राजकुमार ओली ,बिर्तामोड, २५ कात्तिक
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा जिल्ला शाखाले प्रविधि सशक्तिकरण, डिजिटल सीप अभिवृद्धि र संस्थागत सबलीकरणका माध्यमबाट स्थानीय तहमा सूचना प्रविधिको उपयोग र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
निरन्तर सक्रियताका साथ अघि बढ्दै आएको क्यान झापाले आफ्नो ११औं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न गरेको छ।
शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता र क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभामा विगत एक वर्षमा गरिएको गतिविधि, वित्तीय स्थिति, सदस्य विस्तार र आगामी योजनाबारे विस्तृत चर्चा गरिएको थियो।
साधारणसभामा शाखाका सचिव खगेन्द्र मिश्रले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा झापा शाखाले सूचना प्रविधिको प्रयोगलाई समाजसम्म पुर्याउने उद्देश्यले विद्यालयस्तरदेखि समुदायसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख छ। उहाँका अनुसार शाखाले गत वर्ष सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको, सडक दुर्घटनाबारे ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको, र स्वीस दूतावासका प्रतिनिधिसँग छलफल गरी परियोजना सञ्चालनको वातावरण बनाएको थियो।
त्यसैगरी, हेल्भेटास नेपाल, आईटी र प्रयास प्रारम्भसँगको सहकार्यमा ४० जनालाई सीप अभिवृद्धि तालिम प्रदान गरिएको, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र अन्य साझेदार संस्थासँग १४ वटा विद्यालयमा सूचना प्रविधि अभिमुखी भेटघाट कार्यक्रम गरिएको प्रतिवेदनमा उल्लेख छ।
शाखाको कोषाध्यक्ष जेनिशा पोखरेलले आर्थिक विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा शाखाले १ लाख ८७ हजार ६१० रुपैयाँ आम्दानी गरी १ लाख ४३ हजार ४२० रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो। उहाँले हेल्भेटासको इन्स्योर परियोजनाबाट तालिम सञ्चालन गर्दा थोरै रकम बचत गर्न सफल भएको बताउनुभयो।
११औं साधारणसभामा संस्थाका पूर्व अध्यक्ष, संस्थापक तथा केन्द्रीय पदाधिकारीहरुले क्यान झापाको निरन्तरता, संस्थागत विस्तार र सदस्यको गुणस्तरीय सहभागितामाथि सुझाव तथा शुभकामना व्यक्त गरे। पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनाली, संस्थापक अध्यक्ष दिपेश पाठक, प्रदेश सचिव कृष्ण घिमिरे, र इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले क्यान झापाको विगतदेखि हालसम्मको यात्रा उल्लेखनीय रहेको बताउँदै प्रविधि र जनसेवाको दायरा अझ विस्तार गर्न सुझाव दिनुभयो।
उहाँहरुका अनुसार ११ वर्षअघि केही उत्साही युवा प्रविधिकर्मीको पहलमा स्थापना गरिएको क्यान झापा अहिले जिल्लामा प्रविधि–आधारित क्षमता विकासका लागि विश्वासिलो संस्थाको रूपमा स्थापित भएको छ। संस्थाले प्रविधिलाई व्यावहारिक शिक्षा, व्यावसायिक सीप र स्थानीय प्रशासनिक सुधारसँग जोड्ने दिशा लिएको बताइएको छ।
साधारणसभाको सञ्चालन सचिव खगेन्द्र मिश्रले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लोकप्रिय खानालले दिनुभयो भने समापनका क्रममा अध्यक्ष शुभ कुमाई पाठकले शाखाको सचिवालय यसै सातादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने र आगामी वर्ष सूचना प्रविधि साक्षरता अभियानलाई विद्यालयस्तरमा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।
साधारणसभाको अवसरमा प्रविधिसम्बन्धी तालिम पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।





