्रतिशतले बढेर ९५ रुपैयाँ, तराई बन्दाको मूल्य ६ प्रतिशतले बढेर ४८ रुपैयाँ पुगेको छ ।
दुई सातामा मकै बोडी १६ प्रतिशतले बढेर ७५ रुपैयाँ, घिउ सिमी लोकल १३.३३ प्रतिशतले बढेर ८५ रुपैयाँ, घिउ सिमी हाइब्रिड बढेर ८५ रुपैयाँ पुगेको छ । परबर १५.३८ प्रतिशत बढेर ७५ रुपैयाँ, घिरौला ५७ प्रतिशत बढेर ५५ रुपैयाँ पुगेको छ ।
लसुन हरियो ३८.७८ प्रतिशतले बढेर प्रतिकिलो २२६.६७ रुपैयाँ पुगेको छ । मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । वार्षिक करिब ३९ लाख ६२ हजार टन उत्पादन हुन्छ । अपुग तरकारी भारत, चीन, बंगलादेशबाट आयात गरिन्छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । यसबाहेक बल्खु, बानेश्वर, कोटेश्वर, कलंकी, चाबहिललगायत स्थानका तरकारी बजारले उपत्यकाको माग धान्दै आएका छन् ।ekantipurbata savar





