रबिन ओली। विराटनगर, १८ वैशाख
कोशी प्रदेशलाई डिजिटल केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) को कोशी च्याप्टरले पहिलोपटक कोशी आइटी समिट आयोजना गर्ने भएको छ।
समिट आगामी वैशाख २० गते विराटनगरस्थित विराट मेडिकल कलेजमा हुने आयोजकले जनाएको छ।
“सूचना प्रविधिको सम्भावना, अवसर र चुनौतीहरूबारे गहिरो छलफल गर्न, नवप्रवर्तन प्रोत्साहित गर्न र युवाहरूका लागि रोजगारी सिर्जना गर्ने वातावरण बनाउन यो समिट आयोजना गर्न लागिएको हो,” आयोजक समितिका प्रतिनिधिले जानकारी दिए।
समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आइटी कम्पनीका २० भन्दा बढी विज्ञ वक्ताहरु सहभागी हुने छन्। कार्यक्रममार्फत स्टार्टअपहरूलाई प्रवर्द्धन, नेटवर्किङ सेसन र प्रदर्शन स्टलहरू को माध्यमबाट सहभागीहरूलाई प्रविधिमा नवीनता र व्यावसायिक सम्भावनाहरूको झलक प्रदान गरिनेछ।
आयोजकको अनुमानअनुसार समिटमा ५०० भन्दा बढी सहभागीहरू रहनेछन्। यसले क्षेत्रीय स्तरमा प्रविधिको पहुँच विस्तार गर्नुका साथै नीति निर्माण तहसम्म प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्बन्धित निकाय, शिक्षा क्षेत्र, उद्योगी–व्यवसायी, युवा उद्यमी, विद्यार्थी तथा प्राविधिक विज्ञहरूको उपस्थितिले समिटलाई ऐतिहासिक बनाउने विश्वास आयोजकले लिएको छ।





