जेन–जी आन्दोलनमा संलग्न दुई पत्रकारसहित पाँच जना कारबाहीमा

बिर्तामोड, कार्तिक २३ (पूर्व खबर)— नेकपा एमाले मेचीनगर कमिटिले जेन–जी आन्दोलनमा संलग्न भएको आरोपमा दुई जना पत्रकारसहित पाँच जना कार्यकर्तामाथि निस्काशन, निलम्बन र कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

मेचीनगर नगरपालिका–स्थित धुलाबारीमा बिहीवार सम्पन्न एमाले मेचीनगर कमिटीको छैटौं पूर्ण बैठकले पार्टीको नीति र विधान विपरीत गएर जेन–जी आन्दोलन लगायतका गतिविधिमा सहभागी र मलजल गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नगर अध्यक्ष राजु कार्कीले पार्टी सदस्य सूर्य कन्दवा (सुरेन्द्र) र किशोर भट्टराईलाई निस्काशन गरिएको जानकारी दिनुभयो। कन्दवा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मेचीनगरका पूर्व उपाध्यक्ष हुन् भने भट्टराई मेचीनगर–३ का निर्वाचित वडा सदस्य हुन्।

त्यसैगरी, बालकृष्ण थापालाई ६ महिनाका लागि निलम्बन गरिएको र सन्तोष आचार्यलाई कारबाहीका लागि जिल्ला कमिटीमा सिफारिस गरिएको अध्यक्ष कार्कीले बताउनुभयो। आचार्य प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा झापा इन्चार्जसमेत हुन्। साथै उहाँ एमाले केन्द्रीय खानेपानी तथा सरसफाइ विभागका सदस्यको जिम्मेवारीमा पनि हुनुहुन्छ।

पार्टीको संगठित सदस्य नरहेका पत्रकार शिशिर चम्लागाईंलाई पनि प्रेस चौतारी नेपाल झापा शाखामार्फत कारबाहीको सिफारिस गरिएको छ। चम्लागाईं प्रेस चौतारी कोशी प्रदेशका सदस्य हुन्।

नगर अध्यक्ष कार्कीका अनुसार भट्टराईले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत वडा सदस्य पदबाट स्वघोषित राजीनामा दिएका थिए। पार्टीको साधारण सदस्य नभएको व्यक्ति वडा सदस्य पदमा रहन नपाउने भन्दै निर्वाचन कार्यालयलाई पनि जानकारी गराउने तयारी भएको बताइएको छ।

उक्त बैठकले सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वमाथि अपमानजनक वा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिने कार्यकर्तालाई समेत सचेत गराउने निर्णय गरेको छ।

मेची उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न पूर्ण बैठकको अध्यक्षता नगर अध्यक्ष राजु कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल उपस्थित रहनुभएको थियो। बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, नगर, क्षेत्र र वडा कमिटीका प्रमुख प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

एमाले मेचीनगरले गरेको यो निर्णयसँगै जेन–जी आन्दोलनमा देखिएको राजनीतिक सक्रियता र पत्रकारहरूको संलग्नताबारे आन्तरिक छलफल र विवाद पुनः सतहमा आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array