बिर्तामोड, साउन २७, पूर्व खबर
झापाको बाहर्दशी गाउँपालिका–६ का लक्ष्मी तिवारीले २६ वर्षदेखि प्रयोग हुँदै आएको घर जाने बाटो छिमेकी शेखर तिवारीको परिवारले बन्द गरी बिचल्ली पारेको आरोप लगाएको छ।
लक्ष्मीको भनाइमा केही समयदेखि शेखर तिवारी, उनकी आमा अम्बिका तिवारी, भतिज रामप्रसाद तिवारीको मिलेमतोमा जेसीबी लगाएर बाटो बन्द गरिएको हो। उनले गाउँपालिकाको पहलमा ग्राभेल गराइएको सो बाटोमा बत्तीको पोल गाडेर लामो समयदेखि आवतजावत गर्दै आएको तर हाल एक्कासी अवरुद्ध गरिएको बताए । लक्ष्मीकी छोरी मुना तिवारीले समेत बाटो बन्द गर्नु अन्यायपूर्ण भएको आरोप लगाइन्।
उता, शेखर तिवारीले भने उक्त बाटो आफ्ना हजुरबुवाले सहमतिमा हिँड्न दिएको भए पनि त्यो जमिन आफ्नी आमाको दाइजो भएको दाबी गरे। उनले पटकपटक जग्गा खाली गर्न आग्रह गर्दा पनि सहमति नआएपछि स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा जेसीबी लगाएर आफ्नो जमिन खाली गरी धान रोपिएको बताए। उनका अनुसार, आफ्नो सम्पत्ति जोगाउन गरिएको कार्यबाट कसैलाई बाधा पुर्याइएको छैन।
गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेलका अनुसार, सो विवाद गाउँपालिकाको न्यायिक समितामा मुद्दाका रूपमा दर्ता भई दुवै पक्षलाई राखी पटकपटक मिलापत्रको प्रयास भए पनि जमिन किनबेच र कागजी प्रमाणमा सहमति नहुँदा विवाद टुंगो लाग्न सकेको छैन।
गत सोमबार शेखर तिवारी पक्षबाट बत्तीको पोल उखेलेर बाटो खाली गरी धान रोपिएपछि हाल लक्ष्मी तिवारीको परिवार घर जाने बाटोविहीन भएको छ। पीडित पक्षले आफूहरू ‘बन्धकझैँ’ अवस्थामा परेको गुनासो गरेका छन्। यो विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत छलफल भए पनि सहमति हुन नसकेको बुझिएको छ।
पनि
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई आफूले फोन गरी उक्त विषय मिलाउन अनुरोध गरेको र त्यहाँवाट समाधान ननिस्किए नभए आफूले पहल गर्ने बताए ।





