झापा, असोज ११ । Gen Z आन्दोलनका कारण क्षतिग्रस्त बनेका सरकारी निकायहरूको पुनःस्थापना र सुचारु कार्यप्रवाहमा सहयोग पुर्याउने उद्देश्यले नेपाल अलैँची व्यवसायी महासंघले संस्थागत सहयोगको थालनी गरेको छ ।
महासंघले पहिलो चरणमा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुनःनिर्माणका लागि रु ५१,००० सहयोग रकम हस्तान्तरण गरेको हो । शनिबार पुनःनिर्माण टिमलाई विधिवत् रूपमा उक्त सहयोग रकम बुझाइएकाे छ ।
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सम्पूर्ण संरचना ध्वस्त बनेको थियो । अहिले स्थानीय समुदायको सक्रियतामा द्रुत गतिमा पुनःनिर्माण कार्य अघि बढिरहेको छ । सहयोग हस्तान्तरण गर्दै महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भने, “समाज र सुरक्षामाथि परेको संकटलाई सम्बोधन गर्नु हाम्रो दायित्व हो । अलैँची व्यवसाय मात्र होइन, हाम्रो संगठन समाजप्रति उत्तरदायी संस्था हो भन्ने सन्देश दिन यसरी सहयोग अघि बढाएका छौं । प्रहरीको भवन पुनःनिर्माण हुनु समाजको सुरक्षा सुनिश्चित हुनु हो ।”
यस्तै, आन्दोलनकै क्रममा क्षतिग्रस्त बनेको मेचि भन्सार कार्यालय काँकरभिट्टा पनि अस्तव्यस्त बनेको छ । कार्यकक्ष र भौतिक सामग्रीमा क्षति पुगेपछि दैनिकी प्रभावित भएको अवस्थामा महासंघले रु ३३,००० बराबरको प्रिन्टर हस्तान्तरण गरेको छ । उपकरण प्राप्त भएपछि कार्य सुचारु गर्न सहज भएको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन् ।
महासंघका महासचिव प्रज्वल बिमली ले अनुसार प्रहरी कार्यालय र भन्सार कार्यालय दुबै संस्थागतरूपमा अत्यन्त संवेदनशील निकाय भएकाले द्रुत पुनःस्थापना आवश्यक थियो । उनले थपे, “समाजलाई सुरक्षाको अनुभूति गराउने प्रहरी र मुलुकको राजस्व संकलन गर्ने भन्सार दुबै हाम्रो राष्ट्रिय संरचना हुन् । यी निकाय मजबुत हुँदा मात्र नागरिकलाई सेवा र सुरक्षाको भरोसा हुन्छ । त्यसैले हाम्रो सहयोग निरन्तर रहनेछ ।”
स्थानिय तह, नागरिक समाज र व्यवसायीहरूको सक्रियतामा पुनःनिर्माण कार्य अघि बढिरहेका बेला अलैँची व्यवसायी महासंघको सहयोगले थप ऊर्जा प्रदान गरेको स्थानीयले बताएका छन् । सुरक्षाकर्मीले पनि तत्काल आवश्यक सामग्री र संरचना जुटाउन गरिएको यो पहललाई सकारात्मक मान्दै धन्यवाद व्यक्त गरेका छन् ।
यसरी, आन्दोलनबाट प्रभावित सरकारी निकायको पुनःनिर्माण कार्यमा व्यवसायी समुदायबाट प्राप्त सहयोगले प्रशासनिक संरचना पुनःस्थापना मात्र होइन, सामाजिक एकता र जिम्मेवारीबोधलाई पनि मजबुत पारेको देखिन्छ ।





