राजकुमार ओली:काठमाडौं, भदौ २० (पूर्व खबर)
कोरिया शैक्षिक परामर्श संघ (केक्यान) को आयोजनामा उच्च शिक्षा अध्ययनका लागि कोरिया जान इच्छुक विद्यार्थीलाई लक्षित गरी ‘बृहत् कोरिया शैक्षिक मेला–२०८२’ राजधानीमा शनिबार हुने भएको छ ।
आयोजकले शुक्रबार नयाँबानेश्वरस्थित नेपाल हाउस हात्तिसारमा पत्रकार सम्मेलन गरी भदौ २१ गते शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म नयाँबानेश्वर मेला सञ्चालन हुने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा केक्यानका अध्यक्ष विष्णु खड्काले लामो समयदेखि कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्दै आएका २३ वटा कन्सल्टेन्सीका ७० भन्दा बढी तालिमप्राप्त र अनुभवी प्रशिक्षकहरूबाट विद्यार्थीलाई प्रत्यक्ष परामर्श उपलब्ध हुने जानकारी दिनुभयो। उहाँका अनुसार मेलाले विद्यार्थीलाई कोरियामा उच्च शिक्षा हासिल गर्ने अवसर, छात्रवृत्ति योजना, अध्ययन प्रक्रिया, भिसा प्रक्रिया र उपलब्ध शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी दिनेछ।
दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा
आयोजकले मेलाबाट करिब दुई हजारभन्दा बढी विद्यार्थी र अभिभावकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा लिएको छ। मेलामा आउने विद्यार्थीले विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर भविष्यको अध्ययन योजना तय गर्न सक्नेछन्। साथै मेलामा उपलब्ध हुने परामर्शले विद्यार्थीलाई उपयुक्त कोर्स चयनदेखि करिअर बनाउने मार्गचित्र बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष खड्काले भन्नुभयो, “मेलामा केक्यानमा आबद्ध सदस्य शैक्षिक परामर्शदाताहरू, प्रशिक्षकहरू र नेपाली विश्वविद्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ। मेलाबाट विद्यार्थीले शतप्रतिशतसम्म छात्रवृत्ति पाउने अवसर पनि पाउनेछन्। छात्रवृत्ति उपलब्ध हुने प्रतिशत विद्यार्थीको शैक्षिक नतिजा (जीपीए) र आइइएलटिएस स्कोरका आधारमा निर्धारण हुन्छ।”
‘सुनौलो अवसर’
पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष गणेश शर्माले मेलाले विद्यार्थीलाई ठूलो फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “एकै स्थानमा २३ वटा कन्सल्टेन्सीका ७० भन्दा बढी प्रशिक्षकबाट परामर्श पाउने भएकाले यो मेला कोरिया जान चाहने विद्यार्थीका लागि सुनौलो अवसर हो। विद्यार्थीले आफूले मनपर्ने परामर्शदाता र प्रशिक्षकसँग प्रत्यक्ष रुपमा कुरा गरी कोरियाका विश्वविद्यालय र शैक्षिक संस्थाबारे विस्तृत जानकारी लिन सक्छन्। साथै केही भाग्यशाली विद्यार्थीले आकर्षक छात्रवृत्ति पनि प्राप्त गर्ने सम्भावना छ।”
केक्यानबारे जानकारी
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरुलाई संगठित गर्दै आएको छ। संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको केक्यान गैरनाफामुखी, गैरसरकारी संस्था हो। यसको उद्देश्य स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाता संस्थाहरूको हकहित संरक्षण गर्ने हो।
संघले स्थापना कालदेखि नै विद्यार्थीलाई सही जानकारी, सुलभ परामर्श र भरपर्दो सेवा प्रदान गर्दै आएको अध्यक्ष खड्काले बताउनुभयो। उहाँका अनुसार, विगतमा हजारौं विद्यार्थीले केक्यानमार्फत कोरियामा उच्च शिक्षा हासिल गरेका छन् र उनीहरू हाल विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन्।
मेलाको महत्त्व
आयोजकले मेलालाई शैक्षिक मार्गदर्शनको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। विद्यार्थीहरूले एकै स्थानमा विभिन्न परामर्शदाता, प्रशिक्षक र संस्थासँग प्रत्यक्ष भेटेर सूचना लिन पाउने भएकाले भविष्यमा भ्रम कम हुने आयोजकको विश्वास छ। साथै मेलामा हुने अन्तरक्रियाले विद्यार्थी र अभिभावकलाई कोरिया अध्ययनका फाइदा र चुनौतीबारे स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित सबै पत्रकार तथा मिडिया प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै सचिवालयकी गीता बिष्टले मेलामा सबै विद्यार्थी, अभिभावक र सरोकारवालाको सहभागिता रहन अनुरोध गर्नुभयो।





