झापा जिल्ला अदालतमा मुद्दा फर्छ्यौटमा उल्लेखनीय वृद्धि, सार्वजनिक विश्वास बढ्दै

राजकुमार ओली, २ असार: पूर्व खबर

झापा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ४,९४९ मुद्दा फर्छ्यौट गर्दै अघिल्लो वर्षको तुलनामा १३१४ मुद्दा बढी टुंग्याएको छ। प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा सम्पन्न वार्षिक प्रगति समीक्षा कार्यक्रममा यो उपलब्धि सार्वजनिक गरिएको हो।

अदालतमा गत वर्ष ३,६६५ मुद्दा फर्छ्यौट भएकोमा यो वर्ष त्यो संख्या ४९४९ पुगेको छ। यस वर्ष ६५% मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएको थियो, जसको ६०.४९% फर्छ्यौट भई लक्ष्यको ९४.६१% सफलता हासिल गरिएको हो।

फर्छ्यौट मात्र हैन, गुणस्तरीय न्यायमा जोड

न्यायाधीश लुइँटेलका अनुसार, छिटो, छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गर्ने उद्देश्यले झापा जिल्ला अदालतले पाँचौँ रणनीतिक योजना अन्तर्गत विभिन्न सुधार कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ। फरक मुद्दा व्यवस्थापन, मेलमिलाप प्रक्रिया प्रवर्द्धन, र सार्वजनिक आस्थाको अभिवृद्धि अदालतको प्राथमिकतामा रहेको छ।

मुद्दा व्यवस्थापन प्रणालीमा प्रविधिको समावेशीकरण

अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले बताएअनुसार अदालतमा अब स्वचालित पेशी प्रणाली, गोला प्रणाली, मुद्दा दर्ता सफ्टवेयर, र दैनिक कामकारवाहीको वेबसाइटमा विवरण प्रकाशन प्रणाली लागू गरिएको छ। मुद्दा सम्बन्धी जानकारी अब https://supremecourt.gov.np/court/jhapadc मार्फत हेर्न सकिने भएको छ।

झापा अदालतमा फर्छ्यौट भएको मुद्दा विवरण

आ.व. जिम्मेवारी सरि आएको नयाँ दर्ता कुल मुद्दा फर्छ्यौट विचाराधीन फर्छ्यौट %
२०८०/८१ ३५५० ३६३१ ७१८१ ३६६५ ३५१६ ५१.०२%
२०८१/८२ ३५५० ४६३१ ८१८१ ४९४९ ३२३२ ६०.४९%

न्यायाधीश खड्कालाई सम्मान

यस आर्थिक वर्षमा मुद्दा फर्छ्यौटमा उच्च योगदान पुर्‍याएको भन्दै माननीय न्यायाधीश तेजबहादुर खड्कालाई अदालतले विशेष सम्मान गरेको छ।

विशेष उपस्थिति र समन्वय

कार्यक्रममा माननीय न्यायाधीश प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, नगेन्द्र केशरी पोखरेल, ऋतबहादुर पुलामी मगर, तथा झापा बार अध्यक्ष बसन्त नेपाल, जिल्ला न्यायाधिवक्ता खडिन्द्र कटुवाल, वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता हेमकला कट्टेल आचार्य, लगायत विभिन्न तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सूचना अधिकारी रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array