उद्योग व्यवसायीहरूमा चुनौती थपिँदै, सरकार लचिलो बन्नु आवश्यक : उद्योगीहरू

 

बिर्तामोड, १९ मङ्सिर: (रासस)

देशको समग्र आर्थिक सूचक कमजोर हुँदै गएसँगै उद्योग व्यवसायीहरू थप चुनौतीको चपेटामा परेका छन्। आन्तरिक बजारमा खुम्चिँदो उपभोग, निर्यात घट्दो क्रम, कडिँदो बैंकिङ दबाब र सरकारी प्रक्रियाको झन्झटिलोपनका कारण उद्योगी तथा व्यापारिक क्षेत्र निराश बन्दै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले बताएका छन्।

सङ्घको ४४औँ वार्षिक उत्सव समारोहमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले उद्योगी–व्यवसायीको आवाज सुनिन छाडेको र सरकारी संयन्त्रले व्यवसायमैत्री नीति बनाउन ढिलाइ गर्दा पछिल्लो समय वातावरण झनै प्रतिकूल बन्दै गएको बताए।

अध्यक्ष न्यौपानेले उद्योग क्षेत्र देशको मेरुदण्ड भए पनि निरन्तर उपेक्षाका कारण उद्योगीहरू निराश भएको उल्लेख गर्दै भने,
“सङ्घ स्थापना भएको ४४ वर्ष बितिसक्यो। यसबीचमा बिर्तामोडका उद्योगी–व्यवसायीलाई एकजुट बनाउन अग्रजहरूले देखाएको बाटोलाई आज हामीले अगाडि बढाएका छौँ। तर, अहिले व्यवसायमैत्री वातावरण नहुनु हाम्रो सबैभन्दा ठूलो पीडा बनेको छ।”

उनले कर प्रणाली, निरीक्षण प्रक्रियाहरू, अनुमति–प्रमाणपत्रमा धेरै समय लाग्ने व्यवस्था र बैंकको कडाइ उद्योग विस्तारका लागि घातक बन्दै गएको उल्लेख गर्दै सरकारलाई लचिलो र सकारात्मक हस्तक्षेप आवश्यक भएको बताए।
नेपाल अलैची व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ, निर्यात समिति का केन्द्रीय सदस्य निर्मल भट्टराईले समारोहमा वर्तमान व्यवसायिक वातावरण देशलाई गम्भीर आर्थिक अवस्थातर्फ धकेलिरहेको चेतावनी दिए।

उनका अनुसार निर्यातमूखी उद्योगहरू झनै कमजोर बन्दै गएको, उत्पादन लागत बढिरहेको, सरकारी निषेध तथा कडाइहरूले लगानीकर्ताहरूको आत्मविश्वास घटिरहेको र उद्योग–व्यवसायीहरू दिनदिनै नयाँ जोखिममा धकेलिनुपरेको अवस्था छ।

भट्टराईले भने,
“सरकारले व्यवसायलाई दिने आश्वासन कागजमै सीमित छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म व्यवसायीलाई सहज वातावरण बनाएन भने आर्थिक संकटबाट जोगिन कठिन हुनेछ।”
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले ४४औँ वार्षिकोत्सवको अवसरमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू, सुधिर शिवाकोटी कुमार भट्टराई, राजेन्द्र थापा, वेद प्रकाश अग्रवाल लगायतलाई संघका पदाधिकारीहरुलाइ सम्मान गर्नुभएको हो।
कार्यक्रमले बिर्तामोडको व्यापारिक विकासमा अग्रजहरूका योगदानलाई स्मरण गर्दै आगामी यात्रामा उनीहरूको मार्गदर्शन महत्वपूर्ण हुने वक्ताहरूले उल्लेख गरे।

उच्च तहका उद्योगी–व्यवसायी तथा सुरक्षाकर्मीको उपस्थिति

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई, झापा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन राई, प्रहरी उपरीक्षक तुलबहादुर पाण्डे,
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डाल्मिया,
दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य गोकुल श्रेष्ठ,मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईलगायतका व्यवसायी तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

वक्ताहरूले निजी क्षेत्र देशको अर्थतन्त्र चलाउने मूल आधार भएकाले सरकारसँग सहकार्य गर्दै समस्याको दिगो समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए।

सरकारलाई लचिलो हुन आग्रह

समारोहमा सहभागी उद्योगीहरूले कर तथा राजस्व नीतिमा सहजता, निर्यात बढाउने प्रोत्साहन, उद्योग स्थापना तथा सञ्चालनका जटिल प्रक्रियामा सुधार, तथा बैंक–वित्तीय क्षेत्रलाई उत्पादनमुखी बनाउने प्रस्ताव राखे।

उनीहरूले सरकारलाई निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक स्थिरता कायम गर्न अनुरोध गर्दै भने,
“व्यवसायी बाँच्न सके मात्रै अर्थतन्त्र बन्छ, उद्योग चल्छ, रोजगारी सिर्जना हुन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array