बिर्तामोड, १६ मङ्सिर
‘रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान’ले यस वर्ष पनि विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी न्यानो कपडा वितरण अभियान सुरु गरेको छ।
दशकभन्दा बढी समयदेखि जाडोयाममा सामाजिक उत्तरदायित्वअन्तर्गत पोखिएको सेवा अभियानका कारण प्रतिष्ठान समुदायमा सक्रिय सामाजिक संस्थाका रूपमा पहिचान बनाउँदै आएको छ।
प्रतिष्ठानले यस वर्ष शिवशताक्षी, कन्काई, भद्रपुरलगायतका स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिरहेको छ। जाडोयाममा विद्यालयमा विद्यार्थीको उपस्थिति घट्ने तथा पढाइ चक्र प्रभावित हुने अवस्थालाई लक्षित गर्दै सञ्चालन गरिएको अभियानलाई शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरूले प्रभावकारी पहलका रूपमा मूल्यांकन गरेका छन्।
सोमबार कन्काई–२ को पञ्चकन्या आधारभूत विद्यालयका ४३ जना, कन्काईको वैदिक संस्कृत विद्यालय र कन्काई गायत्री आधारभूत विद्यालयका ११७ जना गरी १६० विद्यार्थीलाई नयाँ ट्र्याकसुट वितरण गरिएको थियो। कार्यक्रम कन्काई नगरका सामाजिक व्यक्तित्व शेरबहादुर थापाको प्रमुख आतिथ्य र वडा अध्यक्ष बलराम राईको सभापतित्वमा सम्पन्न भयो।
प्रतिष्ठानले भद्रपुर नगरपालिकाका श्रीकृष्ण दैपायन वेद विद्यालयका ८१ जना र सरस्वती आधारभूत विद्यालयका ६० जना गरी १४१ विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरेको छ। भद्रपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की सहित स्थानिय जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गंगा प्रसाद ओलीले समाजसेवा प्रतिष्ठानको मूल उद्देश्य भएको उल्लेख गर्दै, ‘‘बिना कुनै अपेक्षा वर्षेनी लाखौँ रुपैयाँ खर्च गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएका छौँ,’’ भने। प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओली (गोपाल) ले आगामी दिनमा शिवशताक्षी–४ को मञ्जुश्री, वडा–६ को सरस्वती आधारभूत र वडा–८ को झिलझिले माध्यमिक विद्यालयमा पनि न्यानो कपडा वितरण कार्यक्रम जारी रहने जानकारी दिए।
यसबीच, ओली वंश समन्वय समितिले झापाको कन्काई नगरपालिका–जामुनबारीमा ३८ लाख रुपैयाँ लागतमा कुल मन्दिर निर्माण कार्य सुरु गरिसकेको छ। गङ्गा ओली परिवारकै सहयोगमा अघि बढाइएको मन्दिर निर्माणलाई सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने परियोजनाका रूपमा लिएको छ।
प्रतिष्ठानले विगत वर्ष झापाका ६ स्थानीय तहमा फरक क्षमता भएका तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई खाद्यान्न, शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्दै आएको थियो। निरन्तर रूपमा जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको अभियानले संस्थाप्रतिको विश्वास र समुदायमा सकारात्मक प्रभाव विस्तार गरेको देखिन्छ।
प्रतिष्ठानका पदाधिकारीहरूको सक्रियता र स्थानीय तहसँगको सहकार्यका कारण यस वर्षको अभियान क्रमशः अन्य विद्यालयमा पनि विस्तार गरिने प्रतिष्ठानले जनाएको छ।





