बिर्तामोड, झापा, …
न्यून आय भएका बिरामीका लागि सहज र विश्वासिलो स्वास्थ्यसेवा प्रदान गर्दै आएको बिर्तामोडको कन्काई हस्पिटल अत्याधुनिक उपकरणसहित नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ। बिर्तामोडको दोस्रो हस्पिटलका रूपमा स्थापित कन्काई हस्पिटलले आधुनिक पूर्वाधार र उन्नत सेवा प्रणालीसहित सिटी सेन्टरअगाडिको नयाँ भवनबाट उपचार सेवा प्रदान गर्न लागेको हो।
हस्पिटलका अध्यक्ष युवराज डाँगीका अनुसार हाल सञ्चालनमा रहेको पुरानो भवनबाट स्थानान्तरण गरी यसै सातादेखि नयाँ संरचनाबाट नियमित सेवा शुरु हुनेछ। उनले नयाँ भवनमा लिफ्टसहित बिरामीमैत्री संरचना, व्यवस्थीत कक्ष तथा आधुनिक उपकरण जडान गरिएकाले सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध हुने बताए।
डाँगीले कन्काई हस्पिटलले सुरुदेखि नै बिरामीमुखी सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नयाँ भवनबाट अझै उन्नत रूपमा सेवा विस्तार हुने जानकारी दिए। उनका अनुसार हस्पिटल न्यून आय वर्गका बिरामीको रोजाइमा परिरहेको छ र यसलाई अझ व्यवस्थित बनाउँदै अत्याधुनिक सेवा प्रवाह गर्ने तयारी छ।
हस्पिटलले इमरजेन्सी सेवा अन्तर्गत मेरुदण्डसम्बन्धी उपचार, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाथ रोग, जनरल सर्जरी, मुटुरोग, मानसिक स्वास्थ्य, नवजात तथा बालरोग, नाक–कान–घाँटी, यौन तथा छाला रोगलगायतका विविध सेवा प्रदान गर्दै आएको छ। नयाँ भवनमा यी सेवाहरूलाई थप सुदृढ बनाइने हस्पिटलले जनाएको छ।
‘विशेषज्ञ सेवा, हाम्रो प्रतिबद्धता; सबैको पहुँचमा हाम्रो स्वास्थ्य सेवा’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको हस्पिटलमा स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, स्त्री रोग विशेषज्ञ, रुमेटोलोजिस्ट, हेपाटोलोजी सर्जन, बालरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, रेडियोलोजिस्ट, एनेस्थेटिक, फिजियोथेरापी, सिटी–स्क्यानलगायतका सेवा उपलब्ध छन्।
हस्पिटलले उपलब्ध रहेका सेवालाई अझ अत्याधुनिक, सुरक्षित तथा गुणस्तरीय बनाएर उपचारमा नयाँ स्तर थप्ने तयारी गरेको जनाएको छ।





