काठमाडौँ, भदौ ३० ।
अन्तरिम सरकारका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन्।
आजै राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेपछि मन्त्रालयमा पदबहाली गर्दै उनले जेन–जी आन्दोलनका क्रममा मारिएका नागरिकको सम्मानमा विशेष निर्णय सार्वजनिक गरेका हुन्।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको स्मृतिमा भोलि देशभर राष्ट्रिय झण्डा आधा झुकाइने बताए। “देशले असामान्य घटना भोगेको छ, नागरिकको बलिदानलाई सम्मान गर्दै सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ,” मन्त्री अर्यालले भने।
मृतकका परिवारलाई तत्काल सहयोगस्वरूप किरिया खर्चका लागि प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराइने उनले घोषणा गरे। सो रकम आन्तरिक स्रोतबाट उपलब्ध गराइने र आगामी दिनमा थप सहयोगका उपायहरूबारे छलफल भइरहेको उनले जानकारी दिए। गृहमन्त्रीका अनुसार शोकाकुल परिवारलाई तत्काल राहत दिलाउन प्रमुख जिल्ला अधिकारीमार्फत रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाइनेछ।
यस्तै, शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ। राजधानीदेखि जिल्ला र गाउँसम्म मृतकको शव पु¥याउन सरकारी गाडी प्रयोग गरिनेछ। विकट भूभागमा सहज ढुवानीका लागि आवश्यक परेमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिने उनले जानकारी दिए।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण समाधानका लागि सबैसँग संवाद र सहकार्यमा सरकार तयार रहेको बताए। “हिंसाबाट समस्याको समाधान हुँदैन। हामी वार्ता र सहमतिको बाटो रोज्छौं,” उनले जोड दिए।
उनले कानून–व्यवस्था कायम राख्दै नागरिकको अधिकार र जीवनको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे। आन्दोलनका क्रममा भएको क्षतिको तथ्यांक संकलन गर्न गृह मन्त्रालयले छुट्टै कार्यदल गठन गर्ने तयारी गरेको समेत उनले बताए।
गृहमन्त्री अर्यालले पदभार ग्रहणलगत्तै लिएका निर्णयलाई विपक्षी दलका प्रतिनिधिहरूले स्वागत गरेका छन्। उनीहरूले पीडित परिवारलाई सहयोग गर्ने सरकारी घोषणाले विश्वास जगाएको बताए।





