अलैंची ग्रेडिङ गर्ने उपकरण बजारमा
पाँचथर —कृषि यन्त्र उत्पादन गर्दै आएको कामाक्षा एग्रो एन्ड इन्जिनियरिङ कम्पनीले अलैंची ग्रेडिङ गर्ने उपकरण बजारमा ल्याएको छ । कम्पनीले हाते र विद्युतीय गरी २ किसिमका ग्रेडिङ मेसिन निर्माण गरेको हो ।
दुवै उपकरणले सुकाएका अलैंचीका दाना ठूलो, मझौला र साना गरेर तीन समूहमा छुट्याइदिन्छ । एक वर्षअघि अनुसन्धान थालेको कामाक्षाले तीन महिनादेखि यी उपकरण निर्माण गरेर अलैंची पकेट क्षेत्रमा पठाउन थालेको प्रबन्ध निर्देशक ध्रुव अधिकारीले बताए ।
कामाक्षाले अलैंची उत्पादन हुने पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर र संखुवसभालगायत जिल्लालाई लक्षित गरेर उत्पादन गरिएका उपकरण यतिबेला विभिन्न जिल्लामा लगेर प्रदर्शनी गरिरहेको छ । ती उपकरण यसअघि विराटनगरमा आयोजित कृषि एक्स्पोमा समेत प्रदर्शनी गरिएको थियो ।
यी उपकरणले गेडिङ गरेका अलैंचीमध्ये सबैभन्दा ठूला दाना बजारमा चलेको मूल्यभन्दा प्रतिकिलो २ सय रुपैयाँ बढी मूल्यमा बिक्री हुने फिदिमका अलैंची व्यवसायी दीपक नेपालले बताए । अलैंचीको सही ढंगले ग्रेडिङ नहुँदा कम मूल्यमा बेच्नु पर्ने बाध्यता अब न्यूनीकरण हुने उनको भनाइ छ । विद्युतीय उपकरणले दिनभरमा एक सय मन र हाते उपकरणले ५० मन अलैंची ग्रेडिङ गर्ने क्षमता राख्छ
उक्त कम्पनीले निर्माण गरेका दुईवटै उपकरण गत आइतबार पाँचथरको फिदिममा प्रदर्शनी गरियो । अलैंची उत्पादक किसान, व्यवसायी, कृषि क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि र यन्त्र उत्पादक कम्पनीका प्रतिनिधिको उपस्थितिमा भएको प्रदर्शनीमा उपकरण प्रयोग गर्ने विधिबारे समेत चर्चा गरिएको थियो । विद्युतीय उपकरणको मूल्य १ लाख र हाते ५० हजार रुपैयाँ हाराहारी पर्ने कम्पनीको भनाइ छ ।ekantipurbata





