राजकुमार ओली (पूर्वखबर)
भद्रपुर, ५ पुस ।
एसियन हाइवेअन्तर्गत झापाको बिर्तामोड क्षेत्रमा निर्माणाधीन सडक, डाइभर्सन तथा कच्ची सतहका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । सोही क्रममा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा भद्रपुरका दुई युवकको मृत्यु भएको छ ।
शनिबार साँझ करिब ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको हो । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–९ निवासी २५ वर्षीय भुपाल अधिकारी र मोटरसाइकलमा सवार करिब २५–२६ वर्ष उमेरका एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको भए पनि चिकित्सकले साँझ ६ः१५ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए । मृतकहरूको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना भएको स्थान एसियन हाइवे विस्तार तथा ओभरपास निर्माणका कारण डाइभर्सन बनाइएको र सडक कच्ची तथा असमान रहेको जनाइएको छ । स्थानीयवासीले डाइभर्सन क्षेत्रमा धुलो, खाल्डाखुल्डी र अपर्याप्त संकेत चिह्नका कारण सवारी साधन अनियन्त्रित हुने जोखिम उच्च रहेको गुनासो गर्दै आएका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि एसियन हाइवेअन्तर्गत बिर्तामोड, चारआली र दमक क्षेत्रका डाइभर्सन तथा कच्ची सडकमा पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन् । स्थानीयवासी र यात्रुले निर्माणाधीन सडकमा प्रभावकारी व्यवस्थापन, स्पष्ट ट्राफिक संकेत र नियमित मर्मतको माग गर्दै आएका छन् ।





