कन्काई  नदीमा बाढी : सुगाबथान, कुवारी बजार र भेलामुनीमा डुबान, मन्दिर जोखिममा

 

राजकुमार ओली, ६  साउन

अविरल वर्षासँगै आएको कन्काई  नदीको बाढीले झापाको विभिन्न स्थानमा डुबान र क्षतिको अवस्था सिर्जना गरेको छ।

कन्काई नदीमा पानीको बहाव बढेसँगै झापा गाउँपालिका–२ अन्तर्गतका सुगाबथानकुवारी बजार क्षेत्रमा बाढी पस्दा स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ।

सुगाबथानमा जेठा टुडू, ताला सोरेन, लिलमुनि टुडू, मण्डल टुडू, सुकदेव टुडू, साएकला टुडू र साइबा टुडू गरी सात परिवारको घरमा डेढदेखि दुई फुटसम्म पानी जमेको स्थानीय स्रोतले जनाएको छ। बाढीको कारण खाद्यान्न, लत्ताकपडा र पशुचौपायामा समेत क्षति पुगेको जनाइएको छ।

त्यसैगरी कुवारी बजार क्षेत्र पनि पानीको चपेटामा परेको छ। सडकमा पानी भरिएको कारण आवतजावतमा समेत समस्या उत्पन्न भएको छ।

यसैबीच, शिवसताक्षी नगरपालिका–५ स्थित भेलामुनी क्षेत्रमा पनि माइ र कन्काई खोलाको बाढी पस्दा पाँच घर डुबानमा परेका छन्। वडा नं ५ का अध्यक्ष सिकिन पासवानका अनुसार बोधनाथ बिमली, विपिन राई, बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीका घरमा बाढी पस्दा दैनिक जीवन कष्टकर बनेको छ।

वडाध्यक्ष पासवानका अनुसार भेलामुनीमा रहेको एउटा मन्दिर समेत बाढीको जोखिममा परेको छ। “सुरक्षाका लागि सचेतना बढाउँदै आवश्यक तयारी गर्न थालिएको छ,” उहाँले बताउनुभयो।

स्थानीय प्रशासनको सक्रियता र सतर्कता

बाढीले जोखिम बढाएको क्षेत्रहरूमा स्थानीय पालिका, सुरक्षा निकाय तथा नेपाली रेडक्रस मार्फत निरन्तर निगरानी राखिएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ भने स्थायी बासस्थान जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

झापा जिल्लाका अन्य नदीहरूमा समेत पानीको सतह उच्च रहेकाले नदी किनार नजिकका वस्तीहरूमा बाढीको थप खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array