राजकुमार ओली काठमाडौँ।
अमेरिकाको औपचारिक कार्यक्रममा सहभागी भइरहेकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूलाई राजनीतिक स्वार्थका लागि बाल बेचबिखन जस्तो गम्भीर आरोप लगाइएको गुनासो गर्दै ‘अपराध प्रमाणित भए जेल जान तयार’ रहेको बताएकी छिन्।
राति अबेर अमेरिकामा रहँदा पार्टी निकटस्थहरूबाटै आफूलाई हटाउने तयारी भइरहेको सूचना पाएपछि उपसभामुख रानाले टेलिफोनमार्फत प्रतिक्रिया दिँदै भनिन्– ‘म खुला किताब हुँ, मेरो जीवन बालबालिकाका हक र अधिकारका लागि लड्दै बितेको छ। कसैले प्रमाणसहित अपराध देखाए भने जेल हाल्नुपर्छ, तर बाल बेचबिखनको झुटो आरोपको विषयलाई राजनीतिक स्वार्थमा प्रयोग गर्नु लोकतन्त्रको संस्कृति होइन।’
उनी झापा बिर्तामोड र अर्जुनधारा, बुट्टाबारीस्थित बालगृह सञ्चालनमार्फत सामाजिक सेवाबाट राष्ट्रिय राजनीतिसम्म उचाइमा पुगेकी महिला नेतृ हुन्। स्थानीयस्तरमै बालबालिकाको अधिकार र संरक्षणका सवालमा आवाज उठाउँदै अघि बढेकी रानाले पछिल्ला दिनमा सत्तारूढ दलहरूबीचको विवादका कारण बारम्बार निशाना बनाउन खोजिएको बताएकी छन्।
कांग्रेस र एमालेले संयुक्त हस्ताक्षरमार्फत उपसभामुखलाई पदच्युत गर्ने तयारी गरेको रानाको आरोप छ।
यसअघि पनि रानालाई पदबाट हटाउने प्रयास भएको स्मरण गर्दै आफूले नगरेको गल्ती लाई प्रचार गरेकोमा खल्लो महसुस भएको बताएकी छिन्।
मगर निकटका व्यक्तिहरूले उपसभामुखमाथि दोहोरिँदै आएको प्रहारलाई जनतासामु नै लैजानुपर्ने धारणा राखेका छन्। रास्वपाले विपक्षी दलहरूसँगको छलफलमा यो विषयलाई प्रतिवादका लागि साझा एजेन्डा बनाउनुपर्ने प्रस्तावसमेत राखेको छ।
उपसभामुख रानाले आफू अमेरिकामा लोकतन्त्रसम्बन्धी कार्यक्रममा सहभागी हुने क्रममा रहेका केही बैठक सकाएर भदौ १३ गते नेपाल फर्कने जानकारी दिएकी छन ।





