ओलीको जन्मदिन – सुकुम्बासी बस्तीमा लत्ता–कपडा र भोजन वितरण

 

राजकुमार ओली ५ साउन बिर्तामोड पूर्वखबर

होटल र पार्टीको तामझामबाट टाढा रही सामाजिक उत्तरदायित्व निर्वाह गर्ने मनोभावनासहित कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले आफ्नो जन्मदिन विशेष बनाएका छन्।

उनले आइतबार बिर्तामोड नगरपालिका–५ स्थित जात्रुबारी सुकुम्बासी बस्तीमा लत्ता–कपडा र खाद्यान्न वितरण गर्दै, स्थानीय विपन्न समुदायसँग भोजन साझेदारी गरे।

लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्षसमेत रहेका ओलीले आफ्ना सहकर्मी, क्लब सदस्य तथा परिवारजनको साथमा सुकुम्बासी बस्तीमा पुगेर ५० भन्दा बढी बालबालिका तथा अभावग्रस्त परिवारलाई राहत सामग्री हस्तान्तरण गरे। सो अवसरमा उनले साग, भात, अचारसहितको ‘मिस्ट्याङ्ग भोजन’ कार्यक्रम पनि सञ्चालन गरेका थिए।

“हरेक वर्षको जन्मदिनलाई समाजप्रति केही योगदान दिने अवसर बनाउने संकल्प लिएको छु,” अध्यक्ष ओलीले भने, “म एक्लै खुसी हुनुको सट्टा धेरै जनालाई खुसी पार्न सकें भने त्यो नै मेरो जन्मको अर्थपूर्ण सार्थकता हो।”

कार्यक्रममा सहभागी भएका स्थानीय बासिन्दाहरूले बस्तीमा यसरी सामाजिक भावनासहित जन्मदिन मनाउने व्यक्तिलाई पहिलोपटक भेटेको अनुभव सुनाए। “हामीलाई होटल र पार्टीको कुनै अर्थ छैन। उहाँ आफैं यहाँ आएर कपडा, खाना र माया दिनुभयो, त्यो नै हाम्रो लागि साँचो सम्मान हो,” बस्तीकी एक वृद्ध महिलाले भनिन्।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष राजकुमार गुप्ता, डिस्ट्रिक्ट चिफ मनोज बानिया, एओजी बलराम चौधरी, मनोज रौनियार तथा निरु उप्रेती ओली लगायतको पनि सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक उत्तरदायित्वमा आधारित यस्ता कार्यक्रमले नेतृत्वको आन्तरिक संवेदना र सार्वजनिक सेवा भाव झल्काउने बताएका थिए।

निरज ओली ओलीवंश समन्वय समिति झापाका उपाध्यक्षसमेत हुन्। उनले विगतमा पनि विभिन्न अवसरहरूमा समाजसेवा अभिमुख क्रियाकलापहरू गर्दै आएका छन्। गतवर्ष आफ्नी छोरीको जन्मदिनको अवसरमा बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा ज्येष्ठ नागरिकहरूसँग मनाएको स्मरण गर्दै उनले भने, “रक्सी पसल वा भट्टीमा बसेर जन्मदिन मनाउनु भन्दा जेष्ठ बुवाआमा तथा असहायहरूसँग बसेर केही सेवा गर्न सकियो भने त्यो नै साँचो अर्थमा बुवाको सपना पुरा गर्नु हो।”

उनका पिता सरोज ओलीले विगतमा नै सामाजिक सेवामा सक्रिय भूमिका खेलेको प्रसंग जोड्दै निरज ओलीले बुवाको सपना पूरा गर्न समाजमुखी अभियानलाई निरन्तरता दिने बताएका छन्। बिर्तामोड क्षेत्रमा कृषि सुधार, विपन्नमुखी सेवा र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यमा उनको अग्रसरता देखिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array