कोशी प्रदेशकै टप थ्रीमा पर्न सफल कर्णाली साकोसले मनायो रजत समारोह

बिर्तामोड,४ पुस (पूर्व खबर)

कोशी प्रदेशकै तेस्रो ठूलो सहकारीका रूपमा स्थापित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विधि, प्रक्रिया र पारदर्शितालाई प्राथमिकतामा राखेर सञ्चालन गरिएकै कारण संस्था सबल र अब्बल बनेको दाबी गरेको छ ।

संस्थाको २५औँ वार्षिक साधारण सभा तथा रजत महोत्सव समापन कार्यक्रममा अध्यक्ष टसबहादुर प्रधानले सो कुरा बताउनुभएको हो ।
शुक्रबार झापामा सम्पन्न साधारण सभाले एकीकृत माइन्युट प्रमाणीकरण गर्दै औपचारिक रूपमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औँ वर्षमा प्रवेश गरेकाले वार्षिक साधारण सभासँगै रजत महोत्सव पनि समापन गरिएको हो ।
अध्यक्ष प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमको पहिलो सत्रमा बोल्दै उहाँले इकाइगत साधारण सभाबाट छलफल गरी तयार पारिएका माइन्युटलाई एकीकृत गरेर प्रतिनिधिहरूमार्फत थप छलफल, सुझाव र काँटछाँटपछि प्रमाणीकरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले सदस्य र प्रतिनिधिको सक्रिय सहभागिताले संस्थालाई अनुशासित र उत्तरदायी बनाएको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रधानले संस्था यहाँसम्म आइपुग्नुमा सेयर सदस्यहरूको निरन्तर खबरदारी, सुझाव र निगरानी निर्णायक रहेको बताउनुभयो । “सञ्चालक समिति विधि र प्रक्रियाबाटै चलिरहेको छ । यही कारणले कर्णाली साकोस आज सदस्यहरूको भरोसाको संस्था बन्न सफल भएको हो,” उहाँले भन्नुभयो ।
हाल सहकारी क्षेत्रसहित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका बाह्य चुनौती सामना गरिरहेको सन्दर्भमा कर्णाली सहकारीले जोखिम व्यवस्थापन गर्दै अगाडि बढिरहेको अध्यक्ष प्रधानको भनाइ थियो । उहाँका अनुसार ऋण लगानी र असुलीको गति केही सुस्त देखिए पनि संस्थाले सतर्कतापूर्वक वित्तीय अनुशासन कायम गर्दै दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिएको छ ।
अध्यक्ष प्रधानले राज्यका नियमनकारी तथा अनुगमनकारी निकायको अनुगमनलाई स्वागत गर्ने स्पष्ट धारणा व्यक्त गर्नुभयो । “हामी अनुगमनबाट भाग्ने होइन, स्वागत गर्छौँ । गलत काम गरेका छैनौँ । यदि काम गर्ने क्रममा कुनै कमजोरी भए भने अनुगमनकारी निकायको सुझावअनुसार सुधार गर्न तयार छौँ,” उहाँले भन्नुभयो ।
संस्थाका संस्थापक (प्रारम्भिक) ज्येष्ठ सेयर सदस्य जयबहादुर गौतमले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष महेन्द्रप्रसाद चुडाल, लेखा समितिका संयोजक मनकुमार बेघा, इकाइगत साधारण सभाबाट प्रतिनिधित्व गर्दै आएका बिमला गौतम भट्टराई र हरिराज भट्टराईले संस्थाको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गर्नुभएको थियो भने उपाध्यक्ष रामकुमार गौतमले सहभागीहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।
साधारण सभाको दोस्रो सत्रमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रोगको उपचार गराइरहेका आफ्ना पाँच जना सदस्यलाई उपचार सुविधा प्रदान गरेको छ । संस्थाले कुल दुई लाख ८०० रुपैयाँ उपचार सहायता वितरण गरेको हो ।
भद्रपुर सेवा केन्द्रअन्तर्गतका सेयर सदस्य कल्पना सुब्बालाई ९८ हजार ५०० रुपैयाँ, कुन्ता चापागाईंलाई २१ हजार ६०० रुपैयाँ र बिर्तामोड कृषि थोकबजार सेवा केन्द्रकी सदस्य रञ्जिता लिम्बूलाई ३० हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।
त्यस्तै सैनिकमोड सेवा केन्द्रअन्तर्गतका सदस्य संगीता गुरुङलाई २५ हजार १०० रुपैयाँ र आशा चौधरीलाई १० हजार ८०० रुपैयाँ उपचार सुविधा प्रदान गरिएको विभागीय अधिकृत मनहरि निरौलाले जानकारी दिनुभयो ।
कोशी प्रदेशमै तेस्रो ठूलो सहकारीको पहिचान बनाइसकेको कर्णाली बचत तथा ऋण सहकारीले वित्तीय अनुशासन, सामाजिक उत्तरदायित्व र सदस्य केन्द्रित सेवाका माध्यमबाट आफ्नो विश्वसनीयता थप बलियो बनाउँदै लगेको सहभागीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array