औषधि पसलमा म्याद गुज्रिएका औषधि बिक्री, अनुगमनमा गम्भीर लापरबाही फेला

राजकुमार ओली,१८पुष:(पुर्व खबर)

झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूले म्याद गुज्रिएका औषधिहरू पसलमै राखी बिक्री गर्ने गरेको पाइएको छ । भद्रपुर नगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रभित्र रहेका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा यस्तो गम्भीर लापरबाही फेला पारेको हो ।
अनुगमनका क्रममा औषधि पसलहरूले बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील क्षेत्रमा लापरबाही गर्दै म्याद गुज्रिएका औषधि बिक्री गर्ने, सरसफाइमा ध्यान नदिने तथा कानुनी प्रक्रिया पूरा नगरी व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको समितिका संयोजक तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा विभिन्न प्रकारका म्याद गुज्रिएका औषधिहरू जफत गरिएको छ । साथै पसल सञ्चालकहरूलाई एकपटकका लागि सचेत गराउँदै आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका औषधि पसलहरूलाई सात दिनभित्र दर्ता तथा नवीकरण गरी मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीले चन्द्रगढीस्थित कृपा फार्मेसीमा ठूलो मात्रामा म्याद गुज्रिएका औषधिहरू फेला पारेको छ । उक्त फार्मेसीमा सरसफाइको अवस्था कमजोर रहेको र औषधि भण्डारण कक्षमै खाजा पकाउने कार्यसमेत भइरहेको पाइएको छ । त्यस्तै चन्द्रगढीकै प्रभु कृपा फार्मेसीले २०७८/०७९ सम्म मात्रै व्यवसाय नवीकरण गरेको पाइएकाले तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिइएको छ । साथै औषधि व्यवस्थापन र सरसफाइमा सुधार गर्न भनिएको छ ।
भद्रपुरस्थित तिम्सिना फार्मेसीले २०६९/७० यता व्यवसाय नवीकरण नगरेको, औषधिहरूको प्रकार अनुसार छुट्टाछुट्टै नराखी बिक्री गरेको पाइएको छ । गीता फार्मेसीले समेत व्यवसाय नवीकरण नगरेको पाइएकोले सात दिनभित्र नगरपालिकामा उपस्थित भई नवीकरण गर्न निर्देशन दिइएको छ ।
रिदम हेल्थ केयर सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, दर्ता भएका कागजात नवीकरण नभएको, कार्यरत नभएका डाक्टरहरूको नाम लेखेर राखिएको, दररेट तथा नागरिक बडापत्र नटाँसेको पाइएको छ । यस्तै चन्द्रगढी मानव डेन्टलले २०७९/०८० देखि व्यवसाय नवीकरण नगरेको र न्यु साझा डेन्टल होमले व्यवसाय दर्ता नगरी सरसफाइमा समेत लापरबाही गरेको पाइएको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिनुभयो ।
नगरपालिकाले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि तथा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array