झापाका अग्रज नेत्र चिकित्सक मेम लाल राजवंशीको योगदानको चर्चा ओझेलमा

 

राजकुमार ओली,बिर्तामोड, असार २५ ।
झापा जिल्लाको आँखा स्वास्थ्य सेवा क्षेत्रमा प्रारम्भिक चरणदेखि नै जीवन समर्पण गरेका वरिष्ठ नेत्र चिकित्सक मेम लाल राजवंशी अहिले वृद्धावस्थामा स्वास्थ्य समस्या भोग्दै कष्टकर जीवन विताइरहनुभएको छ।

चार दशकभन्दा बढी समयसम्म आफ्नो जीवन आँखाका रोगीका सेवामा समर्पित गरेका राजवंशीको योगदानको चर्चा अहिले ओझेलमा परेको छ।

वि.सं. २०४२/०४३ सालतिर हालको प्रादेशिक अस्पताल, भद्रपुरमा आँखा विभागमा सेवा प्रारम्भ गरेका राजवंशीले त्यसबेला आधुनिक नेत्र चिकित्सा पहुँचविहीन रहेको झापा जिल्लामा यो सेवा स्थापित गर्ने बीजारोपण गर्नुभएको थियो।

त्यसपछि, २०५०/५१ सालतिर बिर्तामोडको बोलबम पेट्रोल पम्प नजिकैको दुईवटा साना अँध्यारा कोठा भाडामा लिएर ‘आँखा उपचार केन्द्र’ सञ्चालन गरी जनताको घरदैलोमा सेवा पुर्‍याउने कार्य थालनी गर्नुभयो।

तत्कालीन अवस्थामा सुविधा र स्रोत साधनको चरम अभावबीच उहाँले भद्रपुर निवासी गिरिधर श्रेष्ठको बिर्तामोडस्थित घरमा केन्द्र सारेर सो सेवा निरन्तरता दिनुभयो। त्यो केन्द्र नै पछि गएर पूर्वी नेपालमै चर्चित मेची आँखा अस्पताल को रूप लिएको हो। मेची अञ्चलका हजारौं जनताका आँखाको ज्योति फर्काउने यो संस्थाको जग बसाल्न राजवंशीको अग्रणी भूमिका रहेको इतिहास छ।

आँखा स्वास्थ्य सेवाको आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र जनविश्वास कायम गर्दै संस्था विस्तार गर्ने क्रममा राजवंशीले कुनै अवसरमा विदेशको प्राविधिक सहयोग जुटाउने अभियान पनि सम्हाल्नुभएको थियो। उहाँको अथक मेहनत, संयम र सेवाभावले गर्दा अहिले झापामा मात्र दुई दर्जनभन्दा बढी आँखा अस्पताल र केन्द्र सञ्चालनमा आइरहेका छन्। तर दुःखको कुरा, त्यही सेवाको अग्रदूतको योगदानलाई आजसम्म पनि संस्थागत वा व्यक्तिगत रूपमा सम्मानित गर्ने चेष्टा भएको देखिँदैन।

केही वर्षअघि सेवा निवृत्त भएका ७० वर्षीय राजवंशी हाल गम्भीर स्वास्थ्य समस्याका बीच कष्टपूर्ण जीवनयापन गरिरहनुभएको छ। बिर्तामोडस्थित आफ्नो घरमा सामान्य अवस्थामै बस्न बाध्य राजवंशीलाई हाल स्वास्थ्य उपचार, भावनात्मक साथ र सामाजिक सम्मानको अभावले थप पीडा दिइरहेको छ।

उहाँको अवस्थाबारे  स्थानीय अगुवा लोकराज ढकाल भन्नुहुन्छ, “हिजोको दिनमा सम्पूर्ण झापामा ‘आँखा डाक्टर’ भनेर चिनिने मान्छे आज आफ्नै आँखाको उपचारमा समेत समस्या खेप्नुपरेको छ।  राजवंशी हाम्रो समाजको बिर्तामोड विकासको  नमुना हो।”

स्थानीय अगुवा र जनप्रतिनिधिले अहिले पनि समयमै ध्यान नदिनेहो भने यस्ता असल पात्रहरूको योगदान लोप हुने र पछिल्लो पुस्ताले अनुकरण गर्ने प्रेरणा गुमाउने खतरा औँल्याएका छन्।

बिर्तामोडका  मदन बुढाथोकीले भने, “हामीले अतीत बिर्सेर भविष्य बनाउने सपना देख्छौँ। तर सपना त्यत्तिकै अधुरो हुन्छ, जब हामीले आफ्ना अग्रजहरूको योगदानको कदर गर्न जान्दैनौँ।”

उपत्यकाका ठूलो संस्था, अस्पताल, व्यावसायिक केन्द्रहरू अहिले आँखाको नाममा करोडौंको कारोबार गरिरहेका छन्। प्रतिस्पर्धा र मुनाफाको दौडमा रहेका यस्ता संस्थाहरूको मौलिकता, सेवा मूल्य र सामाजिक उत्तरदायित्वप्रति प्रश्न उठ्न थालेका बेला, जनसेवाबाट सुरु गरेर उदाहरणीय संस्था बनाएका राजवंशीहरू आज एक्लिएका छन्।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा प्रसाईले राजवंशीको योगदानलाई संस्थागत रूपमा कदर गर्न आवश्यक रहेको बताउँदै अब नगरस्तरमा उहाँजस्ता अग्रज व्यक्तित्वको सम्मानका लागि योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसैबीच, झापामा कार्यरत स्वास्थ्यकर्मी, समाजसेवी र अस्पताल प्रबन्धकहरूको एक समुहले मेम लाल राजवंशीको उपचार र सम्मानका लागि एक विशेष कोष स्थापनाको पहल गर्नुपर्ने माग अघि सारेका छन्। मेची आँखा अस्पतालले पनि आफ्ना संस्थापक व्यक्तित्वप्रति औपचारिक सम्मान कार्यक्रमको आयोजना गर्नुपर्ने आवाज बढेको छ।

नेत्र चिकित्साको प्रारम्भिक आधार तय गर्ने, हजारौँ जनताको आँखाको ज्योति फर्काउने, देश तथा विदेशमा मेची आँखा अस्पतालको नाम चिनाउने र समाजमा चिकित्सकीय सेवा नै सबैभन्दा पवित्र कर्म हो भन्ने भाव फैलाउने मेम लाल राजवंशीप्रति समाजले गम्भीर भएर हेर्नुपर्ने देखिएको छ।

राजवंशीको स्वास्थ्य लाभको कामनासहित उहाँप्रति उच्च सम्मान व्यक्त गर्न सम्पूर्ण समाज अगाडि आउनुपर्ने आजको आवश्यकता हो। अग्रजप्रति सम्मान नै नयाँ पुस्ताले मार्गदर्शन लिने प्रेरणाको स्रोत बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array