राजकुमार ओली, लिला भट्टराई
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले विश्वका हरेक क्षेत्रलाई तीव्र गतिमा रूपान्तरण गरिरहेको छ। उद्योग, स्वास्थ्य, सञ्चार, सुरक्षा हुँदै अब यसको प्रभाव शिक्षा क्षेत्रमा झन् गहिरिँदै गएको छ। केही वर्षभित्रै शिक्षा प्रणालीमा एआईले युगान्तकारी परिवर्तन ल्याउने निश्चित देखिन्छ। तर विडम्बना, प्रविधिले जीवनशैली बद्लाइसक्दा पनि हाम्रो शिक्षा प्रणाली भने अझै पुरानै ढाँचामा अल्झिएको छ।
आज पनि अधिकांश विद्यालयमा एउटै कक्षाकोठामा ३०–४० भन्दा बढी विद्यार्थी, एउटै पाठ्यपुस्तक, एउटै पाठ्यक्रम र एउटै गतिमा पढाइ हुने व्यवस्था छ। सबै विद्यार्थीको क्षमता, रुचि र सिकाइ शैली फरक–फरक हुँदाहुँदै पनि एउटै शिक्षकले सबैलाई एउटै तरिकाले पढाउनुपर्ने बाध्यता छ। यही कारण धेरै विद्यार्थी पढाइमा पछि पर्ने, निराश हुने र सिर्जनशीलता गुमाउने अवस्था देखिन्छ।
यही सन्दर्भमा अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलले संसारकै शिक्षा प्रणालीलाई चुनौती दिएको छ। अल्फा स्कुल सम्भवतः विश्वकै पहिलो यस्तो विद्यालय हो, जहाँ परम्परागत अर्थमा शिक्षक नै छैनन्। त्यहाँको कक्षाकोठामा प्रवेश गर्दा ब्ल्याकबोर्ड, चक र शिक्षक देखिँदैनन्। बरु विद्यार्थीहरू हेडफोन लगाएर कम्प्युटर वा ट्याबलेटमार्फत एआई ट्युटरसँग संवाद गरिरहेका हुन्छन्।
अल्फा स्कुलको सबैभन्दा अनौठो तर प्रभावशाली पक्ष भनेको दिनमा दुई घण्टा मात्र औपचारिक अध्ययन हुनु हो। बाँकी समय विद्यार्थीले खेलकुद, कला, संगीत, उद्यमशीलता, समस्या समाधान, समूहकार्य र जीवनोपयोगी सीप सिक्न खर्च गर्छन्। सुन्दा अविश्वसनीय लाग्न सक्छ, तर यही मोडेलले अल्फा स्कुलका विद्यार्थीको नतिजा परम्परागत विद्यालयभन्दा धेरै उत्कृष्ट बनाएको छ। तथ्यांकअनुसार त्यहाँका विद्यार्थीहरू राष्ट्रियस्तरको शीर्ष १–२ प्रतिशतमा पर्ने गरेका छन्।
परम्परागत विद्यालयमा एउटा कक्षाको पाठ्यक्रम पूरा गर्न कम्तीमा एक शैक्षिक वर्ष लाग्छ। तर अल्फा स्कुलमा विद्यार्थीले २२ देखि ३० घण्टामै एउटा कक्षाको सम्पूर्ण पाठ्यक्रम सक्ने गर्छन्। यसको मूल कारण एआई आधारित पर्सनलाइज्ड लर्निङ हो।
एआई ट्युटरले प्रत्येक विद्यार्थीको क्षमता, कमजोरी, रुचि र सिकाइ गति विश्लेषण गर्छ। कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसलाई त्यही विषयमा बढी समय र फरक तरिका अपनाइन्छ। कुनै विद्यार्थी छिटो सिक्छ भने उसलाई रोकिन बाध्य पारिँदैन। यसरी हरेक विद्यार्थी आफ्नै गतिमा सिक्ने वातावरण तयार हुन्छ।
अल्फा स्कुलमा शिक्षक नभए पनि मार्गदर्शक र कोचको भूमिका भने हुन्छ। उनीहरू विद्यार्थीलाई अनुशासन, मूल्य, सहकार्य र जीवन सीप सिकाउन सहयोग गर्छन्। ज्ञान दिने काम एआईले गर्छ भने मानवीय मूल्य र सामाजिक सीप विकास गर्ने काम मानिसले गर्छन्। यही सन्तुलन नै अल्फा मोडेलको सफलताको मुख्य सूत्र मानिन्छ।
यो मोडेलले एउटा गम्भीर प्रश्न उठाएको छ— के भविष्यमा शिक्षकको आवश्यकता समाप्त हुँदैछ? उत्तर सरल छैन। शिक्षकको भूमिका समाप्त हुँदैन, तर रूपान्तरण अवश्य हुन्छ। अब शिक्षक ज्ञानका एकमात्र स्रोत होइनन्, उनीहरू मार्गदर्शक, प्रेरक र सहयात्री बन्नेछन्।
नेपालजस्ता विकासोन्मुख देशका लागि यो मोडेल तुरुन्त लागू गर्नु चुनौतीपूर्ण हुन सक्छ। इन्टरनेट पहुँच, प्रविधि, नीति र मानसिकता सबै पक्ष तयार हुन आवश्यक छ। तर यो परिवर्तनबाट भाग्न सकिँदैन। यदि समयमै शिक्षा प्रणालीलाई प्रविधिसँग जोडिएन भने हामी पुस्तौंपुस्तासम्म प्रतिस्पर्धामा पछि पर्नेछौँ।
एआई शिक्षाको शत्रु होइन, सहयात्री हो। प्रश्न एआई प्रयोग गर्ने कि नगर्ने होइन, कसरी र कति विवेकपूर्ण ढंगले प्रयोग गर्ने भन्ने हो। अल्फा स्कुलले देखाएको बाटोले संसारलाई यही सन्देश दिएको छ— शिक्षा अब कक्षाकोठामा सीमित छैन, शिक्षा अब व्यक्तिकेन्द्रित, प्रविधिमैत्री र भविष्यतर्फ उन्मुख हुनुपर्छ।





