एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाट ५८ लाख बढी आम्दानी रासस

झापा, २५ कात्तिक :
एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम संकलन गरेको आयोजक समितिले जनाएको छ।

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिता अवधिभर कुल ५८ लाख तीन हजार रुपैयाँ टिकट बिक्री भएको छ।

समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँ बराबरको टिकट बिक्री भएको थियो। त्यसअघि पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० रुपैयाँ, अन्तिम सेमिफाइनलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ, र क्वार्टर फाइनलका चार खेलमा ११ लाख ४४ हजार ४०० रुपैयाँ बराबरको टिकट बिक्री भएको उनले बताए। उद्घाटन खेलको दिन दुई लाख ८८ हजार रुपैयाँ आम्दानी भएको थियो।

थोप्राका अनुसार महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टिमबीचको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढाएको हो। “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ। महिला फुटबललाई अझ सबल बनाउने हाम्रो लक्ष्य हो,” उनले भने।

उनका अनुसार टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन तथा मैदान व्यवस्थापनमा खर्च गरिनेछ।

प्रतियोगिताको खेल हेर्न स्थानीयदेखि आसपासका जिल्लाबाट दर्शकको बाक्लो उपस्थिति रहेको थियो। क्वार्टर फाइनलमा साधारणतर्फ १ सय र २ सय, भिआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो। सेमिफाइनल र फाइनल खेलमा दर केही वृद्धि गरिएको थियो।

नेपाल पुलिस क्लबले प्रतियोगिताको उपाधि जित्दै एपिएफलाई १–० गोल अन्तरले पराजित गरेको थियो। विजेता टोलीले १० लाख १० हजार रुपैयाँ पुरस्कार हात पारेको थियो। प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array