कतारबाट नेपाली संगीतको सेवा गर्दै गायिका जुनु प्रसाई: ‘मेरो भ्वाइस युनिभर्स’ मा झापाकी प्रतिनिधि

राजकुमार ओली, असार २३ पूर्व खबर

नेपाली संगीतको फाँटमा विदेशबाट निरन्तर साधना गर्दै आएकी गायिका जुनु प्रसाईले ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाएकी छन्। हाल कतारमा कार्यरत झापाली गायिका प्रसाईको सांगीतिक यात्रा आठराई ह्वाकू, तेह्रथुमबाट सुरु भएको हो।

ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका प्रसाई बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिइन्। विद्यालयका विभिन्न कार्यक्रममा गीत गाउने, स्थानीय प्रतियोगितामा भाग लिने र आवाजको माधुर्यले श्रोताको ध्यान तान्ने उनको बाल्यकालको यात्रा अहिले परिश्रम, प्रतिबद्धता र प्रतिभाले अन्तर्राष्ट्रिय मञ्चमा उक्लिएको छ।

“गायन मेरो रुचि मात्र होइन, परिचय पनि हो,” प्रसाई भन्छिन्, “कतारमा रहेर पनि नेपाली गीत–संगीतलाई निरन्तर साधनाको रुपमा अघि बढाइरहेकी छु।”

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली आवाज

नेपाली गीत–संगीत र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा २३ देशका नेपाली प्रतिभाहरूले सहभागिता जनाएका छन्। अडिसन चरण १३ मुलुकमा सम्पन्न भएकोमा गायिका प्रसाई कतार अडिसनमार्फत फाइनल चरणसम्म पुग्न सफल भएकी हुन्।

हाल प्रतियोगिताको भोटिङ राउण्ड सञ्चालनमा रहेको जानकारी दिँदै उनले सबै नेपालीहरूलाई भोटमार्फत साथ दिन आग्रह गरेकी छन्।

उनका शब्दमा, “कतारमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्दै म यो मञ्चमा उभिएको छु। तपाईंहरूको एक भोटले मेरो संगीत यात्रालाई थप ऊर्जा र विश्वास दिनेछ।”

यसरी दिन सकिन्छ भोट

गायिका जुनु प्रसाईलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा My Intra एप डाउनलोड गरी उनको प्रोफाइलमा क्लिक गरेर पनि भोट गर्न सकिन्छ।

झापाबाट कतारसम्मको यात्रामा संगीत कहिल्यै टुटेन

झापालाई आफ्नो स्थायी ठेगाना बनाएकी गायिका प्रसाईको स्वर नेपालीपनले भरिएको छ। उनले गाएका थुप्रै गीत तथा म्युजिक भिडियोहरू नेपाली साङ्गीतिक बजारमा लोकप्रिय छन्। उनको गायनशैली, प्रस्तुति र भावले नेपाली श्रोता–दर्शकको मन जित्दै आएको छ।

विदेशमा रहेर पनि नेपाली संगीतको सेवा गरिरहेकी गायिका प्रसाईजस्ता प्रतिभाहरू साँच्चिकै नेपाली कला र संस्कृतिका प्रतिनिधि हुन्।

उनको प्रतिबद्धता र साधनाले आगामी दिनमा झापाबाट मात्रै नभई सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको गर्व बन्ने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array