जुनु प्रसाई ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ को उत्कृष्ट ७ मा

 

काठमाडौं, २५ साउन – ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र झापामा स्थायी बसोबास गर्दै आएकी गायिका जुनु प्रसाई अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ को उत्कृष्ट ७ मा पर्न सफल भएकी छिन्।

जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्। बाल्यकालदेखि नै गायनमा रुचि राख्ने उनले विद्यालयका विभिन्न सांगीतिक कार्यक्रममा गीत गाउने गर्थिन् र स्थानीय प्रतियोगितामा सक्रिय रूपमा सहभागी हुन्थिन्। उनका अनुसार, त्यही अनुभव र लगावले आज उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको हो।

हाल रोजगारीका सिलसिलामा कतारमा रहेकी प्रसाईले त्यहीँबाट आफ्नो सांगीतिक यात्रा अघि बढाउँदै ‘मेरो भ्वाइस युनिभर्स’ मा सहभागिता जनाएकी हुन्। यो प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रसारित भई इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको हो। यसमा २३ देशका नेपाली मूलका गायक–गायिकाले सहभागिता जनाएका छन् भने अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। प्रसाई कतार अडिसनमार्फत छनोट भई अहिले फाइनल राउण्डसम्म पुगेकी हुन्।

जुनुको अपिल
“म हजुरहरुकै छोरी/चेली जुनु प्रसाई, तपाईंहरूको माया, साथ, सहयोग र हौसलाले ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ को टप ७ मा प्रवेश गर्न सकेकी छु। अझै प्रतिस्पर्धा बाँकी भएकाले फाइनलसम्म पुग्न तपाईंहरूको अझ बढी समर्थनको अपेक्षा राखेकी छु,” प्रसाईले भनिन्।

भोट गर्ने तरिका
गायिका जुनु प्रसाईलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउन सकिन्छ। साथै My Intra एप डाउनलोड गरी उनको प्रोफाइलमा क्लिक गरेर पनि भोट दिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array