मेचीनगर, ३१ चैत – कोशी प्रदेश सरकारले काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटक बोकेका सवारीसाधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै सुरु गरिएको अभियानको उद्घाटन आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरेका हुन्।


काँकरभिट्टा नाकामा भारतीय नम्बर प्लेट डब्लु.बि. ७४ ए ०६६३४ को गाडीमा स्टिकर टाँसी मन्त्री भण्डारीले अभियान शुभारम्भ गरे। सो अवसरमा गाडीमा सवार भारतीय पर्यटकलाई रुद्राक्षको माला र खादा ओढाएर स्वागतसमेत गरिएको थियो।
यसअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सीमावर्ती रानी-जोगबनी नाकाबाट अभियान प्रारम्भ गरेका थिए। अब भने काँकरभिट्टा, भन्टाबारी, रानी र पशुपतिनगर नाकाबाट पनि सो अभियान सन्चालनमा आएको छ।
मन्त्री भण्डारीका अनुसार, अब स्टिकर टाँसिएको सवारी साधनलाई सीमामा एकपटक मात्रै सुरक्षा जाँच गरिनेछ। त्यसपछि कानुनविपरित कार्य नगरेसम्म बाटोभरि अन्यत्र प्रहरीबाट जाँच रोकिएको हुनेछ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठका अनुसार यो व्यवस्थाले भारतीय पर्यटकलाई भोग्नुपर्ने झन्झटबाट मुक्ति दिलाउनेछ। यसअघि भारतीय सवारीलाई बाटोमा बारम्बार जाँचको नाममा अवैध असुली हुने गुनासो आइरहेको थियो।
मन्त्री भण्डारीले भने, “पर्यटकलाई सजिलो यात्रा अनुभव प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। अतिथि देवो भव भन्ने हाम्रो संस्कारलाई व्यवहारमा उतार्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।” उनले पर्यटन विकासमार्फत प्रदेशको समृद्धि र विकास सम्भव हुने विश्वास पनि व्यक्त गरे।
सुरक्षा जाँचको नाममा हुने अवाञ्छित व्यवहार अन्त्य गर्दै पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले विशेष पहल थालेको हो। भण्टाबारी नाकाबाट समेत सोही दिन अभियान सुरु गरिएको छ, जसको शुभारम्भ पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरेका थिए।
प्रदेश सरकारले सम्बन्धित नाकामा प्रहरी र कर्मचारीसहित सानो कार्यालय स्थापना गरी स्टिकर व्यवस्थापन सुरु गरेको छ। आगामी पर्यटन वर्षलाई सफल बनाउन प्रदेश सरकार सम्पूर्ण नाकामा एकरूपता ल्याएर पर्यटकमैत्री वातावरण तयार पार्न क्रियाशील भएको देखिन्छ।





