राजकुमार ओली, २३ साउन:कञ्चनपुर,
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रका लागि अपरिहार्य नेतृत्वको रुपमा चित्रण गरेका छन्।
शुक्रबार कञ्चनपुरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको बैठक उद्घाटन गर्दै अध्यक्ष पाण्डेले भने, “अहिलेको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न ओली नै सक्षम एक मात्र नेता हुन्। वर्तमान परिप्रेक्ष्यमा ओली विकल्प होइनन्, राष्ट्रको आवश्यकता हुन्।”
उनले प्रधानमन्त्री ओलीसँग स्पष्ट, दृढ र निडर नेतृत्व रहेको उल्लेख गर्दै वर्तमान चुनौतीपूर्ण समयमा त्यस्तै नेतृत्व अपरिहार्य रहेको धारणा राखे।
उक्त बैठकअन्तर्गत सञ्चालित पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रविधि र ‘न्यू मिडिया’ मैत्री पत्रकारिता युगको आवश्यकता भएको बताए।
“समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने, विश्वाससहितको सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य हो,” उनले भने, “त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको नेतृत्व प्रेस चौतारीले नै गर्नुपर्छ।”
पाण्डेले प्रेस चौतारीसँग नेपाली पत्रकारितालाई दिशा–निर्देशन गर्ने क्षमता र योग्यता भएको दाबी गर्दै त्यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।





