इनरुवामा नेपाल खेलकुद महासङ्घद्वारा भव्य मोटरसाइकल र्‍याली सम्पन्न

इनरुवा, २५ कात्तिक

नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजनामा तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्‍याली सम्पन्न गरिएको छ।

देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका राजनीतिक तथा जनजागरण कार्यक्रमहरूको क्रममा आयोजित उक्त र्‍यालीमा सयौँ युवा उत्साहका साथ सहभागी भएका थिए। राष्ट्रिय झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्‍यालीले इनरुवाको मुख्य बजार परिक्रमा गर्दै देशभक्ति, एकता र जनचेतनाको सन्देश दिएको थियो।

र्‍यालीको सुरुवात नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषको नेतृत्वमा गरिएको थियो। उहाँले र्‍यालीको उद्देश्य युवामाझ राष्ट्रिय एकता, अनुशासन र देशप्रतिको जिम्मेवारीबोध जगाउने रहेको बताउनुभयो। “खेलकुदले मात्र होइन, सामाजिक अभियानले पनि युवालाई सकारात्मक बाटोमा अग्रसर गराउन सक्छ,” उहाँले भन्नुभयो।

महासङ्घ सुनसरीका सचिव सरोज बस्नेतले खेलकुद महासङ्घले खेल क्षेत्रसँगै राष्ट्रिय एकता, अनुशासन र नेतृत्व विकासमा समेत भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार महासङ्घले जिल्लामा खेलकुदको स्तरोन्नतिका साथै युवा सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

र्‍यालीपछि आयोजित कोणसभामा महासङ्घका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले हालको राजनीतिक परिस्थितिमा युवाहरू सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै संविधान र लोकतान्त्रिक मूल्यविपरीत हुने गतिविधिबाट सावधान रहन आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रको भविष्य युवा पुस्तामै निहित छ। देशमा स्थायित्व र सुशासन कायम राख्न युवाहरू अग्रपङ्तिमा रहनुपर्छ।”

उहाँले नेपाल खेलकुद महासङ्घले देशभरका युवालाई खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र राष्ट्रसेवाको भावना जगाउने अभियान अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार खेलकुद महासङ्घले पछिल्ला वर्षमा विभिन्न जिल्लामा खेलकुद प्रशिक्षण, राष्ट्रिय एकता म्याराथन, रक्तदान कार्यक्रम र देशभक्तिपूर्ण अभियान सञ्चालन गर्दै आएको छ।

कोणसभामा नेकपा (एमाले)की केन्द्रीय सदस्य भगवती चौधरी, प्रदेश सदस्यहरू रामप्रसाद मेहता र सन्तोषी श्रेष्ठ, जिल्ला अध्यक्ष परशुराम यादव, स्थानीय तहका जनप्रतिनिधि, खेलकुद महासङ्घका पदाधिकारी, युवा सङ्घका प्रतिनिधि तथा एमालेका भ्रातृसंगठनका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

कोणसभामा बोल्दै केन्द्रीय सदस्य भगवती चौधरीले देशको विकास, स्थायित्व र सुशासनका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै राष्ट्रिय गौरव, सामाजिक जिम्मेवारी र सशक्त नेपालको निर्माणमा युवाहरू समर्पित रहनुपर्नेमा जोड दिनुभयो।

र्‍यालीको समापनमा युवा सङ्घ इनरुवाका अध्यक्ष रमेश आचार्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै युवा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array